८ वैशाख २०८१ शनिबार
राजनीति

गृहले माग्यो निर्वाचन आयोगसँग ९ हजार प्रहरीको सरुवा सहमती

काठमाडौं– गृह मन्त्रालयले करिब नौ हजार  प्रहरी अधिकारीको काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ । गृहले प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी ९ हजार प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि सहमती मागेको हो। निमित्त प्रहरी महानिरीक्षक दिनेशचन्द्र पोखरेलले हस्ताक्षर गरेर सरुवा र काज सरुवाका लागि सहमती दिन गृह मार्फत आयोगलाई पत्र लेखेका हुन्।

स्रोतका अनुसार नेपाल प्रहरीका ६४ एसपी, ११० डिएसपी, ३५० इन्स्पेक्टर, ३४० सइ, ६१० असइ, १०५३ हवल्दार, ३८६८ जवान गरी जम्मा ६३८५ जनाको सरुवाको लागि गृह मन्त्रालयले निर्वाचन आयोगसंग सहमति माग गरेको छ। यस्तै नेपाल प्रहरीकै १० एसएसपी, १० एसपी, २० डिएसपी, ६४ इन्स्पेक्टर, २६७ सइ, ४२६ असइ, ७२४ हवल्दार, ११६६ जवान गरी जम्मा २६८७ जनाको काज सरुवाको लागि आयोगसँग सहमती माग गरेको छ।

गृहस्रोतका अनुसार एसपी प्रमुख रहने जिल्लाअन्तर्गत जिल्ला प्रहरी कार्यालय उदयपुर, नवलपरासी, बारा, महोत्तरी, सुनसरी, कास्की, मोरङ, बाँके, नुवाकोट, धादिङ, इलाम, पाल्पा, स्याङ्जा, सिन्धुली, गोरखा, गुल्मी, डोटी र डिएसपी प्रमुख रहने कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, प्युठान, मुस्ताङ, सोलुखुम्बु, अछाम, तेह्रथुम, रोल्पा, संखुवासभा, सल्यान, म्याग्दी र अर्घाखाचीका लागि सहमती मागिएको हो।

यस्तै महानगरीय प्रहरी कार्यालयअन्तर्गत महानगरीय प्रहरी वृत कीर्तिपुर, जगाती, दरवारमार्ग, नयाँ बानेश्वर, गौशाला, चापागाउँ, बौद्ध, लैनचौर र स्वयम्भूमा कार्यरत प्रहरी अधिकारी फेरबदलका लागि समेत प्रहरी प्रधान कार्यालयले गृह हुदै आयोगसँग सहमती मागेको हो। स्रोतका अनुसार इलाका प्रहरी कार्यालय दमक, राजापुर बर्दिया, धरान, बर्दिबास र लहानको प्रमुख फेरबदलका लागि समेत सहमती माग भएको हो।

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले निर्वाचन आचारसंहिता लागू भएको र सरुवा प्रक्रिया प्रभावित भएको अवस्थामा प्रहरी प्रधान कार्यालयले गृहमा काज सरुवाका लागि पत्र लेखेको बताए। उनले संख्या यकिन नभए पनि केही ठूलो संख्यामा तल्लो तहका प्रहरी अधिकारीको काज सरुवाका लागि सहमती माग भएको बताए।

प्रहरी स्रोतका अनुसार तालिममा रहेका प्रहरी अधिकारीलाई समेत निर्वाचन अवधिभर क्षेत्रमा खटाउनुपर्ने भएका कारण यति ठूलो संख्यामा सरुवा र काज सरुवा माग भएको हो।  

प्रकाशित: १ चैत्र २०७३ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App