coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टहरोमा बास, टहरोमै जाँच

एसइई परीक्षाकेन्द्र रहेको सिन्धुपाल्चोक, चौतारास्थित कृष्णरत्नगंगा मावि। जिल्लाकै जेठो यस शैक्षिक संस्थाको भवन पुनर्निर्माण नहुँदा यस वर्ष पनि परीक्षार्थी टहरोमै एसइई दिँदैछन्। तस्बिर :  ध्रुव

सिन्धुपाल्चोक- बिहीबारबाट मुलुकभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। त्यसैले परीक्षालाई कसरी मर्यादित र व्यवस्थित बनाउने भनेर जिल्ला शिक्षा अधिकारीले चिन्ता लिनु स्वाभाविकै हो। तर, सिन्धुपाल्चोकका जिशिअलाई अर्कै पिरलो छ। परीक्षाको तयारी थाल्दादेखि नै पिरोलिइरहेका उनी कामना गरिरहेछन्– एसइई अवधिभर पानी नपरिदिए हुन्थ्यो।

भूकम्पपछि २२ महिनादेखि जस्ताको अस्थायी टहरोमा गुडुल्किँदै आएका सिन्धुपाल्चोकका परीक्षार्थी टहरोमै परीक्षा दिँदैछन्। 'पानी पर्‍यो भने बिजोग हुन्छ। जस्ता बजेर परीक्षाको वातावरण नै अशान्त हुन्छ', पिरलो सुनाउँदै परीक्षाको अघिल्लो दिन बिहीबार पनि जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले भने, 'झरी नबर्सियोस्।' परीक्षा बिहान सञ्चालन हुने भएकाले हावाहुरीले भने नबिथल्नेमा उनी ढुक्क छन्।

सिन्धुपाल्चोकका झन्डै ५ हजार परीक्षार्थी जस्ताको छानो र जस्ताले नै घेरिएका अस्थायी टहरामा एसइई परीक्षा दिँदैछन्।

जिल्लाका विद्यार्थीले अस्थायी टहरामै विद्यालय जीवनको महŒवपूर्ण परीक्षा दिन लागेको यो दोस्रो पल्ट हो। गत वर्ष पनि यहाँका विद्यार्थीले टहरोमै एसएलसी परीक्षा दिएका थिए। शिक्षा कार्यालयले एसइईका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ। डेढ दर्जन केन्द्र अस्थायी टहरामा छन्।

'टहरामा परीक्षा दिनु विद्यार्थीको बाध्यता हो,' जिशिअ घिमिरेले भने, 'टहरोमै भए पनि परीक्षा मर्यादित र व्यवस्थित बनाउने प्रयासमा छौं।' गएको वर्ष वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकका सबै ५ सय ४७ सामुदायिक विद्यालय ध्वस्त बनायो। लामो समय त्रिपाल र टेन्टमुनि सञ्चालित विद्यालय अझै अस्थायी टहरामै छन्।

बिहान–बेलुका अस्थायी टहरामै पढेर परीक्षार्थीले एसइई तयारी गरेका हुन्। भूकम्पले घर पनि ढालेकाले उनीहरू परिवारसँग टहरामै आश्रित छन्। घर र विद्यालय दुवै टहरामा भएकाले विद्यार्थीले सास्तीमात्र बेहोरे। जहाँ गए पनि उही नियति, घाम–पानी, गर्मी–जाडो। बर्खे भलबाढी टहरामा छिर्थ्यो, छानाबाट शीत चुहिन्थ्यो। किताब, कापी र पोसाक जोगाउन हम्मे पर्थ्यो उनीहरूलाई। परीक्षाको मुखमा टहरो उडाउला झैं गरी आउने हावाहुरी सामना गरी उनीहरूले तयारी गरेका थिए।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा यस वर्ष नियमिततर्फ प्राविधिक र सामान्य विषयका ४ हजार ५ सय ६२ परीक्षार्थीले एसइई दिँदैछन्। एक्जाम्टेडतर्फ २ सय ६ र ग्रेडवृद्धिका लागि १ सय ४६ ले परीक्षा दिँदैछन्। खुला, प्रौढ र गृहिणी विद्यालयबाट ४४ बाआमाले आफ्ना छोराछोरीसँगै परीक्षा दिँदैछन्।

परीक्षाका लागि केन्द्रमा पुगिसकेका उनीहरूले मुस्किलले स्थानीयको टहरोमा बास पाएका छन्।

भूकम्पबाट अति प्रभावित उपत्यकासहितका १४ जिल्लामै समान समस्या रहेको जिशिअ घिमिरे सुनाउँछन्। सिन्धुपाल्चोकसहित, रामेछाप, दोलखा, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुलीलगायत प्रभावित जिल्लामा धेरै शैक्षिक संस्थाका भवन ढलेकाले टहरोमै पठनपाठन हुँदै आएको छ। ती जिल्लाका परीक्षार्थी पनि टहरोमै एसइई दिँदै छन्। 'परीक्षाभर पानी नपरोस्, हावाहुन्डरी नचलोस् भन्ने चिन्ता त्यहाँको पनि हो,' घिमिरेले भने।

प्रकाशित: ३ चैत्र २०७३ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App