coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोविन्द गौतमलार्इ गाेली हान्ने भारतीयलार्इ कारवाही हाेस्ः अाफन्त

पुनर्वास (कञ्चनपुर)– नेपाली भूमिमा आएर निहत्था गोविन्द गौतमलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग आफन्तले गरेका छन् ।

‘निहत्था मेरो श्रीमान्लाई गोली हानेर हत्या गर्नेलाई कारबाही भएमात्र उहाँको आत्माले शान्ति पाउनेछ र मेरो मन पनि शान्त हुनेछ’, किरियामा बसेकी सहिद गोविन्द गौतमकी पत्नी सुशीला गौतमले भेट गर्न गएका संवाददातालाई भनिन्, ‘पैसा ठूलो कुरा होइन, दोषीलाई कारबाही भएमात्र सन्तुष्टि मिल्छ ।’
आफ्ना श्रीमान्लाई गोली हानेर हत्या गर्नेलाई फाँसी दिइनुपर्ने उनले बताइन् ।

गोविन्दकी आमा हरिदेवी गौतमले छोराको मूल्य १० लाख नहुने बताइन् । मजदुरी गरेर, भोको पेट बसेर पालेको छोरा हत्या गर्नेलाई कारबाही हुनुपर्ने उनको माग छ । ‘मेरो छोराको मूल्य १० लाख कसरी हुन सक्छ ? हत्यारालाई कारबाही नभएसम्म चित्त बुझाउन सकिँदैन’, उनले भनिन् । घरमै आएर सबैलाई मारिदिन्छन् कि भनेर डर लाग्ने गरेको उनले बताइन् ।

छोराको हत्या गर्नेलाई कारबाही नभएसम्म सुरक्षित महसुस गर्न नसकिने उनीहरू बताउँछन् ।
‘घरमै आएर सबै मारिदिन्छन् भनेर त्रसित भएका छौं’, बुवा खिमलाल गौतमले भने, ‘दोषीलाई कारबाही नभएसम्म हामी सुरक्षित महसुस गर्न सक्दैनौं ।’

नेपाली भूमिमै आएर निहत्था नागरिकको हत्या गरेको भारत सरकारले माफी माग्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । भारत सरकारले माफी नमागेसम्म उनीहरूबाट अझ घटना दोहोरिन सक्ने भएकाले सबै त्रसित भएको उनीहरू बताउँछन् । ‘नेपाली भूमिमै आएर निहत्था नागरिकलाई मार्ने भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिनुपर्छ’, स्थानीय शेरबहादुर विकले भने, ‘घटनापछि हामी सबै त्रसित भएका छौं ।’

एसएसबीले पटकपटक ज्यादती गरे पनि नेपाल सरकारले सुरक्षामा ध्यान नदिएको स्थानीयको गुनासो छ ।

सुरक्षा पोस्ट राख्न माग

घटनापछि त्रसित स्थानीयले आनन्द बजारमा सशस्त्र प्रहरी पोस्ट स्थापना गर्न माग राखेका छन् । ‘एसएसबीले जति बेला जे पनि गर्न सक्छ, हामी त्रसित छौं’, स्थानीय कालीबहादुर शाहीले भने, ‘आनन्द बजारमा सुरक्षा पोस्ट हुनुपर्छ ।’ यसअघि पनि एसएसबी युनिफर्ममा हतियारसहित आनन्द बजारमा आउने, कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् । ‘अहिले त्रासको सीमा छैन’, स्थानीय शान्ता पौडेलले भनिन् । गोविन्दको हत्या भएको भोलिपल्ट घाँस काट्न गएका चार महिलालाई सीमामा दुव्र्यवहार गरेको उनले बताइन् । गोविन्दको हत्यापछि पूरै सुकम्बासी टोल शोकमा डुबेको छ । ‘सुकम्बासी टोली पूरै त्रसित भएको छ’, विकले भने । गोविन्दको घर भएको सुकम्बासी टोलमा ३५ परिवार छन् ।

नाकामा ओहोरदोहोर बन्द

सीमामा तनाव हुन नदिन आनन्दबजारमा नाकामा दुवै देशका नागरिकको ओहोरदोहोर बन्द गरिएको छ । दुवै देशका सुरक्षा अधिकारीबीच भएको सहमतिअनुसार अवस्था सहज नभएसम्म नाकामा आहोरदोहोर गर्न रोक लगाइएको हो । कञ्चनपुरका प्रमुृख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले अवस्था सहज नभएसम्म ओहोरदोहोर बन्द गरिएको बताए । एसएसबीका ४९ नम्बर बटालियनका कमान्डर दिलवाग सिंहले भारततर्फ पनि  ओहोरदोहोर बन्द गरिएको बताए । दुवै देशका सुरक्षा अधिकारी बसेर अवस्था सहज नहुन्जेलसम्म ओहोरदोहोरमा रोक लगाउने सहमति भएको उनले बताए । 
सीमा छुट्याउन माग

पिल्लर नम्बर २०० हराएकाले भारतले नेपाली भूमिलाई आफ्नो भनेर मिच्न खाजेको भन्दै स्थानीयले सीमास्तम्भ बनाउन सरकारसँग माग गरेका छन् । ‘सीमा स्पष्ट गरेर पिल्लर राखिनुप¥यो’, स्थानीय मानबहादुर सुनारले भने, ‘सीमा विवाद नटुंगिन्जेलसम्म समस्या समाधान हुन सक्दैन ।’ भारतले सीमा मिच्दै लगेको स्थानीय बताउँछन् । गाईगोरु चराएको आफ्नो भूमिमा अहिले भारतले मिचिसकेकको स्थानीय वृद्ध भीमबहादुर शाहीले बताए । २०१ पिल्लर पनि सारेर यता गाडेको उनी बताउँछन् । ‘कल्भर्टभन्दा पाँच सय मिटर परसम्म हाम्रो भूमि थियो । मैले गाईगोरु चराएको हुँ’, उनले भने, ‘अहिले सीमा मिचेर वर पु¥याएको हुँ ।’ सरकारलाई सीमा मिचिएको र पिल्लर सारेको जानकारी गराए पनि नेपालका तर्फका कर्मचारीले पलियामा गएर गलत सम्झौता गर्ने गरेको स्थानीय बताउँछन् । भारत पक्षले कल्भर्ट भएको क्षेत्र दसगजामा रहेको दाबी गरेको छ । दुई देशको संयुक्त टोलीले सीमा विवाद छिटो टुंग्याउनुपर्ने ४९ नम्बर एसएसबी बटालियनका कमान्डर दिलवाग सिंह बताउँछन् ।

एसएसबीले कल्भर्ट भत्काउँदा घटना

पुनर्वास नगरपालिका–८ आनन्दबजार  नजिक २०० नम्बर पिल्लर हराएकाले  विवादित रहेको सीमामा दुवै देशका सुरक्षा अधिकारीको सहमतिमा कल्भर्ट निर्माण भएको थियो । फागनु ९ र १० गते कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी, लख्खिमपुरका एसडिएमलगायतका सुरक्षा अधिकारी र स्थानीय नेता सहभागी बैठकमा कच्ची कल्भर्ट बनाउन दिने सहमति भएको थियो । सहमतिअनुसार ३ ह्युमपाइपमाथि माटो राखेर कल्भर्ट बनाइएको थियो । एसएसबीले गत बुधबार कल्भर्ट भत्काएपछि विवाद भएको थियो ।

नेपालतर्फका बासिन्दा ओहोरदोहोर गरिरहने सीमाबाट करिब डेढ किलोमिटर दुरीमा रहेको सीमावर्ती भारतीय बजार बसहीमा जाने आनन्दनगर नजिकैको खोलामा कल्भर्ट बनाउन पुनर्वास नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सर्वदलीय सहमतिका आधारमा कल्भर्ट निर्माण गर्न बजेट विनियोजन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए । दुवै देशका सुरक्षा अधिकारी बसेर दुई साताअघि कच्ची कल्भर्ट बनाउने सहमति भएको कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले बताए । ‘हामी दुवै देशका काउन्टर पार्टको बैठक वसेर कच्ची कल्भर्ट बनाउने सहमति भएको थियो’, उनले भने ।

सुरक्षा अधिकारीको बैठकमा सहभागी एसएसबीका कमान्डर दिलबाग सिंहले पनि कच्ची कल्भर्ट बनाउन दिने सहमति भएको स्विकारे । ‘कच्ची कल्भर्ट बनाउने सहमति भएपनि इँटा राखेकाले एसएसबीले भत्काएको हो’, उनले भने ।

ढुंगामुढाले लडे स्थानीय

कल्भर्ट भत्काउने, आनन्दबजारका पसल तोडफोडलगायतका ज्यादती गरेपछि हतियारधारी एसएसबीसँग स्थानीय महिलापुरुष प्रतिकारमा उत्रेका थिए । आनन्दबजार नजिक सीमामा कल्भर्ट निर्माण विवादलाई लिएर भारतीय प्रहरीले हानेको गोली लागेर बिहीबार    गोविन्द गौतमको ज्यान गएको थियो ।

 

प्रकाशित: २ चैत्र २०७३ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App