७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्ववियु चुनाव गराउन आदेश

काठमाडौं- सर्वोच्च अदालतले केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तुरुन्त गर्न त्रिभुवन विश्वविद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चुनाव रोकिएका क्याम्पसमा तत्काल प्रक्रिया सुरु गर्न बुधबार यस्तो आदेश दिएको हो।

रत्नराज्य क्याम्पस स्ववियु अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी, आरआर क्याम्पस प्रमुख, क्याम्पसले चुनावका लागि तोकेका अधिकृत समेतलाई विपक्षी बनाई फागुन २३ मा रिट दायर गरेका थिए। रत्नराज्य लगायत केही क्याम्पसमा फागुन १८ गते तोकिएको चुनाव रोकिएको छ। शाहीले रोकिएको चुनाव गराउन आदेश माग गर्दै निवेदन दिएका हुन्।

सर्वोच्चको आदेशमा उल्लेख छ, 'स्ववियु निर्वाचन कार्यक्रम पूर्वनिर्धारित भएकाले रोक्नुपर्ने अवस्था नदेखिएकाले प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी भएको छ।'

विश्वविद्यालयले फागुन १८ का लागि स्ववियु निर्वाचन तोकेको थियो। रत्नराज्यमा घोषित मितिमा निर्वाचन हुन नसकेपछि फागुन २३ का लागि सारिएको थियो। सो दिन चुनावका लागि सबै तयारी भई विद्यार्थी मतदानका लागि लाममा बसिसकेपछि निर्वाचन आयोगको पत्रको कारण देखाउँदै जिल्ला प्रशासनले चुनाव रोक्न लगाएको थियो। स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै प्रशासनले स्ववियु चुनाव गराउन रोकेको हो।

रिट निवेदक शाहीले 'अध्यक्षका प्रत्यासी लगायतलाई क्याम्पस हाताभित्र प्रवेशमा रोकेकाले विद्यार्थीको नेतृत्व पाउने अधिकारबाट बञ्चित गरिएको भन्दै संविधानको धारा १७ को उपधारा २ (घ) बमोजिम हकअधिकार प्रचलन गराउन अन्तरिम आदेश माग गरेका थिए।

सर्वोच्चको यो आदेशपछि केही क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन गराउन विश्वविद्यालय बाध्य हुने विद्यार्थी नेताले बताएका छन्।

प्रकाशित: ३ चैत्र २०७३ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App