coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनावअघि नै संशोधन टुंग्याउनुपर्ने कांग्रेसकाे ठहर

काठमाडौं– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनलाई एकैसाथ अघि बढाउनुपर्ने ठहर गरेको छ । 

पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा मंगलबार बिहान बसेको पदाधिकारी र प्रभावशाली नेताहरूको बैठकले तराई÷मधेसको समस्या समाधान गर्न संशोधन प्रस्तावलाई तत्काल अघि बढाउने निष्कर्ष निकालेको हो । निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित गराउन पनि संशोधन आवश्यक रहेको उसको ठहर छ । 

कांग्रेस केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले संशोधन प्रस्ताव निर्वाचनसँग जोडिएको बताउँदै दुबैलाई एकैसाथ अघि बढाउने सहमति भएको जानकारी दिए । ‘संशोधनले मात्र सबै पक्षको निर्वाचनमा सहभागिता सुनिश्चित गर्छ,’ मन्सुरले भने, ‘प्रस्तावलाई पारित गराउन कांग्रेसले इमानदारीपूर्व प्रयास गर्छ ।’
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका पक्षलाई मूलधारमा ल्याउन  संशोधन सबैभन्दा सजिलो उपाय भएको निष्कर्षसहित कांग्रेसले प्रस्ताव पक्षमा सहमति जुटाउन सरकारभित्र र बाहिर रहेका दलसँग पहल गर्ने भएको छ । 

केन्द्रीय सदस्य रामकृष्ण यादवले संशोधन प्रस्ताव अघि बढाउन पार्टीले सरकारमा सहभागी र बाहिर रहेका दलसँग पनि प्रयास गर्ने जानकारी दिए । ‘संशोधन प्रस्ताव पारित गराउन पार्टीले सक्रियतापूर्वक र दृढताका साथ सरकारमा रहेका र बाहिर रहेका दलसँग पहल गर्ने छ,’ यादवले भने, ‘सहमतिका लागि संशोधन प्रस्तावमा परिर्माजन पनि गरेर जान सकिन्छ ।’

संशोधन प्रस्ताव पास वा फेल जे भए पनि स्थानीय निर्वाचनअघि नै टुंगो लगाएर जाने निष्कर्ष बैठकले निकालेको छ । ‘पास हुँदैन कि भनेर संसद्मा संशोधन प्रस्तावमाथि मतदान थाती राख्नु हुँदैन,’ केन्द्रीय सदस्य किरण यादवले भनिन्, ‘इमानदारीपूर्वक लागेर मतदानमा प्रवेश गराउनुपर्छ, चुनाव मात्र भन्नुभन्दा यसको वातावरण बनाउन लाग्नुपर्छ ।’

कांग्रेसले संशोधन प्रस्ताव तत्काल अघि बढाउन पहल गर्ने निष्कर्ष निकालेको छ । संशोधन प्रस्ताव संसद्मा निर्णयार्थ पेस हुने बेलासम्म प्रमुख प्रतिपक्षी एमालेसमेत पक्षमा उभिने दाबी गर्दै कांग्रेस नेताले निर्वाचन र संशोधनको वातावरण बनाउनकै लागि राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापासहितका नेतालाई सरकारमा थप गरेको दाबी गरेका थिए । 
उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थापाले संशोधन प्रस्ताव अघि बढाए सरकारबाट बाहिरिने धारणा राखेका प्रति सदस्यहरूले चासो राखेका थिए ।  

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा नै सरकार विस्तार भइरहेको जानकारी गराउँदै सभापति शेरबहादुर देउवाले छिट्टै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि सहभागी गराउने तयारी भइरहेको सुनाएका थिए । ‘विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई छिट्टै सरकारमा सहभागी गराउने सैद्धान्तिक सहमति भएको छ,’ नेता मन्सुरले भने, ‘केही टेक्निकल कुरा मिलाउन बाँकी छ । प्रधानमन्त्रीले त्यसलाई मिलाउँदै हुनुहुन्छ होला ।’

संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा सहभागी नहुने मधेसी मोर्चाको धारणा पनि ठीक नभए ठहर बैठकले गरेको छ । ‘संसदीय व्यवस्थामा कुनै प्रस्ताव पास वा फेलको ग्यारेन्टी गरेर कसैले पनि तमसुक गरेको हुँदैन,’ केन्द्रीय सदस्य  मन्सुरले भने, ‘सरकार गठन हुँदा नै संविधानप्रति असन्तुष्ट पक्षलाई मूलधारमा ल्याएर निर्वाचन गराउन यो गठबन्धनले  मुख्य लक्ष्य राखेको हो ।’

तर, तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा प्रस्ताव पारित नभई निर्वाचनमा सहभागी हुन नसक्ने बताएका थिए । ‘निर्वाचनमा सहभागी हुन संशोधन बटमलाइन हो,’ देउवासँगको भेटमा ठाकुरले भनेका थिए, ‘स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन डिफ्याक्ट छ । त्यसमा सुधार (संख्या थप ) गर्नुपर्छ ।’

देउवाले सरकारलाई दिएको समर्थन र्फिता लिने कुराले बन्दै गएको वातावरण बिग्रने बताउँदै गठबन्धनलाई कायमै राख्नु पर्ने धारणा महन्थसँग राखेका थिए । देउवाले पार्टी बैठकमा पनि गठबन्धनलाई कायमै राख्दै अरुलाई पनि थप गर्ने प्रयास भइरहेको जानकारी गराएका थिए ।  
बैठकपछि सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय चुनाव र संविधान संशोधन दुबै गराउने पक्षमा रहेको बताए । संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ पुग्ने दाबी गर्दै उनले भने, ‘हेर्नुस् न पुगिहाल्छ नि ।’ 
केन्द्रीय समिति बैठक १० गते

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चैत १० गते बस्ने भएको छ । मुलुकको विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले स्थानीय निर्वाचन मिति घोषणा गरेपछि पार्टीको रणनीति बनाउन बैठक बस्न लागेको हो । 

कात्तिक ९ पछि केन्द्रीय समिति बैठक नराखेको भन्दै पार्टीनेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको आलोचना गर्दै आएका छन् । पौडेलले फागुन १४ गते सभापतिलाई पत्र लेख्दै महिनांैदेखि केन्द्रीय समिति बैठक नबस्दा नीतिगत विषयमा विधिवत छलफल हुन नसकेको जनाउँदै बैठक राख्न आग्रह गरेका थिए । 

 

प्रकाशित: २ चैत्र २०७३ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App