coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै 'लिक' भएको छ।

राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको 'अंग्रेजी सीप परीक्षण' को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा २ घन्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको हो।

शान्ति मिसनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको योग्यता परीक्षण गर्न बुधबार हलचोकमा सञ्चालित 'अंग्रेजी सीप परीक्षण' प्रश्नपत्र दुई घन्टाअघि नै बाहिरिएको हो।

परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ। परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र, अडियोलगायत सामग्री उतैबाट बनाएर ल्याउँछ।

अंग्रेजी सीप परीक्षण, ड्राइभिङ, सुटिङ र अन्तर्वार्तामा विभिाजित परीक्षामध्ये अंग्रेजी सीप परीक्षण परीक्षा केन्द्र हलचोकस्थित  सशस्त्र प्रहरीको हेडक्वार्टर चयन गरिएको थियो। परीक्षाअघि नै सो विषयको  प्रश्नपत्र बाहिरिएको हो।

अंग्रेजी भाषा सीप परीक्षणका लागि पहिलो टोलीका ४ सय जनाको परीक्षा समय दिउँसो १२ बजे तोकिएको थियो। प्रश्नपत्र बाहिरिन नदिन परीक्षा हलमा मोबाइल लैजानसमेत रोक लगाइएको थियो। तर, १० बजे नै प्रश्नपत्र परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो। स्रोतका अनुसार १० बजे भाइबरमार्फत परीक्षार्थीले प्रश्नपत्र पाएका थिए।

दिउँसो ३ बजे दोस्रो टोलीको परीक्षा तोकिएको थियो। दोस्रो टोलीका लागि राष्ट्रसंघले तयार पारेको प्रश्नपत्र पनि परीक्षा सुुरु हुनुअघि नै सार्वजनिक भइसकेको थियो। दोस्रो टोलीको प्रश्नपत्र पनि भाइबरमार्फत परीक्षार्थीले पाएका थिए।

परीक्षा लिन राष्ट्रसंघले युक्रेनी र अमेरिकीसहित ६ जनाको टोली नेपाल पठाएको थियो। उनीहरूले परीक्षा सामग्री आफूसँगै ल्याएका थिए। जानकार स्रोतका अनुसार परीक्षा सामग्रीको गोपनीयताका लागि राष्ट्रसंघले खटाएको टोलीले परीक्षा केन्द्रमा आवश्यक प्रश्नपत्र प्रिन्ट र फोटोकपी गरेको थियो। तर, जति गोपनीयता अपनाए पनि शान्ति मिसनमा सहभागी हुन चाहने दुबै सुरक्षा संगठनका सदस्यको योग्यता परीक्षाको प्रश्नपत्र सुरक्षित भएन। नागरिकले प्राप्त गरेको परीक्षाअघि बाहिरिएको प्रश्नपत्र कच्याककुचुक पारेर पछि सम्याएको देखिन्छ। एक व्यक्तिले हातले समातेर खिचिएको प्रश्नपत्रको पछाडि फोहोर देखिन्छ।

परीक्षा समन्वय गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अधिकृत खटिएका थिए। केन्द्र हलचोकमा रहेकाले परीक्षा सामग्रीको सुरक्षा र केन्द्रको सुरक्षा जिम्मेवारी सशस्त्रले लिएको थियो। स्रोतका अनुसार प्रश्नपत्र हलचोकमै प्रिन्ट र फोटोकपी गरिएको थियो।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले राष्ट्रसंघको शान्ति मिसनमा पठाउने सुरक्षाकर्मी छनोटका लागि सञ्चालित परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै बजारमा गएको विषयमा जानकारी  नभएको बताए। राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुन चाहने प्रहरी कर्मचारी छनोट परीक्षामा प्रहरीले समन्वय मात्रै गरेको बताउँदै उनले परीक्षा सामग्री सुरक्षा जिम्मेवारी जुन स्थानमा परीक्षा केन्द्र तोकिएको हो त्यहींको हुने बताए।

'प्रहरीको युएन शाखाले परीक्षा लिन नेपाल आएको राष्ट्रसंघीय टोलीसँग आवश्यक समन्वय मात्र गर्ने हो, यो टोलीलाई पनि आवश्यक समन्वय गरिरहेका छौं,' खनालले नागरिकसँग भने 'बुधबारको परीक्षा नेपाल प्रहरीको जिम्मेवारी क्षेत्रभित्र नभएकाले के भयो, त्योबारे जानकारी छैन।'

सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीले बुधबारको परीक्षास्थल सशस्त्र हेडक्वार्टरमा भएकाले सुरक्षा जिम्मेवारी पनि आफ्नो संगठनको भएको र सोही अनुसार सुरक्षा व्यवस्था गरेको जानकारी दिए। उनले पनि परीक्षाअगावै प्रश्नपत्र 'लिक' भएको भन्नेबारे जानकारी  नभएको  बताए। परीक्षा सामग्री राष्ट्रसंघीय टोलीले ल्याएको र उनीहरूले नै वितरण गरेकाले प्रश्नपत्रबारे केही जानकारी नहुने उनले बताए।

'प्रश्नपत्र फोटोकपी सशस्त्रकोमै भए पनि अन्तर्राष्ट्रिय टोलीसँगै बसेर काम गर्ने र सो टोलीले नै लैजाने भएकाले त्यसमा हाम्रो कुनै भूमिका हुन्न,' केसीले भने, 'हामीलाई परीक्षा हलभित्र प्रवेश गर्ने अनुमतिसमेत हुन्न।' राष्ट्रसंघमार्फत सशस्त्र प्रहरीका कर्मचारी सुडान र डार्फरमा खटिने गरेका छन्। त्यस्तै नेपाल प्रहरीका कर्मचारी हाइटी, सुडान र लाइबेरियामा खटिँदै आएका छन्।

प्रकाशित: ४ चैत्र २०७३ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App