१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल प्रहरी पुरातन सोच र शैलीभन्दा माथि छ: महानिरीक्षक अर्याल

चितवन-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी पुरातन सोच र शैलीबाट माथि निस्केको बताएका छन्। ‘हामीमाथि धेरैको भरोसा छ । त्यसमा हामी खरो उत्रनु पर्छ । निलो बर्दिले(प्रहरीले लगाउने पोसाक) बद्नामीको छिटा पनि सहन सक्दैन’ भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइतबार सम्पन्न दिक्षान्त समारोहमा उनले भने।
    प्रहरी सहायक निरीक्षक (असई)को आधारभूत तालिम १६४ औं समुहको दिक्षान्त समारोहलाई उनले प्रमुख अतिथिको हैसयितमा सम्बोधन गरेका थिए । कसैको आर्शिवाद र अनुग्रहले नभएर आफ्नै क्षमताका आधारमा छनौट भएको कुरा नबिर्सन उनले दिक्षित भएर कार्यक्षेत्रमा जान लागेका असईहरुलाई स्मरण गराए। आफ्नो क्षमतामा विश्वास राखेर काम गर्न र कसैको दवावमा नपर्ने उनले निर्देशन दिए।
    विगतको कमी कमजोरीलाई आधार बनाएर अबको प्रहरीको मुल्याङ्कन नगर्न उनले आग्रह गरे। प्रहरी बलका आधारमा समाजमा त्रास फैलाउने, भ्रष्ट र मानव अधिकारका भक्षक कुनै व्यक्ति, समूह वा संस्थाको पेवा होइन भन्ने कुरा व्यवहारबाटै सिद्ध हुँदै गएको उनले बताए। देशमा कानुनको सर्वोच्चता भएको र अपराध गर्नेहरु कुनै आवरणमा संरक्षित हुन नसक्ने उनले बताए।
    ‘अपराध गर्नेलाई कुनै ठुलो रुखले शितल छाँया दिन सक्दैन भन्ने सन्देश दिन हामी एकहदसम्म सफल भएका छौं । त्यसैले तपाइँहरु छाति फराकिलो र शिर उच्चो बनाएर कार्यक्षेत्रमा जुट्नुस’ महानिरीक्षक अर्यालले भने । गत वर्षको साउनमा सुरु भएको १६४ औं समूहको तालिमबाट ४१ महिलासहित ५९२ जनाले तालिम पुरा गरेको शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिआइजी)रणबहादुर चन्दले जानकारी दिए।
    शिक्षालयको विस २०७१ साल मंसिरमा उद्घाटन भएको थियो । त्यसअघि सो ठाउँलाई मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भनिन्थ्यो । शिक्षालयबाट हालसम्म कुल ९४२ जना र तत्कालिन मध्यक्षेत्र प्रहरी तालिम केन्द्रकासमेत गरेर सो ठाउँबाट हालसम्म कुल एक हजार ९११ जनाले प्रहरी सहायक निरीक्षक (असई)को आधारभुत तालिम पुरा गरेको निर्देशक डिआइजी चन्दले जानकारी दिए।

    

 

प्रकाशित: २६ असार २०७३ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App