१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकको धुलो, थुपार्दै बढार्दै

काठमाडौं- राजधानीका केही सडक विस्तार हुने क्रममा छन् भने केही पाइप बिच्छ्याउन खनिएका छन्। यही कारणले अत्याधिक धुलाम्मे भएको छ, राजधानी। तर, केही सडकमा न विस्तार चलेको छ, न पाइप बिच्छ्याउने कार्य नै। विडम्बना! यी सडकमा पनि धुलोको कमी भने छैन। सडक धुलाम्य हुनाले सवारीसाधन गुड्दा सडक नै अन्धकारजस्तो देखिन्छ, पैदलयात्री त धुलाम्मे हुने नै भए। यसको प्रमुख कारण हो– सडक विभागको लाहपरबाही।

राजधानीको मुल सडक मर्मत, संरक्षण तथा सफा गर्ने निकाय सडक विभाग हो। विभागले सडक बढार्नका लागि उपत्यकाका सडकमा कर्मचारीसमेत परिचालन गरेको छ। तर, यी कर्मचारी परिचालन गर्नु वा नगर्नुले राजधानीका सडकमा फरक परेको छैन। सडक बढारेर माटो ठाउँठाउँमा थुपार्ने तर नउठाउने विभागको कमजोरीले गर्दा झन् धुलो आचाक्ली भएको छ। धुलो बढारेर नउठाउँदा दुई/तीन दिनभित्र सोही धुलो सडक आउने गरेको स्थानीय बताउँछन्।

‘दुई/तीन दिनको अन्तरालमा विभागका कर्मचारी आएर सडकको धुलो फुटपाथमा थुर्पाने गर्छन्,’ पुतलीसडकका राजु डंगोल भन्छन्, ‘तर, उठाएर नलैजाँदा सोही धुलो पुनः सडकमै जान्छ।’

यता सडक विभागका प्रवक्ता दयाकान्ता झा भने विभागले धुलो नउठाएको स्विर्कादैनन्। ‘हामीले दैनिक रुपमा सडकको धुलो डम्पर पठाएर उठाउने गरेका छौँ,’ प्रवक्ता झाले भने, ‘केही ठाउँमा कमजोरी भएको भने हुन सक्छ।’

विभाग अर्न्तगतका उपत्यकाका ४ वटै डिभिजन कार्यालयले यो काम गरिरहेको झाले बताए। ‘डिभिजनले केही सडकमा बढारेको धुलो समयमै नउठाएको पनि हुन सक्छ,’ झाले भने।

यता काठमाडौं डिभिजन कार्यालय–१ का प्रमुख मुकुन्द अधिकारीले भने केही कारणले समयमै नउठेको हुन सक्ने बताउँदै अबका दिनमा भने बढारेपछि नियमित रुपमा धुलो उठाउने प्र्रतिबद्धता व्यक्त गरे।

विभागले काम गर्ने हो भने उपत्यकाका सडक धुलोरहित बनाउन सक्ने सर्वसाधारण बताउँछन्। यसअघि सार्क सम्मेलन तथा विदेशी पाहुना आउँदा भने सडक सफाचट पारिएको उनीहरु स्मरण गर्छन्।

प्रकाशित: ४ चैत्र २०७३ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App