८ वैशाख २०८१ शनिबार
समाज

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

काठमाडा‌ैं— विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे । सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए । यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ ।

मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो ।  मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।

फ्रेमवर्कका संयोजक एवं शिक्षाविद् डा. मनप्रसाद वाग्लेले तह निर्धारण गरी आफूले शिक्षामन्त्रीलाई बुझाइसकेको जानकारी दिए । यस्तो व्यवस्था लागू भएमा प्राविधिक ज्ञान हासिल गरेका विद्यार्थीले पनि साधारण शिक्षासरह योग्यताको प्रमाणपत्र पाउने डा. वाग्लेले बताए ।

शिक्षामन्त्रीलाई बुझाएको फ्रेमवर्कमा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई आठ तहमा विभाजन गरिएको छ । सरकारले पहिलोपटक प्राविधिक र  साधारण धारलाई विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म समकक्षता दिन लागेको हो ।

फ्रेमवर्कअनुसार कक्षा ३ पढेको विद्यार्थीको तह एक तय गरिनेछ भने कक्षा ५ अध्ययन गरेको विद्यार्थीको तह दुई तय गरिनेछ । यसैगरी तह तीन प्राप्त गरेको विद्यार्थीले कक्षा ८ सरहको समकक्षता पाउनेछन् । चार तह पास गरेकाले कक्षा १० र पाँच तह पास गरेकाले कक्षा १२ पासको मान्यता पाउने फ्रेमवर्क तयार भएको वाग्लेले जानकारी दिए ।

‘योग्यता परीक्षा पास भएपछि तह निर्धारण हुन्छ भने सैद्धान्तिक शिक्षा पास भएपछि शैक्षिक योग्यताको प्रमाणपत्र पाउँछन्’, वाग्लेले भने, ‘अब विद्यार्थीले साधारण र प्राविधिक दुवै धारमा जान सक्नेछन् । विद्यार्थीसँग साधारण शिक्षा र प्राविधिक शिक्षाको समकक्षता भएमा रोजगारीको अवसर पाइन्छ ।’

यसैगरी विश्वविद्यालय शिक्षालाई तीन तहमा बाँडिनेछ । प्राविधिकतर्फ तह ६ पास गरेकाले स्नातक, तह ७ पास गरेकाले स्नातकोत्तर र तह ८ पास गरेकाले विद्यावारिधिको समकक्षता पाउनेछन् ।

कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) का महानिर्देशक डा. रामहरि  लामिछानेले नागरिकसँग भने, ‘प्राविधिकतर्फ तह एक पास गरेको छ भने स्कुलमा भर्ना हुँदा कक्षा ४ मा एकैपटक भर्ना हुन्छ । तर माथिल्लो तहमा भने एक धारबाट अर्कोमा जान बृजकोर्स गर्नुपर्नेछ ।’

अस्ट्रेलिया, मलेसिया, भारत, फिजी, भुटान, पाकिस्तान, बंगलादेश, मलेसिया, मंगोलिया, सिंगापुर, श्रीलंकालगायतका देशमा प्राविधिक र साधारण धारको समकक्षता कायम भएकाले विद्यार्थीले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र बजारमा बिक्ने गरेको सिटिइभिटिका निमित्त सदस्यसचिव रमेशकुमार बखतीले बताए ।  

‘हाम्रोमा सीप र योग्यताको तालमेल छैन । त्यही भएर प्राविधिक योग्यता हासिल गरेका जनशक्तिलाई रोजगारीमा प्रवेश गर्न कठिन छ’, बखतीले भने, ‘हाल सिटिइभिटीले दुई सय ८५ सीपको परीक्षण गरी योग्यताको प्रमाणपत्र दिँदै आएको छ ।’ उनले सीप र योग्यता दुवै भएमा जनशक्ति बजारमा छिट्टै बिक्ने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मन्त्रालयले तहगत  प्रारूप तयारीका लागि गृहकार्य सुरु गरेको बताए । उनले साधारण र प्राविधिक दुवै धार एकअर्काका पूरक भएकाले कार्यान्वयन छिट्टै गरिने दाबी गरे ।

यसैबीच राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्रणालीबारे अन्तर्राष्ट्रिय ः अनुभव आदानप्रदान र सिकाइसम्बन्धी गोष्ठी सोमबारदेखि धुलिखेलमा सुरु भएको थियो  । कोलम्बो प्लास स्टाफ   कलेज (सिपिएससी), नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (एनभिक्युएस) परियोजना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले संयुक्त रूपमा आयोजना गरेको गोष्ठी पाँच दिनसम्म चल्नेछ ।

गोष्ठीमा टिभिइटीको क्षेत्रमा कार्यरत विभिन्न  देशका नीति निर्माता र उच्च अधिकारी सहभािगत हुने छन् । नेपाल,अफगानिसतान,बंगलादेश,भुटान,फिजी,भारत,मलेसिया,माल्दिभ्स,मांगोलिया,म्यानमार,पाकिस्तान,पपुआ न्युगिनी,फिलिपिन्स,श्रीलंका,थाइल्यान्ड र दक्षिण कोरियालगाएत २० देशका सहभागिता रहने नेपाल,ब्यवसायिक योग्यता निर्धारण प्रणाली परियोजना,सिटिईभिटि ,भक्तपुरका टिम लिडर देबी प्रसाद दहालले जनाए ।

राष्ट्रिय ,क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा योग्यता निर्धारण संरचना विकास क्रममा आएका विषय र चुनौति पहिल्याउने उदेश्यले आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठीमा परियोजना लागु भएका देशहरुका प्रतिनिधिहरुले आआफनो अनुभव बाडेका छन् ।

 

 

प्रकाशित: १ चैत्र २०७३ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App