१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अपराधतिर फँस्दै किशोर

जाजरकोट—भेरी मालिका नगरपालिका–११  मटेलाका १४ वर्षीय लोेकेन्द्र सुनारको भर्खर ८ कक्षा पढ्ने उमेर भएको छ, तर उनी अहिले प्रहरी हिरासतमा बसेर चोरी मुद्दा खेपिरहेका छन् ।  दुई वर्ष अघि घरबाट भागेर भारतको  हरिद्वार गएका सुनार गत शनिबार थप चारजनासहित घर फर्किए । उनी कमाइ गरेर घर फर्किएका भने थिएनन्।

उनको  योजना  योजनावद्ध चोरीका गतिविधि सञ्चालन गर्ने थियो। ६ वटा पसलमा  चोरी गरिसकेपछि उनीहरूलाई  जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक हिक्मत बोहोरा र सुभाष भट्टको टोलीले  सोमबार पक्राउ गर्‍यो। उनीसँगै भेरीमालिका नगरपालिका–१ रिसाङका  १७ वर्षीय रामु सुनार,१७ वर्षीय उदिप सुनार, कञ्चनपुर  झलारी पिपलाडी नगरपालिका–३ का १८ वर्षीय आषिस साउँद र    सोही ठाउँका रुपेन्द्र चन्द चोरी घटनामा सहभागी थिए। उनीहरू सबै  स्कुल पढ्दापढ्दै  भागेर  जाजरकोट आई  चोरी र लुटपाटका गतिविधिमा संलग्न भएका हुन्।

प्रहरीका अनुसार  उनीहरू सबै  तीन÷चार वर्षदेखि सानै उमेरमा  व्यवसायिक चोर जस्तै बनेर सक्रिय भएका छन्।  नगरपालिकाको   कालेगाउँबाट भाग्दै गरेको अवस्थामा समातिएका उनीहरूलाई सार्वजनिक गर्न प्रहरीले आयोजना गरेको पत्रकार भेटघाटमा  जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले चोरीको आरोपमा समातिएका पाँचैजना व्यवसायिक चोर प्रवृतिका भएको बताए ।   उनीहरू दिनभर जंगलमा लुक्ने र राति परेपछि चोरी गर्न बजारमा घुम्ने गरेको प्रहरीको भनाइ छ।

उनीहरूलाई अहिले नै सुधार गर्न सकिएन भने  भविययमा कुख्यात अपराधी बन्न सक्ने सम्भावना रहेको मल्लले बताए।  गत  शनिबारदेखि जिल्लामा पसल तथा व्यक्तिका सामान र नगद रकम  चोरी हुन थालेपछि प्रहरीले चोर समाउने अभियान सुरु गरेको थियो।  उनीहरू बाआमालाई  छक्काएर भारत र विभिन्न ठाउँमा बेवारिसे बनेर घुम्ने गरेका छन्। जाजरकोट प्रहरीले  खलंगा बजारका विभिन्न पसल र स्थानीयका घरबाट चोरेका सात हजार बढी रकम र अन्य सामान बरामद गरेको छ भने उनीहरू विरुद्ध  चोरीको अभियोग लगाएर अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेको छ ।  

 

 

 

 

प्रकाशित: २ असार २०७३ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App