७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो’

काठमाडौं– मेलम्ची खानेपानी विकास समिति बोर्ड अध्यक्ष तथा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो भएको बताएका छन् । 

वातावरण संरक्षण समितिले मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले वातावरण प्रदूषण भएको र निर्माण कार्य छिाटोे सक्न निर्देशन दिएपछि उनले समितिमै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मन्त्री र सांसदका पनि ठेकेदार छन् । ती सरकारभन्दा पनि शक्तिशाली छन’, उनले समितिमा मंगलबार अयोजित छलफल कार्यक्रममा भने ।

उपाध्यायले दबावको अवस्थामा पनि छवटै ठेकेदारलाई सक्रिय बनाउन सफल भएको जवबफ दिए । ‘ती ठेकेदारलाई कारबाही गरेर ठेक्का रद्द गर्न पनि सकिन्छ । तर निर्माण कार्य लगभग सम्पन्न हुन लागेको बेलामा उनीहरूलाई फकाउनुको विकल्प छैन’, उनले भने, ‘हाम्रो टिमले रातदिन काम गरिरहेको छ । यसमा सबैको सहयोग अपेक्षा गरेको छु ।’

उनले आयोजनाका कारणले मात्र प्रदूषण नबढेको दाबी पनि गरे । ‘हामीले ५०÷६० किलोमिटर सडकमा त्यो पनि तीन चौडाइ खनेका छौं । के यतिले मात्र उपत्यकामा धुलो उडेको होला त’, उपाध्यायले भने, ‘समग्रमा हामीले गरेको प्रदूषणको हिस्सा १० देखि १५ प्रतिशत मात्र छ ।’ उनले अत्यधिक सवारी साधन गुड्ने भएकाले धुलो र धुवाँको प्रदूषण बढेको जिकिर गरे । 

उपाध्यायले प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न निकाय स्थापना गर्न सुझाव पनि दिए । ‘जसले प्राधिरकण, सडक, मेलम्ची सबैसँग समन्वय गरेर काम गर्न सक्छ’, उनले भने ।  उनले वार्षिक दुई लाख गाडी थपिने सहरलाई प्रदूषणमुक्त बनाउने काम चुनौतीपूर्ण रहेको बताए । 

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले मेलम्चीको ४.४ किलोमिटर सुरुङ निर्माण कार्य बा“की भएको जानकारी दिए । ‘जेठ महिनाभित्र ९५ प्रतिशतभन्दा बढी पाइप लाइनको काम सकिन्छ । धुलो नउडोस् भनेर अस्थायी रुपले हल्का कालोपत्रे गरिरहेका छौं । सडकलाई पहिलेकै अवस्थामा लैजान खनेदेखि एक महिनासम्म लाग्न सक्छ’, उनले भने । 

सांसद वीरबहादुर बलायरले मानवस्रोत थपेर भए पनि निर्माण अवधि छोट्याउन आग्रह गरेका थिए । अर्का सांसद गणेशप्रसाद बिमलीले धुलो र धुवाँले सर्वसाधारणलाई सताइरहेकाले रोक्ने उपाय गर्न सुझाए । ‘यो काठमाडौंमा साना मान्छे कोही पनि छैनन् । देउता पनि ठूला, नेता पनि ठूला, व्यापारी पनि ठूला तर मर्ने कारण भने धुवाँ र धुलो कस्तो विडम्बना ?’, उनले भने । 

समितीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा सडक भत्काई पाइप बिच्छ्याउँदा निस्किएको धुलाले मानव स्वास्थ्यमा गम्भीर असर पारेको उल्लेख गर्दै तत्काल पानी र अलकत्राको झोल छर्कन निर्देशन दिएको छ ।

चाँडोभन्दा चा“डो कालोपत्रे गरी स्थायी समाधान र प्रभावकारी अनुगमन गर्न समितिले आयोजनालाई निर्देशन दिएको छ । 
 
 

 

प्रकाशित: २ चैत्र २०७३ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App