७ वैशाख २०८१ शुक्रबार
समाज

घाउको उपचार गर्न चार वर्षपछि अस्पताल

चार वर्षपछि घाउको उपचारमा अस्पताल पुगेकी गर्भवती सबिना राई। तस्बिरः फेसबुक

खोटाङ – खुट्टाको घाउले थलिएको चार वर्षपछि खोटाङको बाक्सिला–८ चोखुमकी २८ वर्षीया सबिना राई अस्पताल पुगेकी छन् । देब्रे खुट्टाको पैतालामा आएको घाउले थलिएको लामो समयसम्म ओछ्यानमै थलिएकी सबिनालाई आफन्त तथा शुभेच्छुकको सहयोगमा अस्पताल लगिएको हो । 

आर्थिक अभावमा सुबिधा सम्पन्न अस्पताल गएर उपचार गराउन नसक्दा पीडा सहँदै बसिरहेकी राईलाई दुई हप्ता अघि मात्र उपचारकालागि काठमाडौँ लगिएको हो । सबिनाको पीडादायी अवस्था देखेर देश बिदेशमा रहेका शुभेच्छुकले दिएको रकमले घाउको उपचारका लागि सबिनालाई वीर अस्पताल पु¥याइएको उनका श्रीमान् धनकुमार राईले बताए ।

उनलाई उपचारका लागि फागुन १९ गते गाडीमार्फत राजधानी काठमाडौँ पु¥याइएको हो । दुई–दुई पल्ट रुखबाट लडेर अपांगजस्तै बनेकी सबिना हाल ८ महिनाकी गर्भवती छन् । दम्को गएको निहुबाट उनको पाईतालामा निस्किएको पाकिरहने घाउले ठूलो प्वाल नै परिसकेको छ । घाउका कारण सबिनाको देब्रे खुट्टा सुन्निएको छ । डरलाग्दो घाउका कारण उनी हिँडडुल नै गर्न सक्दिनन् । हिँड्न खोज्दा घाउबाट रगत बग्छ । घाउ निको हुनुको सट्टा झन् बल्झँदै गएको छ । दुखीरहने घाउको पीडा सहेर बसिरकेही छन् सबिना । चार वर्षअघि दम्को गएजस्तो गरी सुरु भएको घाउको आर्थिक अभावका कारण हालसम्म उपचार गर्न नसकिएको श्रीमान बताउँछन् । 

६ वर्षअघि अघि र २ वर्षअघि रुखबाट दुई पटक लडेकी सबिनाको शरीर हाल अर्धअपांगजस्तो बनेको छ । वीर अस्पतालमा ९ दिन बसेर बाहिरिएकी सबिनाको खुट्टाको शल्यक्रिया गर्ने तयारी गरिएको छ । ‘डाक्टरले बीस÷बाईस दिनपछि अप्रेशन गर्नुपर्छ भनेको छ,’ सबिनाले भनिन्, ‘उपचार गर्दा घाउ निको हुन्छ रे ।’ सबिना यही महिना अर्को सन्तान जन्माउँदैछिन् । 

चोखुम घर भएपनि उनीहरु बाक्सिला–९ का कृष्णकुमार राईले कजाउन दिएको जग्गामा बाँसको चित्राले बनाएको झुपडीमा बसिरहेका छन् । ज्याला–मजदुरी खेतालापात गर्दै परिवार धानीरहेका राई दम्पत्तीका ११ वर्ष, ९ वर्ष र ५ वर्षका तीन छोरा छन् । आर्थिक अभावकै उनीहरुले कारण तीन छोरालाई उचित शिक्षादीक्षा दिन सकेका छैनन् । 

असारको बेला माईत खार्मी पुगेर घर फर्कने क्रममा खुट्टामा ढुंगाले घोचेजस्तो पीडा भएको थियो सबिनालाई । सामान्य ठानेर वास्ता नगरी धान रोप्ने र कोदो रोप्ने काममा लागिन् । बिस्तारै खुट्टाको पाईताला पाक्न थालेपछि सियोले छेडेर फुटाएपछि घाउ फैलिएको सबिनाले बताईन् । ‘असारको बेलामा कामको मात्र ध्याउन्न भयो, वास्ता नगरी काम गरिरहेँ,’ सबिनाले भनिन्, ‘पछि खुट्टा पाकेपछि सियोले घोचेर फुटाएपछि घाउ कहिल्यै थाकेन ।’ 

खुट्टाको घाउको उपचारका लागि उनले स्वास्थ्यचौकी बाक्सिला कैंयौँपल्ट धाईन् । सकी नसकी जिल्ला अस्पताल दिक्तेल पनि दुई पल्ट धाईन् । तर, पाकेको घाउ ‘बीसको उन्नाईस’ भएन । जिल्ला अस्पतालले उपचारका लागि ठूलो अस्पतालमा लैजान सुझाव दिए पनि आर्थिक कारणले हालसम्म जान नसकेको सबिनाको भनाई छ । युकेमा कार्यरत स्थानीयले वर्ष दिनअघि बाक्सिलामा आयोजना गरेको हेल्थ क्याम्पमा आएका स्वास्थ्यकर्मीले समेत उनलाई तत्काल सुबिधा सम्पन्न अस्पताल जानकालागि सल्लाह दिएको थियो । 

६ वर्षअघि अघि सबिना घाँस काट्न कुटमिरोको रुखमा चढ्दा लडेकी थिईन् । उसबेला कम्मर मुनिको भाग नचल्ने अवस्थामा पुगेकी सबिना ६ महिनासम्म ओछ्यानमा थलिएकी थिइन् । ठाउँमै दिशापिसाव भएको ६ महिनापछि उनको स्वास्थ्यमा सामान्य सुधार आए । तर, सामान्य घरायसी काम गर्न सक्ने बनेकी सबिना पुःन दुई वर्षअघि रुखबाटै लड्दा ढाडमा चोट लाग्यो । सोही चोटले हाल उनको ढाड कुप्रिएको छ । 

सबिनाका ससुरा अर्थात धनकुमारको बाबुको पनि रुखबाट लडेर मृत्यु भएको थियो भने उनका बाजे २००७ सालमा राणा बिरोधी आन्दोलनमा होमिएका नारदमुनी थुलुङ, रामप्रसाद राई, सर्वधन राई, क्याप्टेन यज्ञ बहादुर थापासँगै हिँडे यता घर नफर्किएको स्थानीय बताउँछन् ।

यसरी सम्भव भयो उपचार

हाल अष्ट्रेलिया रहेका भला राईले काठमाडौँ जानेआउने र उपचार गरुञ्जेल बस्ने व्यवस्था गर्ने तथा यूके, हङकङ, कोरिया र दुबईमा रहेका शुभेच्छुकले उपचार खर्च सहयोग गर्ने भएपछि सबिनालाई अस्पताल लैजाने वातावरण बनेको हो । उनको उपचारका लागि यूकेमा रहेका सप्तराज राई, धर्मराज राई, हङकङमा रहेका नन्दराज राई, कोरियामा रहेका सुनिल राई र रमेश खत्री, दुबईमा रहेका उमेश राई लगायत मार्फत सहयोग आउनेक्रम जारी छ । सबिनाको उपचारका लागि सिक्किमस्थित भारतीय जनता पार्टीका एक नेताले समेत सहयोग गर्ने आश्वसन दिएको आफन्त सन्जय राईले बताए ।
 
 

प्रकाशित: १ चैत्र २०७३ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App