८ वैशाख २०८१ शनिबार
समाज

सृष्टिकान्ता लोकेश्वर खटजात्रा मनाइयो

काठमाडौं- काभ्रेको नालामा मनाइने कृष्टिकान्ता लोकेश्वरको खटजात्रा बुधबार सकिएको छ। सृष्टिकान्ता लोकेश्वरको प्रतिमालाई खटमा राखी नालाका मन्दिर र टोलहरू परिक्रमा गराएपछि जात्रा समापन भएको नेवार जातिका करुणामय मन्दिर नालाका पुजारी बिजेन्द्र बज्राचार्यले बताए।

पुजारी बज्राचार्यका अनुसार सृष्टिकान्ता लोकेश्वरलाई करुणामय देवता पनि भनिन्छ। फागु पूर्णिको भोलि पल्टदेखि सुरु हुने जात्राको पहिलो दिन मन्दिरबाट करुणामयको मूर्ति निकाली नुहाइदिने अर्थात् न्हावाङ गरिन्छ। दोस्रो दिन मूर्तिलाई पूजाका लागि रंगरोगन गर्ने काम हुन्छ। तेस्रो दिन खटयात्रा गर्ने दिन मुख्य दिन हो।

अन्तिम दिन सृष्टिकान्ता लोकेश्वरको कर्मकाण्ड पनि गरिन्छ। नेवार जातिका पुरोहित ललितरत्न बज्राचार्यले भने, 'ब्रतबन्ध, बेल विवाह, विवाह, जंकोलगायत कर्मकाण्ड गरिन्छ। यो भगवान्लाई स्त्री र पुरुष दुवै लिंगी भगवान्को रुपमा पूजा गरिन्छ।'

खटयात्रा गर्नुअघि सृष्टिकान्ता लोकेश्वरको मूर्तिलाई पूजा गरी गरगहना लगाइदिने चलन छ। जात्राको बेला मात्र मूर्ति बाहिर निकालिने गरिन्छ।

काभ्रे नालाका नेवार समुदायले यस जात्रालाई निरन्तरता दिँदै आएका छन्। उनीहरूले सृष्टिकान्ता लोकेश्वरलाई नाला देशको रक्षक देवताका रूपमा पुज्ने गरेको पुजारी बज्राचार्यले बताए। सृष्टिकान्ता लोकेश्वरलाई सेतो मच्छिन्द्रनाथको रूपमा पनि पूजा गरिन्छ।

किंवदन्ती अनुसार यो देवता पहिले काठमाडौंमा नै थियो। एक रात केही चोरले मूर्ति चोरेर लैजाँदै गर्दा नाला पुग्दा बिहान भएपछि दिउँसोको समय चोरेको मूर्ति लैजान नसक्ने सोचेर उनीहरूले मूर्तिलाई नालामा रहेको पूण्यमाता खोलामा गाडे। त्यहि रात नाला देशका राजा र त्यहाँका देउला समुदायका व्यक्तिहरूको सपनामा मूर्ति चोरिएको कुरा लोकेश्वर आफैँ प्रकट भएर भने। नालादेशका मानिसहरूले गाडिएको स्थानबाट मूर्ति उठाएर ल्याए। ल्याउँदा बाटामा बिसाएको ठाउँबाट मूर्ति उठाउन नसकेपछि त्यहि स्थानमा मन्दिर बनाई सृष्टिकान्ता लोकेश्वरलाई स्थापित गरिएको हो।

उपत्यकाका चार लोकेश्वर मध्येका एक लोकेश्वर नालाको सृष्टिकान्ता लोकेश्वर हो। अन्य लोकेश्वरहरू आर्यावर्त लोकेश्वर काठमाडौं, पद्मपाणी लोकेश्वर पाटन र आदिनाथ लोकेश्वर चोभारमा छन्। यीमध्ये नालाको सृष्टिकान्ता लोकेश्वर र चोभारको आदिनाथ लोकेश्वरको खटयात्रा गराइन्छ भने काठमाडौंको आर्यावर्त लोकेश्वर (सेतो मच्छिन्द्रनाथ) र पाटनको पद्मपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ) को रथयात्रा गराइन्छ। चार लोकेश्वरले काष्ठमण्डपको रक्षा गर्ने धार्मिक विश्वास रहेको पुरोहित ललितकृष्ण बज्राचार्यले बताए।

प्रकाशित: ३ चैत्र २०७३ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App