६ वैशाख २०८१ बिहीबार
खेल

नेपाल र भारतका १० टिम भिड्दै

माइभ्याली गोल्डकपको तेस्रो संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी आयोजक । तस्बिर : भीम चापागाई

इलाम – ४ लाख रुपैयाँ पुरस्कार राशिको ‘माइभ्याली गोल्डकप’ आउँदो १७ देखि २६ गतेसम्म सदरमुकामको ठूलो टुँडिखेलमा आयोजना गरिँदैछ । पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कार रहने प्रतियोगिताको तेस्रो संस्करणमा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी हुँदैछन् ।
    प्रतियोगितामा लक्ष्मी डुन्डाई मनाङ–मस्र्याङ्दी, रुपन्देही–११, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा, झापा–११ र माइभ्याली–११ भिड्दैछन् । भारत कोलकाताको दुर्गापुर स्टिल र असमको ग्लोबल फुटबल क्लब पनि प्रतियोगितामा भिड्न आउने आयोजक माइभ्याली क्लबले जनाएको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष धिरेन चेम्जोङले तयारी अन्तिम चरणमा पुगेको बताए ।
    आयोजक माइभ्याली र जिल्ला फुटबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेका छन् । तालिकाअनुसार उद्घाटन खेल आयोजक माइभ्याली र नेपाल पुलिसबीच हुनेछ । चैत १८ मा रुपन्देही–११ र दुर्गापुर स्टिल क्लबबीच हुनेछ भने चैत १९ मा नेपाल आर्मी र ग्लोबल क्लब भिड्नेछन् । चैत २० मा रुपन्देही–११ र दुर्गापुर स्टिलमध्ये विजेताको सामना झापा–११ ले गर्नेछ । चैत २१ मा माइभ्याली र नेपाल पुलिसको विजेतासँग मनाङ–मस्र्याङ्दी भिड्ने छ । चैत २२ मा संकटा र सशस्त्र प्रहरीको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।
    एउटा समूहबाट ग्लोबल र आर्मीमध्ये १ ले मनाङ, माइभ्याली र पुलिसमध्ये १ सँग चैत २३ मा सेमिफाइनल खेल्नेछ । अर्काे समूहबाट आउने संकटा र सशस्त्रमध्ये १ ले झापा, दुर्गापुर र रुपन्देहीमध्ये १ सँग चैत २४ मा दोस्रो सेमिफाइनल खेल्नेछ । खेलको फाइनल चैत २६ लाई तय गरिएको अध्यक्ष चेम्जोङले बताए ।
    विजेताले ४ लाख र उपविजेताले अढाई लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । ‘हाई स्कोररलाई २५ हजार, म्यान अफ् टि टुर्नामेन्टलाई १ सय ५० सिसीको यामाहा मोटरसाइकल र प्रत्येक दिनको म्यान अफ् दि म्याचलाई ७ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ,’ अध्यक्ष चेम्जोङले पत्रकार सम्मेलनमा भने, ‘सबै पुरस्कारको राशि गतवर्षभन्दा बढाएका छौं ।’ विजेताको पुरस्कार राशि गतवर्षहरूझैं सूर्याेदय नगरपालिकाका समाजसेवी दम्पती तारा र रोजु सापकोटाले उपलब्ध गराउने घोषणा गरेका छन् । 
    प्रतियोगिता आयोजना गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । यसका लागि मुख्य स्रोत ‘गेट मनी’ नै हुने उनले बताए । ‘गेट मनीका लागि प्रतिदर्शक १ सय रुपैयाँको टिकट तयार गरिने छ,’ उनले भने, ‘सेमी र फाइनल खेलका लागि भने २ सय रुपैयाँको टिकट राखिनेछ ।’ गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्काले प्रतियोगिताको प्रायोजन–सहप्रायोजन गर्ने र जिल्ला समन्वय समिति, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, इलाम नगरपालिकालगायतले केही आर्थिक सहायता गर्ने आयोजकले जनाएको छ । 
    प्रतियोगिताका लागि होटल, प्रचार, अतिथि, यातायातलगायत व्यवस्थापन गर्न बेग्लाबेग्लै उपसमिति गठन गरिएको जिल्ला फुटबल संघ अध्यक्ष निरोज खड्गीले बताए । प्रतियोगिताका लागि करिब २ सय स्वयंसेवक परिचालन गरिने उनको भनाई छ ।  
    क्लबको अगुवाईमा ठूलो टुँडिखेल मर्मत गरी ‘सफ्ट’ बनाइएको छ । ‘टुँडिखेल हार्ड भएर खेलाडीलाई गाह्रो हुने भएपछि केही महिनाअघि १२ लाख रुपैयाँ खर्चेर दुबो लगाएका छौं,’ अध्यक्ष चेम्जोङले सुनाए, ‘पोहोरभन्दा यो पटक खेलमैदान निकै नरम र राम्रो छ ।’ मैदानको छेउमा बाँसको प्यारापिट बनाइँदैछ ।  यो वर्ष टुँडिखेलको आकार थपिने र दर्शक पनि बढ्ने अनुमानले ठूलो ठाउँमा प्यारापिट निर्माण गर्न लागिएको उनले बताए । 
    २ वर्षअघि पहिलो प्रतियोगिता आयोजना गर्दा नै माइभ्याली क्लब उत्कृष्ट ए–डिभिजनको खेल आयोजना गर्ने आयोजकका रूपमा गनिएको थियो । जिल्लाको फुटबल इतिहास लामो भएपनि सदरमुकाममा फुटबल एकाडेमी सञ्चालन हुन नसकेकाले त्यसको प्रयासका लागि हरेक वर्ष ठूला प्रतियोगिता आयोजना गर्ने गरेको आयोजकको भनाइ छ । केही वर्षअघि सदरमुकाममा एकाडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामलाई छनौट सूचीमा राखेको थियो । तर, एन्फाको विवादका कारण र स्थानीय तथा राष्ट्रियस्तरबाट त्यसको प्रभावकारी प्रयास नहुँदा जिल्लामा फुटबल सम्भावना उच्च भएर पनि ओझेलमा छ । ‘इलामबाट अरू पनि सयौं नवयुग श्रेष्ठ जन्माउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष चेम्जोङले भने, ‘तर, खेलाडी र खेलप्रेमीको प्रयासलाई सरकारले पनि साथ दिन जरुरी छ ।’ 
 

प्रकाशित: ३ चैत्र २०७३ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App