८ वैशाख २०८१ शनिबार
अर्थ

सुन फेरि सस्तियो

काठमाडौं- पछिल्ला हप्तामा सुनको मूल्य निरन्तर ओरालो लागेको छ। बुधबार एकै दिन ६ सय रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ५३ हजार दुई सय रुपैयाँमा किनबेच भएको छ। मंगलबार प्रतितोला ५३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो केही दिनदेखि सुनको मूल्यमा गिरावट आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 'सुनको मूल्य घटिरहेको अवस्था छ,' महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने।

सदाजस्तै यसपालि पनि अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनले गर्दा नै नेपालमा मूल्य घटेको हो। उनका अनसार अमेरिकी वाल स्ट्रिट बजारमा लगानीकर्ता सेयर र घरजग्गा कारोबारमा आकर्षित भएका छन्। जसका कारणले सनुका लगानीकर्ता घट्दै जाँदा मूल्य घट्न पुगेको हो। त्यसैगरी बैंकको ब्याजदर बढाउने संकेत आइरहेकाले पनि सुनका लगानीकर्ता घटिरहेका छन्।

'मुख्य रुपमा अमेरिकी बजारले हामीलाई पनि असर गर्छ,' बज्राचार्यले भने, 'यस बाहेक भारत र युरोपको बजारले पनि प्रभाव पार्दै आएको छ।' भारतको बजारलाई अझै पनि नोटबन्दीले असर गरिरहेको विश्लेषकको भनाइ छ। जसका कारणले ठूलो मात्रामा सुनको प्रयोग हुने भारतीय बजार 'डाउन' हुँदै गएको छ। सुनको गरगहना धेरै प्रयोग गर्ने एसियाको बजारमा माग कम हुँदा नेपालमा पनि मूल्य घट्न पुगेको उनको भनाइ छ।

त्यसैगरी विश्व बजारमा युरोको तुलनामा डलर मजबुत भएकाले पनि सुनमा लगानी कम भइरहेको छ।

अझै केही दिन मूल्यमा गिरावट आउने अनुमान विश्लेषकको छ। कम्तीमा यो हप्तासम्म सुनको मूल्य ओरालो लाग्ने बज्राचार्य बताउँछन्। 'कम्तीमा शुक्रबारसम्म मूल्यमा घट्न सक्ने अवस्था देखिन्छ,' बुधबार नागरिकसँग बज्राचार्यले भने, 'तर बजारको माहोलले कतिखेर कस्तो हुन्छ भन्नै सकिन्न।'

फागुन २४ गते मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार (चैत २) मा ५३ हजार दुई सयमा झरहेको हो। त्यसैगरी, फागुन २५ गते ५४ हजार सात सय, २६ गते ५४ हजार तीन सय, २७ गते ५४ हजार, ३० गते ५४ हजार एक सय हुँदै मंगलबार ५३ हजार आठ सयमा झरेको संघको तथ्यांकमा उल्लेख छ।

यसै वर्षको मंसिर–पुस महिनामा सुनको मूल्य पछिल्लो १० महिनाकै सबैभन्दा तल्लो बिन्दुमा झरेको थियो। मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुन निरन्तर घट्दै गएर पुस १ गते ५१ हजार सात सय रुपैयाँमा झरेको थियो। त्यसपछि भने निरन्तर रुपमा मूल्य बढेको थियो। अनि ५६ हजार रुपैयाँसम्म पुगेको बज्राचार्यले बताए। गत साउनमा भने १० महिनाकै सबैभन्दा धेरै ५९ हजार पाँच सय रुपैयाँसम्ममा कारोबार भएको थियो।

प्रकाशित: ३ चैत्र २०७३ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App