coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाठेघर खस्ने समस्या : ‘लाज’ले भोग्नु परेको पीडादायी जीवन

जिल्ला अस्पताल डोटीमा संचालित पाठेघर खसेका महिलाहरुको निशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि आराम गरिरहेका महिलाहरू ।  तस्बिर अरूण बम

डोटी – दिपायल सिलगढी नगरपालिकाको पागरीकी ६५ बर्षिया एक बृद्धाको ३० वर्षअघि तल्लो पेटमा पहिरो गएजस्तो भयो । भित्रैभित्र कटकटी दुख्न थाल्यो । शुरुशुरुमा असह्य पीडा हुन थाल्यो । श्रीमान भारतमा थिए । घरमा सासु–ससुरा मात्रै थिए । प्रजनन् सम्बन्धी समस्या भएकाले ‘लाज’को डरले कसैलाई समस्या सुनाउन सक्ने अवस्थामा थिइनन् उनी ।

राती भए कोठाभित्रै रोएर बस्थे,’ बिगत स्मरण गर्दै उनी भन्छिन्,‘लाजैले त्यो पीडा कसैलाई भन्न सकिन ।’

‘बोल्नै त लाख लाग्थ्यो,’ जिल्ला अस्पताल डोटीमा संचालित पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविरमा शल्यक्रिया गराउन पुगेकी उनले भनिन्,‘झन बच्चादानी(पाठेघर) सम्बन्धी समस्या सासु–ससुरालाई कसरी सुनाउनु भनेर च्यापेर बसे।’ 
त्यतिञ्जेल ५ जना छोराछोरी भैसकेका थिए । सबै स–साना नै थिए । उनीहरुले आमाको समस्या बुझ्न सक्दैनथे । उनी असह्य पीडा हुदा घरभन्दा निकै टाढा गएर कसैले नदेख्ने ठाउँमा रोएर बस्थिन् । ‘राती भए कोठाभित्रै रोएर बस्थे,’ बिगत स्मरण गर्दै उनी भन्छिन्,‘लाजैले त्यो पीडा कसैलाई भन्न सकिन ।’
उनको कार्यक्षमता पहिले भन्दा निकै घटेको थियो । जसले घरमा सासुबाट टोकेसो आइरहन्थ्यो । ‘कामै गर्न सक्दिनथे । तर, नगरेर पनि सुख थिएन् । पहिले भन्दा कम घाँस दाउराको भारी आउदा सासुको खप्की सहनुपरेको थियो,’ उनले थपिन् । 
समय घर्कदै गयो । उनको रोग पनि बढ्दै गयो । लाजैले भारतबाट श्रीमान घर आएका बेला पनि भन्न सकिनन् । सासु–ससुराको मृत्यू भयो । घर उनकै काँधमा आयो । तर उनीभित्रको लाज अझै हटेन् । पछिल्लो पाँच वर्ष उनका झन कष्टकर बने । खसेको पाठेघर बाहिरै पुग्यो । झन् सेतो पानी पनि बग्न थाल्यो । ‘लाजकै कारण मृत्युसम्मको पीडा दबाएर ३० बर्ष बसे,’ उनले भनिन्, ‘सेतो पानीको धब्बा बाहिर देखिन थालेपछि बुहारीले करै लगाएर सोधेपछि पोहोरसाल सबै कुरा भनेकी हुँ ।’ 
त्यसपछि बुहारीकै करकापमा उनलाई जिल्ला अस्पताल डोटीमा परिक्षण गरियो । जिल्ला अस्पतालका चिकित्सकले पाठेघर खसेको कुरा बताए । त्यसको शल्यक्रिया गर्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए । ‘बाहिर जान पैसा थिएन् । डाक्टरले नै यतै निशुुःल्क शिविर आउँछ भनेपछि पर्खेर बस्यौँ,’ ती वृद्धाको साथमा आएकी उनकी बुहारीले भनिन्,‘यसपटक शिविर आएपछि अप्रेशन गराएका छौँ ।’ 
यो त एक प्रतिनिधि घटना मात्रै हो । यहाँका महिलाहरूले ‘लाज’ कै कारण वर्षौदेखि पाठेघर खसेपछिको पीडा सहेर बसेका छन् । जसको प्रमाण सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा फागुनमा संचालन गरेको शल्यक्रिया शिविरमा प्रत्यक्ष देखिएको छ । 
शिविर अन्तर्गत फागुन २१देखि २७ गतेसम्म चलेको शिविरमा डोटीमा मात्रै १ सय १० जना महिलाको शल्यक्रिया गरिएको छ । जटिल समस्या देखिएका २५ जनालाई कोहलपुर आउन भनिएको छ । शल्यक्रियामा सहभागि अधिकांश महिलाले एक दशक भन्दा बढी लामो सयमदेखी पाठेघर खसेको समस्या भोगिरहेको पाईएको नेपालगंज मेडिकल कलेजका फिल्ड संयोजक राम बहादुर मल्लले बताए । ‘बढी महिलाहरू दशकभन्दा लामो समयदेखि पीडित रहेको पाईयो,’ उनले भने,‘जसमा ४० देखी ८५ वर्ष उमेर समूहका महिलाहरू शल्यक्रियामा सहभागि भएका छन् ।’ 


शल्यक्रियामा सहभागि सबैजसो महिलाहरूले लाजकै कारण अहिलेसम्म समस्या लुकाउँदै आएको प्रतिक्रिया दिएको शल्यक्रियामा संलग्न नेपालगंज मेडिकल कलेजकी डाक्टर सबिता मल्ले बताइन् । ‘सबैजसोको समस्या लामो समयमा देखिन्छ,’ उनले भनिन,‘प्रजननसम्बन्धी समस्या भएकैले सबैले हालसम्म लुकाएका रहेछन् ।’ अछाम र बाजुरा जिल्लामा पनि त्यस्तै तथ्यांक पाइएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
समस्या भयावह
पाठेघर खस्ने समस्या सुदूरपश्चिममा भयावह रुपमा रहेको स्वास्थ्यको अनुमान छ । जसका केही प्रमाणहरू समेत देखिदै आएका छन् । ‘यहाँका महिलाहरू काममा निकै व्यस्त रहन्छन्,’ क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशिलनाथ प्याकुरेल भन्छन्, ‘गर्भवती, सुत्केरी, महिनावारी भएकै बेला पनि गहु्रँगो काम गर्ने तर, सोही अनुसारको पोषणयूक्त खानपान पुर्याउन नसक्ने भएकाले अत्याधिक मात्रामा पाठेघर खस्ने समस्या छ ।’ 
यसबाहेक कम उमेरमै विवाह र त्यसपछिको गर्भधारण असुरक्षित व्यवहार लगायतका कारण पनि यो समस्या व्यापक रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक हरिश शाह बताउँछन् । उनी भन्छन्,‘कम उमेरको विवाह र गर्भधारण, जोखिमको समयमा सुरक्षित व्यवहार र पोषणयुक्त खानेकुरामा ध्यान दिनसके ८०देखी ९० प्रतिशत  समस्या हट्छ ।’


यसरी बाक्लो रुपमा पाठेघर खस्ने समस्या रहेपनि लाजकै कारण बिरामी भने अझै खुलेर आउन सकेका छैनन् । ‘डोटीमा त केही शल्यक्रियामा महिला आए । तर, अछाम र बाजुरामा निकै कम मात्रामा आउनुभयो,’ डा. मल्ले भनिन्,‘यसको अर्थ डोटीमा बढी र अछाम/बाजुरामा कम भन्ने हुँदै होइन् । त्यहाँ पनि अवस्था बिकराल नै छ । लाजकै कारण त्यहाँका महिला नआएका हुन् ।’ फागुनमै चलेको निशुल्क शल्यक्रिया शिविरमा बाजुरामा ३२ जना र अछाममा ४२ जनाको सफल शल्यक्रिया गरिएको थियो । 
केही अभियान उपयोगी
नेपाल परिवार नियोजन संघ डोटी शाखाले पछिल्ला केही वर्षयता पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम संचालन गरिरहेको छ । सोही कार्यक्रमलाई साविकका केही गाविसहरूको सहयोगमा गाउँगाउँमा शिविर चलाइएको थियो । जसमा परिक्षण गर्दा पाठेघर खसेको महिलाको पहिचान हुन्छ । ‘समस्या देखिएका महिलाहरुलाई सल्लाह सुझाव दिएर शल्यक्रिया गर्न सुझाउने गरेका छौँ,’ नेपाल परिवार नियोजन संघ डोटी शाखाका प्रबन्धक चेतराज फुलारा भन्छन्,‘लाजले समस्या लुकाईरहेका ती महिलाहरुलाई हाम्रो कार्यक्रमले समस्याबाट मुक्त हुन प्रेरणाका काम गरेको छ ।’ 
सोही परिक्षणमा रोग पत्ता लागेका अधिकांश महिलाहरूले अहिलेको शल्यक्रिया शिविरमा शल्यक्रिया गराएका छन् । जसले डोटीमा अपेक्षा भन्दा बढी  महिलाले शिविरबाट सेवा लिएका छन् । ‘तयारी गर्दा डोटीमा ४० जना सम्म महिला आउन सक्छन भन्ने अनुमान थियो,’ फिल्ड संयोजक मल्लले भने,‘तर, यहाँ त अपेक्षा भन्दा तेब्बर बढीको संख्यामा बिरामीहरू दर्ता हुन आए ।’ यसकै कारण शिविर एक दिन लम्बिएको थियो । 

प्रकाशित: २ चैत्र २०७३ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App