७ वैशाख २०८१ शुक्रबार
समाज

आजदेखि एसइई परीक्षा, चिट चोराए तत्काल कारबाही

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा चिट चोर्ने–चोराउने व्यक्तिलाई ठाउँको ठाउँमै कारबाही गरिने भएको छ। यसअघि एसएलसी परीक्षाका नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्षको एसइई परीक्षा व्यवस्थित र मर्यादित बनाउन तीन वटा अनुगमन समिति गठन  गरिएको बताए। शिक्षा मन्त्रालयमार्फत सबै प्रदेशमा समेटिने गरी सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयभित्र भिन्नै अनुगमन टोली र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोलीले परीक्षा सञ्चालन अवधिमा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जोकोहीलाई तत्काल कारबाही गर्ने उनले बताए।

एसइई परीक्षामा कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन्

'परीक्षा भवनभित्र चिट चोर्न सहयोग गर्ने निरीक्षक, कर्मचारीलाई अनुगमन टोलीले तत्काल निष्कासन गरी कसुरअनुसार विभागीय कारबाहीका लागि सिफारिस गर्नेछ', नियन्त्रक रेग्मीले नागरिकसँग भने, 'जोखिमपूर्ण हतियार लिई परीक्षा केन्द्रमा प्रवेश गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हातपात गर्ने, परीक्षा अवधिभर वा त्यसपछि रिसइबी साध्ने जस्ता कार्य गर्ने परीक्षार्थीलाई निष्कासन गरी परीक्षा उनीहरूको रद्दसम्मको सिफारिसको अधिकार अनुगमन टोलीलाई छ।'

परीक्षामा एक हजार नौ सय २३ परीक्षा केन्द्र तोकिएको छ। पनिकाका अनसार परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ सहयोगी र २८ हजार आठ सय ४५ सुरक्षाकर्मी गरी कुल ६७ हजार पाँच सय ९१ जनशक्ति परिचालित हुने नियन्त्रक रेग्मीले जनाए।

यसबाट सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा छन्। काठमाडौंबाट यस वर्ष ३५ हजार पाँच सय १० परीक्षार्थीले एसइई परीक्षा दिँदैछन्। यस्तै सबैभन्दा  मनाङ जिल्लाबाट ६२ परीक्षार्थी सहभागी छन्। मनाङमा एउटा मात्र परीक्षा केन्द्र तोकिएको छ।

कुल परीक्षार्थीमध्ये  प्राविधिकतर्फ तीन हजार सात सय तीन विद्यार्थी छन्। एसइई परीक्षामा दुई लाख ७८ हजार चार सय ५० छात्रा र दुई लाख ५९ हजार सात सय ३२ छात्र सहभागी छन्।

काठमाडौं जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले परीक्षा व्यवस्थापनको सबै तयारी पूरा भइसकेको बताए।

'काठमाडौं जिल्लाको नौ सय ९५ विद्यालयका ३६ हजार बढी विद्यार्थीले एसइई परीक्षा दिँदैछन्', आचार्यले भने, 'कारागार परीक्षा केन्द्रका १७ विद्यार्थीले सहभागिता जनाउँदैछन्।'

रजिष्ट्रेसन–आवेदन फारामको विवरण कम्प्युटरमा इन्ट्री गर्दा हुन सक्ने त्रुटि निराकरणका लागि परीक्षा सकिएकै दिन परीक्षार्थीलाई निजको विवरण उल्लेख भएको मेमो उपलब्ध गराउने र त्यसमा कुनै त्रुटि भेटिएमा जिशिकामार्फत संकलन गरी नतिजा प्रकाशनअघि त्रुटि सच्याउने व्यवस्था मिलाइएको छ।

एकभन्दा बढी विद्यालयबाट रजिस्ट्रेसन फाराम भरेको पाइएमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द हुने नियन्त्रक रेग्मीले बताए।

प्रश्नपत्रको गोपनीयता भंग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित अधिकारीको स्वीकृतबेगर प्रवेश गर्न प्रयत्न गरेमा, परीक्षा केन्द्र नियन्त्रणमा लिएर अमर्यादित कार्य गरेमा, नक्कली परीक्षार्थी बनी परीक्षा दिएमा शिक्षा ऐनअनुसार एक लाख रुपैयाँसम्म जरिबाना वा ६ महिना कैद वा दुवै सजाय हुनेछ।

प्रकाशित: ३ चैत्र २०७३ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App