काठमाडौं— सोमबार साँझ सामाजिक सञ्जालमा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेललाई ताम्रपत्रसहित अभिनन्दन गरेको तस्विर चर्चित बन्यो। रामेछापमा नयाँ शक्ति, विप्लब र वैद्य माओवादीले अभिनन्दन गरेकाे सो तस्विर पोष्ट गर्दै सर्वसाधारणले कानुनी राज्यको माग गरे।
‘फागुन ८ गते ओखलढुंगाको गाम्नाङ भन्ने ठाउँमा स्थानीय रामप्रसाद भट्टराईको घरमा सप्ताह पुराण थियो। म पुराणमा गएको थिएँ। हिँड्ने बेलामा बालकृष्ण ढुंगेल आइपुगे त्यो फोटो त्यहीँ खिचिएको हो। म जिल्लातिर भएका बेला त्यही फोटो भाइरल बनाएछन्’
सामाजिक सञ्जालमा ज्यान मुद्दाका दोषी ढुंगेललाई कानुनी कारवाहीको माग भइरहँदा ओखलढुंगाका सांसद रामहरि खतिवडा उनीसँगै माला लगाएर प्रशन्न मुद्रामा बसेको अर्को तस्विर भाइरल भयो। कतिपयले उनलाई ढुंगेलसँगै सम्मानित भएको भनेर गाली गर्न पनि भ्याए।
सांसद खतिवडाले भने सो तस्विर करिब एक महिना पहिलाको भएको र अाफू ढुंगेलसँगै अभिनन्दित नभएको बताएका छन्।
‘फागुन ८ गते ओखलढुंगाको गाम्नाङ भन्ने ठाउँमा स्थानीय रामप्रसाद भट्टराईको घरमा सप्ताह पुराण थियो। म पुराणमा गएको थिएँ। हिँड्ने बेलामा बालकृष्ण ढुंगेल आइपुगे त्यो फोटो त्यहीँ खिचिएको हो। म जिल्लातिर भएका बेला त्यही फोटो भाइरल बनाएछन्।’
सांसद खतिवडा र हत्यामा दोषी ढुंगेलको राजनीतिक आधार क्षेत्र ओखलढुंगा क्षेत्र नम्बर २ हो। ‘पुराणमा बोलाएपछि कसरी नजानु, फेरि त्यहाँ ऊ आउँदैछ भन्ने मलाई पूर्वजानकारी थिएन’, खतिवडाले नागरिकन्युजसँग भने, ‘उसलाई देख्ने बित्तिकै भाग्ने कुरा पनि भएन। त्यो संयोगमा भेट हुन पुगेको हो।' पूर्व योजनाअनुसार ढुंगेलसँग भेट नगरेको दाबी गर्दै सांसद खतिवडाले भने, 'सर्वोच्चले हत्यामा दोषी ठहर गरेर सजाय सुनाएको व्यक्तिलाई राज्यले कारवाही गर्नुपर्छ।’
ढुंगेलले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सर्वोच्चको फैसलालाई आधार देखाउँदै प्रहरीले पक्राउ गर्न खोजेको भन्दै गुनासो गरेका थिए। आफूले माओवादी ‘जनयुद्धकाल’ मा पार्टीको नीतिअनुसार काम गरेको अवस्थामा मुद्दा लागेकाले सरकारले फिर्ता लिनुपर्ने उनले माग गरेका थिए। तर सर्वोच्चले मु्द्दा फिर्ता लिन नमिल्ने भनेकाले तत्काल उक्त सम्भावना नभएको भन्दै प्रधानमन्त्रीले सम्झाएर पठाएका थिए।
‘ढुंगेलले प्रधानमन्त्रीसँग भेटघाट गरेको फोटो पनि मिडियाबाट सार्वजनिक हुनुपर्यो। म त संयोगबस त्यहाँ पुगेको मात्रै हो।’ अाफ्नो चरित्र हत्या उद्देश्यले फोटो भाइरल बनाइएको उनले बताए।
सर्वोच्च अदालतअन्तर्गत रहेको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्तिहत्या अभियोग ठहर भएका माओवादी नेता ढुंगेललाई पक्राउ गर्न माघ २७ गते मात्रै पुनः ताकेता गरेको थियो। निर्देशनालयले गृह मन्त्रालय र मातहत निकायलाई दोस्रोपटक पत्र लेखेको हो।
ओखलढुंगाका ब्यापारी उज्वन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रशासनले ‘फरार’ भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा देख्दै आएको भन्दै फैसला कार्यान्वयन किन नभएको भनी प्रश्न सोधेको थियो।
निर्देशनालयले कार्यान्वयनमा ढिलाइ गरे धारा १२८ अनुसार अदालतको अवहेलना प्रक्रियामा जान सक्ने चेतावनीसमेत दिएको थियो। निर्देशनालयको २०७३ पुस ७ गते चलानी नम्बर ३८७ रहेको पत्रको जवाफ पुस १३ गते दिँदै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गर्ने प्रयास भइरहेको र देशभरका प्रहरी इकाइमा पत्राचार गरेको जानकारी दिएको थियो। त्यसबाट असन्तुष्ट हुँदै निर्देशनालयले अदालतबाट फैसला भई रहने तर अनेक बहानामा त्यसको कार्यान्वयन नहुने हो भने अदालतको उपस्थिति र न्यायिक प्रक्रियाको औचित्य नहुने भनेको छ।
‘व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक हैसियतका आधारमा र शक्तिको आडमा फैसला कार्यान्वयन नहुने हो भने राज्यले नै नागरिकबीच भेदभाव कायम गर्ने देखिन्छ’, निर्देशनालयको पत्रमा भनिएको छ।
तत्कालीन विद्रोही नेकपा माओवादी कार्यकर्ता पुष्कर गौतम र ढुंगेललगायत नौ जनाको समूहले २०५५ असार १० गते ओखलढुंगा, तारकेराबारीका उज्वन श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो। व्यक्तिगत रिसका आधारमा श्रेष्ठलाई सुराकी गरेको अभियोगमा उनीहरूले हत्या गरेका थिए।
स्थानीय व्यापारी श्रेष्ठलाई माओवादीको सुराकी गरेको आरोपमा मारिएको थियो। पसलका लागि सामान लिन ओखलढुंगाबाट दुई भरियासँगै रामेछाप हिँडिरहेका बेला उनीमाथि गोली चलाइएको थियो। लिखु खोलाछेउइप् घेरा हालेर उनको हत्या गरी शव खोलामा बगाइएको थियो।
प्रकाशित: २ चैत्र २०७३ ०६:०९ बुधबार