coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

न्यायाधीशको योग्यता र नियति

श्रीकृष्ण भट्टराई 

दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश माइकल म्याकग्रेगर कोर्बेटले सन् १९९४ मा गरेको एक सम्बोधनमा एउटा आदर्श न्यायाधीशमा कानुनको गहिरो ज्ञान, अनुभव, न्यायिक मन, स्वतन्त्रता, सत्चरित्रता र मेहनत जस्ता गुण अत्यावश्यक हुने कुरा अभिव्यक्त गरेका थिए । 

न्यायाधीशको जिम्मेवारी र कार्य अन्य पदभन्दा संवेदनशील हुने भएकाले उसले पालन गर्नुपर्ने आचरणका नियम, व्यवहार, बानीबेहोरा, चालचलन र चरित्र उच्च मर्यादित र अनुकरणीय रहनु अनिवार्य हुन्छ ।

अन्तर्राष्ट्रिय मापदण्ड

युएनद्वारा सन् १९८५ मा अनुमोदित स्वतन्त्र न्यायपालिकाको आधारभूत सिद्धान्तको धारा १० ले न्यायाधीशको पदमा चयन हुने व्यक्ति चरित्रवान र कानुनको उचित तालिम र योग्यतासहितको क्षमतावान् हुनुपर्ने एवं न्यायिक छनोटमा अपनाइने पद्धति गलत आशयका साथ गरिने नियुक्तिविरुद्धको सुरक्षाकवच हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी न्यायाधीशको छनोट र नियुक्ति पर्याप्त न्यायिक प्रतिनिधित्व भएको स्वतन्त्र निकायद्वारा समुचित व्यावसायिक योग्यतामा आधारित वस्तुनिष्ठ र पारदर्शिताको सिद्धान्त अपनाइ गरिनुपर्ने कुरा न्यायाधीशको विश्वव्यापी बडापत्र १९९९ को धारा ९ ले उल्लेख गरेको पाइन्छ । नेदरल्यान्डको द हेगमा भएको प्रधानन्यायाधीशहरूको गोलमेच बैठक २००२ ले स्वतन्त्र न्यायपालिकाको प्रत्याभूतिका लागि न्यायाधीशमा स्वतन्त्रता, निष्पक्षता, इमानदारिता, सदाचार, समानता, सक्षमता र लगनशीलता जस्ता गुण अत्यावश्यक मानेको छ । न्यायाधीशको नियुक्ति वा पदोन्नति उसको चरित्र, स्वतन्त्रता, व्यावसायिक क्षमता, अनुभव, विद्वता र कानुनको शासनप्रतिको प्रतिबद्धता जस्ता वस्तुनिष्ठ मूल्याङ्कनमा आधारित हुनुपर्ने स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता रहिआएको छ ।    

करिअर जज भर्सस नवप्रवेशी

संविधानले करिअर जजलाई न्यायाधीश पदमा हुने नियुक्तिमा पहिलो प्राथमिकताक्रममा राखेको पाइन्छ, यो विश्वव्यापी प्रचलन पनि हो । न्यायाधीश पद बढुवाद्वारा पूर्ति हुने नभए पनि करिअरबाहेकका लागि भने यो छड्के प्रवेश नै मानिन्छ । न्यायाधीशका रूपमा कार्यरत व्यक्ति नवप्रवेशीको तुलनामा अनुभवी र योग्य मानिन्छ । विश्वका प्रमुख न्यायप्रणालीमा स्थापित यो मान्यता संविधानमा पनि आत्मसात गरेको पाइन्छ । नवप्रवेशीका लागि न्यायाधीशका रूपमा गर्नुपर्ने कार्य, निर्बहन गर्नुपर्ने कर्तव्य, पदीय दायित्व, न्यायिक आचरणका व्यवहार र आचारसंहिता, कार्यविधि कानुनका प्रक्रिया, प्रमाणको मूल्याङ्कन र विवेचना, मुद्दाको सुनुवाइ, फैसला लेखन जस्ता जिम्मेवारी सर्वथा नौला र जटिल प्रकृतिका हुन्छन् भने करिअर जजहरू यी सबै कुराका लागि संस्थागत र अभ्यस्त भइसकेका हुन्छन् । 
    न्यायाधीशको जिम्मेवारी र कार्य अन्य पदभन्दा संवेदनशील हुने भएकाले उसले पालन गर्नुपर्ने आचरणका नियम, व्यवहार, बानीबेहोरा, चालचलन र चरित्र उच्च मर्यादित र अनुकरणीय रहनु अनिवार्य हुन्छ । उसका व्यक्तिगत आचरण, जीवन पद्धति र पारिवारिक, व्यक्तिगत एवं सामाजिक सम्बन्धले न्यायपालिकाको जनआस्थासँग प्रत्यक्ष सरोकार राख्छन् । व्यक्तिगत एवं संस्थागतरूपमा न्यायपालिकाको स्वतन्त्रता, कार्यसम्पादनमा निष्पक्षता, न्यायप्रतिको समर्पण र निष्ठा, सदाचार, समान व्यवहार, सक्षमता र लगनशीलता जस्ता गुण न्यायाधीशका जीवन पद्धति मानिन्छन् । अधिकृतबाट न्यायाधीशमा नियुक्त हुनेहरूका हकमा पूर्वपदमा रहँदा झेल्नुपर्ने प्रभाव, दबाब, भनसुन, आग्रह, पूर्वाग्रह, हस्तक्षेप आदिको ह्याङओभर नहटिसकेको हुनसक्छ । त्यसैगरी बारबाट आउनेहरु व्यावसायिक जीवनमा सेवाग्राहीबाट फि लिएर व्यवसाय धान्नुपर्ने एवं पक्षको प्रतिनिधित्व गर्नुपर्ने बाध्यताका कारण विपक्षको अहितमा नै आफ्नो पक्षको हित देख्नु नाजायज नलाग्न सक्छ । व्यवसायमा रहँदा निष्पक्षता वा दुवै पक्षको हितको रक्षा असम्भवप्रायः हुन जान्छ भने न्यायाधीशको कार्यप्रकृतिले निष्पक्षता र समान व्यवहार माग गर्छ । मुद्दासँग सम्बन्धित कुनै ऋण वा आर्थिक वा भौतिक लाभ, दान, दातव्य वा उपहार स्वीकार वा ग्रहण गर्नु आचरण, पदीय गरिमा र मर्यादा प्रतिकूल हुने भएकाले न्यायाधीशका हरेक क्रियाकलाप समाजको निगरानीमा रहेका हुन्छन् । कर्मचारी, वकिल, प्राध्यापन वा अन्य पृष्ठभूमिबाट आउने महानुभावहरू नियुक्तिपूर्वको स्वतन्त्र र स्वच्छन्द जीवनशैली त्यागेर एउटा परिपक्व न्यायाधीशका रूपमा रूपान्तरित वा संस्थागत हुन पर्याप्त समय, दृढ इच्छाशक्ति, अनवरत साधना, अभ्यास, समर्पण र त्याग जरुरत पर्छ ।

दोहोरो प्रवेशद्वार
    कार्यरत न्यायाधीशका लागि माथिल्लो तहको न्यायाधीशमा नियुक्त हुन संविधानले दुईवटा मार्ग खुला राखेको पाइन्छ ः  (१)    न्यायाधीशका रूपमा काम गरेको अनुभव, (२)    विशिष्ट कानुनविद्का रूपमा प्राप्त ख्याति एवं कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव ।
    न्यायाधीश, अधिकृत र कानुन व्यवसायी हुन निश्चित योग्यता र प्रक्रिया तोकिए पनि विशिष्ठ कानुनविद्का लागि चाहिने योग्यता सम्बन्धमा कानुन मौन छ । अर्थात यो कानुन व्याख्याको ‘ग्रे जोन’ भित्र पर्छ । कानुनी शब्दकोशहरूमा कानुनी विषयमा गहिरो ज्ञान र अनुभवप्राप्त न्यायाधीश, कानुनका विद्वान् वा शास्त्रलाई विशिष्ट कानुनविद्का रूपमा चित्रित गरिएको पाइन्छ । योग्यता, उच्च शिक्षा, फैसला, आदेश, लेख, रचना आदिको माध्यमबाट विधिशास्त्र निर्माण, विकास र परिस्कृत गर्न पु¥याएको योगदान एवं कार्यको प्रकृति, व्यक्तिगत चरित्र, आचरण, सामाजिक मर्यादा, पदीय गरिमा जस्ता मापदण्डको कसीमा विश्लेषण गर्दा संविधानले परिकल्पना गरेको विशिष्ट कानुनविद्भित्र एउटा असल न्यायाधीश पर्नेमा दुई मत नहोला । न्यायाधीश हुनुपूर्वको योग्यता र त्यसपछि उसले न्याय र कानुनको क्षेत्रमा पु¥याएको योगदान नै विशिष्ट कानुनविद्का रूपमा दरिने आधार मान्न सकिन्छ । न्यायाधीशमात्र नभई उल्लिखित योग्यता र गुण भएको व्यक्ति पनि विशिष्ट कानुनविद् हुनसक्छ । उच्च अदालतको न्यायाधीशका रूपमा ५ वर्ष काम गरेको अवधि नपुगेको भए पनि कम्तीमा १५ वर्षसम्म न्याय र कानुनको क्षेत्रमा निरन्तर काम गरेको उच्च वा जिल्ला अदालतमा कार्यरत न्यायाधीशमा उत्कृष्ट क्षमता, विशेष योग्यता र गुण छन् भने उसलाई विशिष्ट कानुनविद्को हैसियतमा सिधै सर्वोच्च अदालतमा लैजान संविधानले मार्ग प्रशस्त गरेको छ । यो संवैधानिक प्रावधानको विधायिकी मनसाय पनि यही नै हो । 
त्यसैगरी जिल्ला न्यायाधीश भई ५ वर्षभन्दा कम काम गरेको व्यक्ति पनि यसअघि कम्तीमा १० वर्ष कानुन र न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको भएमा उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन संविधानले योग्य मानेको छ । यस प्रयोजनका लागि न्याय सेवा प्रवेशदेखि सेवामा निरन्तररूपमा न्याय सम्पादन वा सरकारी वकिलको हैसियतले काम गरी हाल जिल्ला न्यायाधीश भई काम गरेको अवधिसमेतलाई गणना गरिनुपर्ने संविधानको अभिप्राय हो । यसतर्फ नियुक्तिकर्ताहरूको ध्यान आकृष्ट हुनुपर्ने देखिन्छ । 

अधिकृतबाट बेन्च
    कानुनको उच्च शिक्षा पूरा गरेपछि कडा परिश्रम र मेहनत गरी लोक सेवा आयोगको परीक्षा उत्तीर्ण व्यक्ति नियुक्तिपश्चात इजलास अधिकृतका रूपमा कार्यालय समयमा न्यायसम्पादनमा न्यायाधीशलाई सहयोग गर्छ, कामको चापका आधारमा घरमा परिवारसँग बिताउने समयसमेत फैसला, आदेश तयार गर्ने कार्यमा समर्पण गर्छ, स्रेस्तेदारका रूपमा फिरादपत्र, प्रतिउत्तरपत्र चेक जाँच गरी दर्ता वा दरपीठ गर्छ, न्यायिक कार्यविधि पालना गर्ने÷गराउने कार्यमा योगदान गर्छ, न्यायसम्पादनमा सहयोग गर्ने कर्मचारीको कार्यमा सहजीकरण गर्छ, तहसिलदारका रूपमा फैसला वा आदेश कार्यान्वयन गर्छ, सरकारी वकिलका रूपमा मुद्दा चलाउने÷नचलाउने न्यायिक निर्णय गरी कार्यबोझका आधारमा दिन÷रात नभनी अभियोगपत्र मस्यौदा गरी दायर गर्छ, इजलासमा मुद्दा बहस गर्छ, बहसनोट, पुनरावेदनपत्र वा निवेदनपत्र तयार गर्छ र जीवनका ऊर्वर समय न्याय कानुनका क्षेत्रमा न्यौछावर गर्छ । काम गरेको औसत १० देखि १५ वर्षमा उसले बढुवाको अवसर प्राप्त गर्छ । त्यसपछि लगभग १० देखि १५ वर्ष सेवा गरेपछि मात्र बल्ल जिल्ला न्यायाधीशको पदमा पुग्छ । न्यायाधीशमा गएन भने सरदर त्यति नै समय काम गरेपछि मात्र ऊ प्रथम श्रेणीको पदमा पुग्छ । शायद जिल्ला न्यायाधीशको पद सहसचिवभन्दा माथिल्लो र मर्यादित ठानिने भएकाले होला, प्रथम श्रेणीमा ८ वर्षसम्म काम गरेका वरिष्ठ व्यक्ति पनि जिल्ला न्यायाधीशमा नियुक्ति भएर आएको पाइन्छ । यसरी हेर्दा अधिकृत पदमा प्रवेश गरेको व्यक्ति जिल्ला न्यायाधीश हुन सालाखाला २५ देखि ३० वर्ष काम गरेको हुनुपर्ने अवस्था छ । हालसालै जिल्ला न्यायाधीशबाट उच्च अदालतमा नियुक्त भएका महानुभावहरू हेर्दा १५ वर्षसम्म एउटै पदमा रही न्यायसम्पादन गरेका गरेको वरिष्ठ र अत्यन्त आदरणीय व्यक्तित्वसमेत हुनुहुन्छ । 

बारबाट बेन्च
     कानुन व्यवसायी परीक्षा प्रणाली सुरु हुनुपूर्व बिनापरीक्षा र सुरु भएपछि परीक्षा पास गरी कानुन व्यवसायीका रूपमा लाइसेन्स प्राप्त गर्ने प्रावधान छ । यस सम्बन्धमा अभ्यासमा रहेका ३ वटा परिदृष्य चर्चा गरौं ः
परिदृष्य १. एकथरी महानुभाव लोक सेवा आयोगको परीक्षा नदिई वा दिने इच्छा नराखी लाइसेन्स लिएपछि पारिवारिक लिगेसी धान्ने, चेम्बर प्राक्टिस गर्ने, कर्पोरेट लयर हुने, बहस पैरवी गर्ने, फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, बहसनोट मस्यौदा गरी स्थापित वकिलको छवि बनाएका व्यक्ति हुनुहुन्छ । पेशामा राम्रो ख्याति र आयआर्जन गर्न सफल यो वर्ग न्यायाधीशमा जान त्यति इच्छा नराख्ने र अफर आएमा मात्र स्वीकार्नेमा पर्छ । बजारमा उपलब्ध कानुन व्यवसायीको जमातसँग तुलना गर्दा यस्ता व्यक्ति न्यून भए पनि व्यवसायको साख राख्नमा यो वर्गको ठूलो योगदान छ ।
परिदृष्य २. सेवा आयोगको परीक्षा सामना गर्ने आँट नभएर फाराम नै नभरेका वा उत्तीर्ण हुन नसकी वा परीक्षा दिने इच्छा नै नराखी वकालतको लाइसेन्स लिए पनि अन्य पेशा अपनाई जागिर छाडेर वा रिटायर्ड भएपछि पुनः व्यवसायमा फर्केका, विद्यालय, उमाशिप वा विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थामा कानुन वा कानुनइतर विषयको अध्यापन गरी उब्रेको समय कहिले अदालततिर देखापर्ने त कहिले पार्टी अफिस धाउने, कहिले सरकारी वा गैरसरकारी संस्थाको कानुनी सल्लाहकार भई अतिरिक्त आयआर्जन गर्ने, बार र प्राध्यापक संघ दुवैको राजनीतिमा पनि भाग लिने, मौका हेरेर आफूलाई कहिले वकिल र कहिले प्राध्यापकका रूपमा परिचय दिन रुचाउने यो वर्गमा न्यायाधीश नियुक्तिको मौसम आएपछि दरखास्त हाल्ने र दौडधूप पनि गरिहाल्नेसमेत पर्नुहुन्छ ।    
परिदृष्य ३. यसमा विश्वविद्यालयको पढाइमा ब्याक लागेका, बल्लतल्ल उत्तीर्ण भएका, लोक सेवा आयोगको परीक्षा सामना गर्ने आँट नभएर फाराम नै नभरेका, भरे पनि असफल भएर बाध्यतावस कानुन व्यवसायलाई वैकल्पिक रोजगारीका रूपमा अङ्गालेका, पेशामा टिक्न नसकी कानुन वा न्यायको क्षेत्रसँग सरोकार भएका वा नभएका एनजिओ÷आइएनजिओमा जागिर खाएका, वैतनिक वकिलमा दरखास्त हालेका, वकालत गर्न नसकेर लेखन्दास वा वारेस भई जीविकोपार्जन गरेका, घर÷जग्गाको कारोबार, नेताहरुको चाकडी गरी निर्वाचन प्रतिनिधि वा घोषित÷अघोषित पिएका रूपमा साँझ÷बिहान घर÷दैलो कार्यक्रम गर्ने र कनिकुथी धानेको कानुन व्यवसायसमेत तिलाञ्जलि दिएर सक्रिय राजनीतिमा लागी मौकाअनुसार मूलधार र बार दुवै राजनीतिमा भाग खोज्ने र न्यायाधीश नियुक्तिको मौसममा नेताहरूको दौराको फेरो समातेर दौडधुप गर्ने महानुभावसमेत पर्नुहुन्छ । 

योग्यताको प्रश्न
    संविधानले न्यायाधीशमा नियुक्त हुन सेवाभित्र र बाहिर गरी दुईवटा मार्ग खुला राखेको छ । बारबाट न्यायाधीशको उम्मेदवार हुनेमा माथि ३ वटा परिदृश्यमा वर्णित महानुभाव नै हुनुहुन्छ । कुन परिदृश्यमा पर्ने व्यक्ति न्यायाधीश पदका लागि योग्य हुनुहुन्छ र कसले बाजी मार्न सफल हुनुभएको छ प्रबुद्ध पाठकसामु छर्लङ्गै छ । नियुक्ति माग्ने र दिने संविधानले पत्याएको जिम्मेवार पदमा आसिन दुवैथरी महानुभावले पक्कै पनि यसमा विवेक पु¥याउनुभएकै छ र भविष्यमा पनि पु¥याउनुहुनेमा शंका गर्ने ठाउँ छैन ।   
    एउटा मेधावी व्यक्ति भविष्यमा संगठनको नेतृत्वमा पुग्ने अभिलाषा राखेर कडा मेहनत र परिश्रम गरी सेवा प्रवेश गरी अधिकृतदेखि न्यायाधीशसम्मको लामो यात्रा तय गर्दा उसले कैयौं उकाली÷ओराली पार गरेको मात्र नभई धेरै रगत पसिना बगाएको वा योगदान दिएको हुन्छ । आफूले रोजेको मुकाममा व्यवसाय गरी घर परिवारसँग आनन्दले बसी स्वेच्छाले बाहेक आय–व्यय सार्वजनिक गरी राज्यलाई करसमेत तिर्न नपर्ने कमाई, स्वतन्त्र जीवनशैली जीउनतिर नलागी इच्छाविपरीत विभिन्न भौगोलिक क्षेत्रमा सरुवा हुने, काकतालीबाहेक घर परिवारसँग बस्ने मौका नमिल्ने, सीमित तलबमा पनि आयकर काटिने सेवामा कुनै पनि व्यक्ति सुन्दर भविश्यको कल्पना गरेर सके प्रधानन्यायाधीश नभए पनि सर्वोच्चको न्यायाधीश बन्ने आकांक्षा राखेर प्रवेश गरेको हुन्छ । अनयास सुरु हुने न्यायाधीश नियुक्तिको मौसममा ऊ आफ्नो कर्मथलोमा कार्यरत रहेको बेलामा शक्तिकेन्द्रमा धाउन भ्याउँदैन या संस्थाले उसको काम र सेवाको मूल्याङ्कन गर्ने दृढ विश्वास र भरोसामा यसो गर्न उचित पनि ठान्दैन । जब न्यायाधीशको नियुक्ति हुन्छ आफूभन्दा निक्कै कम उमेरका कनिष्ठ व्यक्तिसमेत आफ्नो फैसला जाँच्ने माथिल्लो तहमा सिधै नियुक्ति भएको र आफ्नो सपना चकनाचुर भएको समाचार सुनेर द्रविभूत हुन्छ । सहपाठी वा कनिष्ट मित्रहरू आफूभन्दा माथिल्लो तहको न्यायाधीश पदमा बिनाप्रतिस्पर्धा सिधै नियुक्त हुँदा ऊ न्यायाधीश पदमा रहे÷भएकै कारण वकिल बराबरको हैसियतमा प्रतिस्पर्धा गर्न योग्यसमेत नठानिँदा पराजित र विचलित मनस्थिति लिएर अर्कोपटक त कसो नपरिएला, संस्थाले यो पटक मौका दिन नसक्नुमा पक्कै पनि नियुक्तिकर्ताको केही बाध्यता थियो होला भनी चित्त बुझाई अनुशासितरूपमा पुनः सेवामा तल्लीन हुन्छ । यो नै अहिले आम करिअर जजको नियति बनेको छ । आशा गरौं, यस्तो परिस्थिति भविष्यमा दोहोरिने छैन ।
 

न्यायाधीश, भक्तपुर जिल्ला अदालत  (गतांकको ‘न्यायाधीशको मर्यादाक्रम’ शिर्षक लेख श्रृंखलाको बाँकी अंश) 


 

प्रकाशित: १ चैत्र २०७३ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App