७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोर्चालाई फकाउने प्रयास विफल

काठमाडौं- सरकारलाई  दिएको समर्थन फिर्ता लिएको मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तासीन दलका नेताले फेरि प्रयास थालेका छन्। 
प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मधेसी मोर्चाका नेताहरूलाई बोलाएर धेरै टाढा नजान आग्रह गरे। दाहालले आफूलाई मौका दिन पनि मोर्चाका नेतालाई आग्रह गरे। 
छलफलमा दाहालले बीचको बाटो निकाल्न पनि मोर्चाका नेतालाई  आग्रह गरे। उनले स्थानीय चुनावअघि नै सीमांकनबाहेक संविधान संशोधन विधेयक पारित गराउने आश्वासन दिँदै सीमांकन मुद्दा स्थानीय चुनावपछि प्रान्तीय र केन्द्रीय चुनावअघि जसरी पनि टुंगो लगाउने बताएका थिए। उनले स्थानीय चुनावअघि नै राष्ट्रियसभा निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुखलाई हटाउने आश्वासन पनि दिए। 'तपाईंहरू धेरै टाढा नजानहोस्। एउटा बीचको बाटोमा जाऔं। समस्याको निकास खोजांै,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो। प्रधानमन्त्रीले बुधबार पनि मोर्चाका नेतासँग छलफल गरी सहमतिमा आउन आग्रह गरेका थिए।
मोर्चासँग बिहीबारको छलफलमा  कांग्रेस सभापति देउवाले पनि स्थानीय चुनावअघि नै संविधान संशोधन गर्ने आश्वासन दिएका थिए। उनले पनि स्थानीय चुनावअघि राष्ट्रिय सभा, भाषा र नागरिकताको मुद्दा टुंग्याउने र सो चुनावपछि सीमांकन विवाद समाधान गर्ने बताएका थिए। उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष्य कमल थापाले पनि बीचको बाटो खोज्ने उपाय आफूले निकालेको बताएका थिए। 'बीचको बाटो खोज्ने उपाय मैले नै निकालेको हुँ। यसमा तपार्इंहरू सकारात्मक हुनुहोस्', थापाले भनेको स्रोतले बतायो।
मोर्चाका नेताले भने प्रधानमन्त्री दाहाल र देउवाको आग्रहलाई अस्वीकार गरेका छन्। मोर्चातर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष्य उपेन्द्र यादवले मात्र बोलेका थिए। उनले सीमांकनको संशोधन स्वीकार्य नहुने पुरानै अडान दोहोर्यााएका थिए। यादवले स्थानीय चुनाव प्रदेश मातहत हुनुपर्ने भन्दै सरकारले घोषणा गरेको  चुनाव मिति फिर्ता लिनुपर्ने माग राखेका थिए। यही स्थितिमा  मधेसी मोर्चा चुनावमा जान नसक्ने पनि उनले बताए। वार्ता  निष्कर्षमा पुग्न नसकेपछि प्रधानमन्त्रीले फेरि वार्तामा बस्नुपर्ने बताएका थिए। 'वार्ता र संवाद गर्दै गरौं,' प्रधानमन्त्रीले भनेका थिए। 
वार्तामा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाले कुनै निष्कर्ष ननिस्केको बताए। 'वार्तामा कुनै निष्कर्ष निस्केन। उहाँ आफ्नै अडानमा हुनुभयो। हामी पनि आफ्नै अडानमा भयौ', झाले नागरिकसँग भने।
नेपाल सद्भावना पार्टी अध्यक्ष्य अनिल झाले प्रधानमन्त्रीले अझै छलफलका लागि समय दिन मोर्चालाई आग्रह गरेको बताए। 'प्रधानमन्त्रीले समय दिनुहोस्, म सबै मिलाउँछु भन्नुभयो तर हामीलाई विश्वास लागेन,' झाले भने। 
बैठकमा कांग्रेसनेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पनि सहभागी थिए। यसैगरी मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झालगायत नेता उपस्थित थिए।  
प्रधानमन्त्रीसँग छलफलअघि संघीय गठबन्धनको बैठक बसेको थियो। बैठकले आन्दोलनमा जाने निष्कर्ष निकालेको छ। 

प्रकाशित: ४ चैत्र २०७३ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App