coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानन्यायधीशमा सुशीला कार्कीको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिकाे बैठकमा अाइतबार अाफूमाथि परेकाे उजुरीकाे जवाफ दिँदै प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्की। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायधीशमा सुशील कार्कीको नाम अनुमोदन गरेको छ। आइतबार बसेको सुनुवाई समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको हो।

संसदीय सुनुवाई समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए, जसमा तीन जना उजुरीकर्ता समिति मै उपस्थित भएका थिए। सुनुवाई समितिका कार्कीले आफ्नो कार्यकालमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताइन्। उनले हाल सर्वोच्चमा ३६ हजार मुद्दा थाती रहेको भन्दै मुद्दा कम गर्न छिटो न्यायाधीश नियुक्ती गर्नुपर्ने बताइन्।
को हुनु सुशीला कार्की

सर्वोच्चमा राम्रो छवि र निर्णय लिन नडराउने न्यायाधीशका रुपमा कार्की चिनिन्छन् । इन्टरनेसनल एसोसिएसन अफ वुमन जजकी सदस्य उनी २०६५ सालमा वकिल तर्फबाट अस्थायी न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा प्रवेश गरेकी थिइन्। त्यसको दुई वर्षपछि उनी स्थायी न्यायाधीश भइन् । २०६१ सालमा उनले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएकी थिइन् । २०३५ सालमा अधिवक्ता भएकी हुन् उनी आफैँले बिएल पास गरेको महेन्द्र बहुमुखी क्याम्पस धरानमा केही वर्ष पढाएकी थिइन्।

अध्यापनमा व्यस्त रहेकै बेला उनलाई एक्कासि कानुनी सेवा गर्ने चाह बढेपछि वकालतमा आइपुगेकी हुन् । विराटनगरमा रहुन्जेल कार्कीले पैसाका लागि नभई गरिबका लागि न्यायको पहल गरिन्। वकालत गर्दागर्दै उनी बारको राजनीतिमा पनि सक्रिय भइन्। २०५९ सालमा पुनरावेदन अदालतको बार अध्यक्षका रुपमा उनी निर्वाचित भएकी थिइन् । बार अध्यक्षको रुपमा कार्कीले २०६१ सालसम्म काम गरिन्। विलक्षण नेतृत्व क्षमताका कारण उनलाई बारले केन्द्रमा उठ्न दबाब दिएको थियो तर उनले वकालतमै लाग्ने इच्छाका कारण अगाडि बढिनन्।

सर्वोच्च अदालतको न्यायाधीशका रुपमा कार्कीको इजलासबाट धेरै चर्चित फैसलाहरू भएका छन् । गोदावरी मार्बलदेखि कानुन र मानव अधिकारको क्षेत्रमा चर्चित अनगिन्ती फैसलाहरू उनले गरेकी छन् । नयाँ विधिशास्त्रको निर्माण गर्ने फैसलाहरू आज पनि चर्चित छन् । तत्कालै निर्णय लिन सक्ने क्षमताका कारण उनी सर्वोच्चमा चर्चित छिन् । उनले तात्कालीन बहालवाला सञ्चारमन्त्री जेपी गुप्ताको भ्रष्टाचार मुद्दा फैसला गरेर सबैको नजरमा परेकी थिइन् ।

सर्वोच्च अदालतको २६ औं प्रधानन्यायाधीशको रुपमा उनी देशको इतिहासमै प्रधानन्यायाधीश बन्ने पहिलो महिला हुनेछिन्। उनले उमेरहदका कारण २०७४ जेठ २५ गते अवकाश पाउने छन्।  

२००९ साल जेठ २५ गते विराटनगर–३, शंकरपुरमा जन्मिएकी कार्कीले सन् १९७२ मा महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक उत्तीर्ण गरेकी थिइन्। उनले वनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पोस्ट ग्य्राजुएट (एमए) को पढाइ सन् १९७५ मा पूरा गरिन् भने त्रिभुवन विश्वविद्यालयबाट सन् १९७८ मा कानुनमा स्नातक तहसम्मको अध्ययन पूरा गरिन्।

 

प्रकाशित: २६ असार २०७३ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App