८ वैशाख २०८१ शनिबार
अर्थ

ग्राउन्ड ह्यान्डलिङमा वायुसेवा निगम उत्कृष्ट

काठमाडौं– नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । ग्राउन्ड ह्यान्डलिङ सर्भिसमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए)ले आइएटिए सेफ्टी अडिटर्स फर ग्राउन्ड अपरेसन (इसागो) प्रमाणपत्र दिने निर्णय गरेको नेपाल वायुसेवा निगमले जनाएको छ । 

झन्डै २ वर्षको मिहिनेतपछि सो प्रमाणपत्र पाएको वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । निगमका कर्मचारीले दुई वर्षयता ग्राउन्ड ह्यान्डलिङमा उत्कृष्ट काम गर्दैै आएका थिए भन्दै उनले त्यसैको फलस्वरुप अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र पाएको जनाए ।

उनका अनुसार निगमले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामै निगमले पौने दुई अर्ब आम्दानी गरिसकेको छ । आइएटिएले निमगलाई दिएको प्रमाणपत्र नेपालकै लागि गौरवको विषय भएको पनि उनले बताए । ‘यसले अन्तर्राष्ट्रिय स्तरमा निगमको विश्वास अझै बढ्नेछ,’ उनले भने । 

्आरइएटिएले केही समयअघि निगमलाई सो प्रमाणपत्र दिने निर्णय गरेको र अबको एक हप्ताभित्रै प्रमाणपत्र नेपाल आइपुग्ने जानकारी दिँदै कंसाकारले उक्त प्रमाणपत्र पाएसँगै अब निगम सो सेवामा उत्कृष्ट भएको समेत दाबी गरे ।

निगमले चालु आर्थिक वर्षको सात महिना (साउन–माघ) मा १३ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । उक्त मुनाफामा ग्राउन्ड ह्यान्डलिङ बापतको आम्दानी पनि समावेश छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएबापत निगमले वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ । 

पर्यटनमन्त्री जीवनबहादुर शाहीले आइतबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा निगमले सात महिनामा पाँच अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको जानकारी गराएका थिए । त्यसमध्ये चार अर्ब ४३ करोड १२ लाख रुपैयाँ सञ्चालन खर्च भएको पनि उनले बताएका थिए । 

उनका अनुसार वित्तीय व्यवस्थापनमा ४७ करोड ३६ रुपैयाँ खर्च भएको छ भने निगमले यस अवधिमा अन्तर्राष्ट्रिय टिकटबाट तीन अर्ब ८० करोड ७३ लाख रुपैयाँ र आन्तरिक टिकट बेचेर ११ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । 

निगमले मुनाफा आर्जन गर्नुमा ग्राउन्ड ह्यान्डलिङको मुख्य योगदान रहेको पनि उनले जनाएका थिए । सात महिनाको अवधिमा ग्राउन्ड ह्यान्डलिङ सेवाबापत निगमले एक अर्ब ७६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको जानकारी उनले दिएका थिए । तर, बैठकमा सांसदहरुले ग्राउन्ड ह्यान्डलिङको रकमलाई निगमको नाफामा समावेश गरिएकोमा आपत्ति जनाएका थिए । 

 

प्रकाशित: १ चैत्र २०७३ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App