७ वैशाख २०८१ शुक्रबार
समाज

सीसी क्यामेराले पत्ता लगायो भ्यानमा छुटेका गहना

चितवन – भरतपुरमा म्याजिक भ्यानमा चढेर यात्रा गरेकी हेटौंडाकी ५० वर्षीया इन्दिरा मानन्धर जब ओर्लेर आफू जाने ठाउँमा पुगिन तब झण्डै चार लाखका गहनासहितको झोला छुटेको थाहा पाउँदा झसङ्गै भइन् । झोला भेटिने आशामा उनले चितवन जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुमको १०० नम्बरमा फोन डायल गरेर विवरण टिपाइन् । उनको झिनो आशा खुसीमा परिणत भयो । गहनासहितको झोला फेला परेरै छाड्यो ।
    उनको आशालाई निराशामा परिणत हुनबाट रोक्ने काम सीसी क्यामेराले गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार उनी चढेको भ्यान पत्ता लगाउन सीसी क्यामेराले रेकर्ड गरेको ‘फुटेज’को भूमिका छ । प्रहरीको कन्ट्रोल रुपमा सीसी टिभीमा हेदौ चैत्र १ गते मंगलबार साँझ सवा पाँच बजे उनी चढेको भ्यान ना १ ज ५३९५ नम्बरको रहेको पत्ता लागेको थियो । 
    त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले गाडी खोज्न थाले । केही बेरमै गाडी र झोला पत्ता लाग्यो । झोलामा गहना र महङ्गो घडीसमेत थियो । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार छुटेको झोलामा सुनको डेढ तोलाको एउटा बाला, आधा तोलको हिरा जडित एक सेट टप, नवरत्न जडित एक तोलाको एक सेट टप सो झोलामा थियो ।
    त्यस्तै सुनकै तीन तोलाको लकेटसहितको सिक्री र आधा तोलाको सुन एउटा औंठी पनि झोलामा थियो । गहनाका साथै तीस हजार रुपैयाँको घडी पनि झोलामा थियो । झोलामा तीन लाख ९० हजार रुपैयाँ बराबरको सामानहरू थिए । सीसी क्यामेराको मद्दतले गाडी पत्ता लागेपछि सवै समान सहितको झोला पनि भेला परेको र चैत्र २ गते बुधबार इन्दिरा मानन्धरलाई सो झोला जिम्मा लगाएको चितवन प्रहरीले जनाएको छ ।
    त्यस्तै हराएको मोबाइल फोन सेटहरू पनि पत्ता लगाएर प्रहरीले सम्बिन्धत व्यक्तिलाई बुझाएको छ । भरतपुर १० का प्रदिप लामा र भरतपुर–२८ का विष्णुप्रसाद दवाडीले मोबाइल फोनसेट हराएको विवरण प्रहरीलाई दिएका थिए । अनुशन्धानपछि उनीहरू दुवैजनाको हराएको मोबाइल फोनसेट पत्ता लागेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित: ३ चैत्र २०७३ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App