coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जित्नैपर्ने अवस्थामा नेपाल, महबुब अालम केन्याविरुद्ध हाबी

नेपालका बलर महबुब अालम। फाइल तस्विर

काठमाडौं— नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गर्दै खेलको सुरुवात गरेका थिए।

नेपालका लागि महबेबु आलमले पहिलो र दोस्रो विकेट लिएका हुन्। केन्याको १४ रन हुँदा उनले पहिलो विकेट लिएका थिए। लगातार त्यसपछि उनले दोस्रो विकेट लिए।

१० ओभरमा केन्याले २ विकेट गुमाएर २६ रन बनाएको छ। नेपालका लागि महबेबु आलमले पहिलो र दोस्रो विकेट लिएका हुन्। केन्याको १४ रन हुँदा उनले पहिलो विकेट लिएका थिए। लगातार त्यसपछि उनले दोस्रो विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ५ मेडन ओभर राख्दै २ रन दिएका छन्।

आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

घरेलु मैदानमा पाएको सुनौलो अवसरलाई शनिबार नेपालले सदुपयोग गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले केन्यालाई ५ विकेटको नतिजा सुम्पियो। नेपाललाई सहज रूपमा एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि केन्यालगायतका बाँकी सबै खेल जित्नैपर्ने अवस्था थियो। तर शनिबार पटकपटक वर्षाले प्रभावित खेलमा नेपाल घरेलु मैदानमा निरीह बनेपछि त्यो बाटो पनि कठिन बनेको छ।

शनिबारको खेलपछि कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले भने, ‘हाम्रो ढोका बन्द भयो भनेर भन्न मिल्दैन। तर आजको खेलबाट हामीले धेरै सिकेका छौं। आज हाम्रो ब्याटिङ कमजोर रहे पनि बलरले राम्रो रह्यो तर विश्वकपको सपना देख्ने हो भने हाम्रा ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्र्नुपर्छ।’

अब नेपालले बाँकी सबै खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ। केन्याबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।

केन्याविरुद्ध नेपाली टोलीमा २ खेलाडीले डेब्यु गरे भने मेहबुब आलमले २ वर्षपछि टोलीमा पुनरामन जनाए । तर, डेब्यु गरेका दीपेन्द्रबाहेक अन्यको प्रदर्शन सन्तोषजनक हुन सकेन । ओपनर सुनील धमला ३ रनमा समेटिए भने अलराउन्डर मेहबुब आलमले २ रनमाथिको स्कोर बनाउन सकेनन्। ओभर छोट्याइएको खेलमा मेहबुबले बलिङ गर्न पाएनन । उनी फिल्डिङमा पनि कमजोर देखिए। यस्तो अवस्थामा सोमबार मेहबुबको स्थानमा आरिफ शेखले टोलीमा स्थान बनाउने सम्भावना छ।

पेटको शल्यक्रियाका कारण कप्तान पारस खड्का सोमबार पनि खेल्ने सम्भावना न्यून छ। त्यसैले नेपाली टोलीको संरचनामा ठूलो परिवर्तन हुने आशा गर्न सकिँदैन।

‘मेहबुबको स्थानमा आरिफलाई स्थान दिन सकिन्थ्यो। तर आज कन्डिसनले हामीलाई साथ दिएन,’  शनिबारको पहिलो खेलपछि नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भने, ‘सबैलाई आआफ्नो रोल दिइएको थियो । तर कुनै दिन एउटा खेलाडीले राम्रो  प्रदर्शन गर्छ कुनै दिन अर्कोले । तर सबै खेलाडी राम्र्रा छन्।’

पारसको सम्भावनाबारे कप्तान ज्ञानेन्द्र मल्ले केही बोल्न चाहेनन् । शनिबार त्रिवि मैदानमा उनले भने, ‘अर्को खेलबारे अहिल्यै केही भन्न सकिने अवस्था छैन । खेलको दिन नै उनको अवस्थाबारे थाहा हुन्छ।’

केन्याविरुद्धको एकदिवसीय खेलमा नेपालको इतिहास राम्रो छैन । डिभिजन २ मा केन्याविरुद्धको दुवै खेलमा पराजित भएपछि डिभिजन १ मा उक्लने नेपालको अवसर गुमेको थियो । त्यही केन्या विश्व क्रिकेट लिगमा पनि चुनौती बनेर खडा भएको छ ।

यस्तो अवस्थामा ज्ञानेन्द्रलाई कप्तानको रूपमा खेल जिताउनुका साथै नेपाली टोलीलाई कप्तान पारस खड्काको अनुपस्थितिमा आफूलाई प्रमाणित गर्ने अवसर छ । तर, सोमबार नेपालसामु प्रतिकूल मौसम बहाना बन्ने छैन । किनकि मौसम पूर्वानुमान माहाशाखाले आइतबारबाट मौसम सफा रहने जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App