७ वैशाख २०८१ शुक्रबार
कला

एकीकृत बस्ती बनाउने नायिका श्वेताकाे घाेषणा

काठमाडौं, चैत १ (नागरिक)– अभिनेत्री श्वेता खड्काले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् । 

सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फाउण्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरिएको थियो । कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन् ।

‘दादा (स्व.श्रीकृष्ण श्रेष्ठ) लाई माया गर्ने धेरै फ्यानहरु भेट्थेँ । उहाँहरुले दाइका लागि केही गर्नुस् भनेर हौसला दिइराख्नु हुन्थ्यो । उहाँहरुकै हौसलाले म फाउन्डेसन खोल्न तत्पर भएकी हुँ,’ श्वेताले भनिन् । 

उनले राहत बाँड्ने क्रममा माझीबस्ती पुग्दा उनीहरुको अवस्था दयनीय देखेपछि सोही माझी गाउँबाट सहयोगको पाइला चाल्न लागेको बताइन् । ‘दादाकै जिल्लामा पर्ने भूकम्प प्रभावित माझी गाउँमा पनि म गएकी थिएँ । उहाँहरुले एकदमै माया देखाउनु भयो । तर, उहाँहरुको अवस्था देख्दा मेरो मन थामिएन,’ उनले भनिन्, ‘मैले त्यतिबेलै बस्ती बनाउने वचन दिएकी थिएँ । अब चाँडै नै काम सुरु गर्छौँ ।’ 

श्वेताश्री फाउन्डेसनले सिन्धुपाल्चोकमा रहेको भूकम्प प्रभावित माझी बस्तीसहित क्यान्सर पीडितका लागि पनि काम गर्ने श्वेताले बताइन् । माझी बस्तीमा ६२ घर धुरी छन् । 

प्रकाशित: २ चैत्र २०७३ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App