८ वैशाख २०८१ शनिबार
समाज

महिलामा सिस्टको समस्या बढ्दो

काठमाडौं- तपाईं प्रजनन उमेर समूहकै हुनुहुन्छ? हुनुहुन्छ भने अन्डाशयमा पलाउने सिस्ट (फोका) ले सताउन सक्छ। सचेत हुनुहोस् है! पछिल्लो समय महिलाको अन्डाशयमा सिस्ट पलाउने समस्या बढ्दै गएको विशेषज्ञ चिकित्सकहरूले बताएका छन्। राजधानीका मुख्य अस्पतालमा यस्ता समस्या लिएर आउने महिलाको संख्या बढेको उनीहरूको भनाइ छ।

चिकित्सकका अनुसार महिलाको पाठेघरमा हुने तीन तहको सबैभन्दा भित्री तह (इन्डोमेट्रोसिस) महिनावारीका बेला झर्छ र पलाउँदा रगत बग्छ। त्यही क्रममा सिस्ट पलाउँछ। इन्डोमेट्रोसिस झर्ने क्रममा अण्डाशयबाट समेत रगत बग्न गई त्यहीं फोका पलाउँछ। यसलाई सिस्ट भनिन्छ। पाठेघरको पछिल्लो भाग, डिम्बबाहिनी नली तथा अन्डाशयमा पनि रगत बग्ने क्रममा सिस्ट पलाउँछ ।

प्रसूति गृह थापाथलीको बहिरंग विभागमा दैनिक उपचारका लागि आउने दुई सय बिरामीमध्ये पाँच प्रतिशतमा यस्तो समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मासिक रूपमा गरिने स्त्रीरोग शल्यक्रियामध्ये ३० प्रतिशत सिस्टकै हुन्छ। अस्पतालमा मासिक ८० वटा पाठेघर रोगको शल्यक्रिया हुन्छ। ग्रान्डी इन्टरनेसनल अस्पतालमा पाठेघरको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशतमा यस्तो समस्या देखिएको तथ्यांक छ।

चिकित्सकका अनुसार नेपाली महिलामा यस्तो समस्या विगत डेढ दशकदेखि बढ्दै गएको हो। 'दस–पन्ध्र वर्षदेखि यस्तो समस्या बढेको छ', त्रिवि शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. पदमराज पन्तले भने। यस्तै अनुभव छ प्रसूति गृहका स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बरालको पनि।

महिलाले ३० वर्षपछि विवाह गर्ने र बच्चा ढिला जन्माउने प्रचलन बढेकाले यस्तो समस्या देखिएको चिकित्सकहरू बताउँछन्। डा.पन्तले भने, 'पहिलाका महिला आफ्नो उमेरभरमा धेरै बच्चा जन्माउँथे, अहिले दुईभन्दा बढी जन्माउँदैनन्। त्यसैले पाठेघरमा यस्तो समस्या देखिएको हो।'

डा. बराल भने पछिल्लो समय महिला स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने क्रम बढेकाले यस्तो समस्या बढी देखिएको हुन सक्ने बताउँछन्। 'पहिला पनि समस्या नभएको होइन। अहिले स्वास्थ्य परीक्षण र सुविधा बढेकाले बढी देखिएको हुन सक्छ', उनले भने।

चिकित्सकका अनुसार नियमित बच्चा जन्माउँदा महिनावारी अवधि कम भई सिस्ट पलाउने सम्भावना कम हुन्छ। बच्चा कम जन्माउने चलनले महिनावारी अवधि लम्बिएकाले यस्तो समस्या बढी देखिएको हो।

'जति महिनावारी कम भयो, त्यति पाठेघरको भित्री भाग झर्ने अवधि कम हुन्छ र सिस्ट बन्न पाउँदैन', डा.पन्तले भने।

चिकित्सकका अनुसार यसरी पलाएका कतिपय सिस्ट केही समयपछि हराएर जान्छन् भने केही बढ्दै गएर जटिल समस्या निम्त्याउँछन्। सिस्ट पलाएमा बाँझोपन देखिने, तल्लो पेट दुख्ने, यौनसम्पर्कका बेला पीडा हुने, सिस्ट अन्यत्र पुगेमा दिसापिसाबको नलीबाट रगत बग्ने जस्ता लक्षण देखिन्छन्। समयमै उपचार नभए सिस्ट वृद्धि भएर शल्यक्रिया गर्नुपर्ने हुन्छ।

चिकित्सकका अनुसार सिस्ट क्यान्सरको ट्युमर नभएकाले यसको जोखिम अन्य ट्युमरको तुलनामा कम हुन्छ।

कपर टी, निलोकन चक्की, तीनमहिने सुई जस्ता परिवार नियोजनका साधन प्रयोग गर्ने महिलामा यो समस्या कम हुने चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यस्ता साधनमा हुने हर्मोनले रगत पातलो बनाइदिन्छ र समस्या कम हुन्छ। 

सामान्यतया २१ वर्ष पुगेपछि विवाह गर्ने, निलोकन, कपर टी, तीनमहिने सुईजस्ता परिवार नियोजनका साधन प्रयोग गर्ने महिलाको अन्डाशयमा सिस्ट पलाउने सम्भावना कम हुन्छ। त्यस्तै सिस्ट देखिनेबित्तिकै उपचार गर्नाले जोखिम कम हुने सुझाव चिकित्सकको छ।

प्रकाशित: ४ चैत्र २०७३ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App