७ वैशाख २०८१ शुक्रबार
विचार

सीमाहीन व्यवहार

नेपाल–भारत खुला सीमाले दिएका सुविधालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बारम्बार दुरुप्रयोग गर्दै आएको छ । घटना एकपटक मात्र हुन्थ्यो भने ‘भूलवश’ भन्न सकिन्थ्यो, बारम्बार एउटै प्रकृतिको घटना दोहोरिनु ‘नियत’ हो । एसएसबीले नेपालको सीमाभित्र गरेको आक्रमण र हत्या अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । एक देशका सुरक्षाकर्मी औपचारिक पोसाकमा अर्को देशभित्र प्रवेश पाउँदैनन् । पाए पनि सम्बन्धित देशको अनुमति लिनुपर्छ । अझ हातहतियारसहित प्रवेशको कल्पना पनि गर्न सकिँदैन ।
पछिल्लोपटक एसएसबीले चलाएको गोलीबाट गत बिहीबार कञ्चनपुरको आनन्दबजारनजिक नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भयो । बिनाअनुमति हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीका जवानद्वारा हत्या गरिएका नेपाली नागरिकलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ । आफ्नो भूभागमा नेपालीले कल्भर्ट निर्माण गर्न लागेपछि उक्त भूभाग भारतीय पक्षको भन्दै एसएसबीले बुधबार नेपालीलाई आक्रमण गरेको हो । यस्तै घटना यसअघि २०६७ चैत ५ गते बर्दिया, जमुनीका हर्कबहादुर शाही नजिकैको जंगल गएका बेला उनीमाथि पनि भएको थियो । उनी एसएसबीको गोलीले घाइते शाहीलाई एसएसबी जवानले आफूसँगै लगेका थिए । शाहीका परिवारले उक्त घटनाबारे स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । पछि, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय, नेपालगन्जले घटनाको स्थलगत अनुगमन गरी शाहीलाई एसएसबीले पक्राउ गरी बेपत्ता पारेको ठहर गरेको थियो । उनको अवस्था अहिलेसम्म अज्ञात छ । चार वर्षअघि पनि हतियारसहित आएका एसएसबी जवानले बर्दिया, मनिकापुरका जग्गु चौधरीलाई सानोश्रीबाट पक्राउ गरेको थियो । घटनालगत्तै चौधरीका परिवारले स्थानीय प्रशासनलाई खबर गरे तर चौधरी एसएसबीको पन्जाबाट फुत्किन सकेनन् । २०७० फागुन १२ गते पनि एसएसबीले यस्तै ज्यादती गरेको थियो । सीमा क्षेत्रमा दाउरा लिन गएका बर्दिया, आशापुरका ४६ वर्षीय राममिलन लोधलाई एसएसबीले पक्राउ ग¥यो । उनीसँगै जंगल गएका अन्य पाँच जना एसएसबीको गोलीको सिकार बने । गम्भीर घाइते भएका राममिलनलाई एसएसबीले लग्यो, उनको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । २०७२ मंसिर ९ गते बिहान एसएसबी जवानले सुनसरीको सीमावर्ती हरिहरपुर गाविस प्रवेश गरी नेपालीमाथि गोली बर्साए । बिनाअनुमति नेपाल प्रवेश गरेका उनीहरूले चलाएको गोली लागी स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । यसको चार दिन बित्न नपाउँदै झापामा अर्को घटना भयो । २०७२ मंसिर १३ गते बिहान ७ बजे झापाको केचना गाविसमा एसएसबीका १३ जवान हतियारसहित प्रवेश गरे । नेपाली सुरक्षा निकायले उनीहरुलाई नियन्त्रणमा लियो र पछि सहमतिमा नेपाल सरकारले उनीहरुलाई भारतसमक्ष बुझायो ।
यी केही प्रतिनिधि घटना मात्र हुन्, यसको फेहरिस्त निकै लामो छ । एसएसबीले प्रत्येकपटक अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दा सरकारले विज्ञप्ति निकालेर भारतलाई सचेत मात्र गराउने गरेको छ । नेपालको आग्रहलाई भारतले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ कै कोटीमा लिने गरेको छ । यस्तै प्रकृतिको घटना सन् १९६२ मा हुँदा चिनियाँ पक्षले नेपालसँग माफी मागेको थियो । चिनियाँ सेना नेपाली भूमिमा प्रवेश गरी एक नेपालीलाई मारेपछि नेपाल सरकारले आपत्ति प्रकट गरेपछि तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले घटनालाई लिएर नेपालसँग माफी माग्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएका थिए । भारत भने न यस्ता घटनामा नेपालले माग गरेअनुसार छानबिन गर्ने गरेको छ, न पीडितलाई क्षतिपूर्ति दिने काम गरेको छ । भारतको हेपाहा प्रवृत्तिका कारण यस्ता घटना दोहोरिरहेका छन् । संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रले भर्खर लोकतन्त्रको मार्गमा बामे सर्दै गरेको सानो छिमेकी नेपालप्रति गर्दै आएको यो व्यवहार सहअस्तित्व र भाइचाराअनुरुप छैन । यसपटकको घटनापछि परराष्ट्र मन्त्रालयले भारतीय कार्यवाहक राजदूतलाई बोलाई कूटनीतिक नोट बुझाएको छ । अघिल्लो वर्ष मधेस आन्दोलनका क्रममा एक भारतीय नागरिक मारिँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जानकारी मागेका थिए । बुधबारको घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो आँट देखाउन सकेनन् । बरु उल्टै भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले दाहाललाई फोन गरी थुमथुमाउने काम गरे । नेपालको दबाबपछि कञ्चनपुर घटनालाई लिएर भारतले छानबिन गर्ने बताएको छ । यस्तो प्रतिबद्धता यसअघिका घटनामा पनि भारतबाट आएका थिए तर कहिल्यै छानबिन गरी दोषीलाई कारबाही भएको जानकारी आएन । गौतमको पोस्टमार्टम र फरेन्सेक रिपोर्ट भारतले मागेको छ । उसले घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडित नेपाली परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ । कञ्चनपुर घटनाप्रति नेपालसँग औपचारिक रुपमा माफी माग्नुपर्छ र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता तत्काल जनाउनुपर्छ ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App