६ वैशाख २०८१ बिहीबार
समाज

आकार लिँदै सरकारी संरचना

भूकम्पपछि पुनर्निर्माण थालेर सम्पन्न भई सञ्चालन तयारी अवस्थामा पुगेको जिल्ला सरकारी वकिलको कार्यालय भवन।

सिन्धुपाल्चोक-विनाशकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लास्थित सरकारी संरचनाको धमाधम पुनर्निर्माण भइरहेको छ। सरकारी बजेट, दातृ निकायको आर्थिक सहयोगमा क्षतिग्रस्त संरचना पुनर्निर्माणले गति लिइरहेको हो। 

केही सरकारी भवन निर्माण अन्तिम चरणमा पुगेका छन् भने कतिपय बनिरहेका छन्। पुनर्निर्माण तयारी गरिएका धेरै भवन निर्माण व्यवसायीसँग अन्तिम सम्झौताका क्रममा छन्। बाँकी सरकारी संरचनाको इन्जिनियरिङ डिजाइनको काम भइरहेको छ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख डा. युवराज पौडेलले भूकम्पले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणले गति लिइरहेको बताए। ‘क्षतिग्रस्तमध्ये मुख्य सरकारी संरचना छिट्टै ठडिने देखियो,’ उनले नागरिकसँग भने।

जिल्लाका सरकारी भवन पुनर्निर्माणमा एसियाली विकास बैंक (एडिबी), युरोपियन युनियन –इयू) र जाइका (जापानी सहयोग नियोग) ले आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका छन्।

भूकम्पले मुख्य प्रशासनिक संरचना ढालेपछि पुनर्निर्माण थालिएको कृषि विकास कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । महिला विकास तथा बालबालिका कार्यालय भवन छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । दुवै भवन जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेका हुन्।

डा. पौडेलका अनुसार जिल्ला वन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रमुख जिल्ला अधिकारीको क्वाटर निर्माण चरणमा प्रवेश गरिसकेका छन् । एडिबीको आर्थिक सहयोग रहेको यी सरंचना पुनर्निर्माण गर्न निर्माण व्यवसायीसमेत छनोट भइसकेका छन् । ‘यी संरचना निर्माणमा द्विपक्षीय सम्झौता भइसकेको छ’, पौडेलले भने ।

सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले इन्जिनियरिङ डिजाइन गरेको यी संरचना भ्याटबाहेक नौ करोड ५२ लाख रुपैयाँ लागतमा बनाउने जिम्मा स्वच्छन्द खरी सोवर्ण जेभीले पाएको छ। जिल्ला पशुसेवा, भूसंरक्षण कार्यालय र जिल्ला न्यायाधीशको क्वाटर पनि एडिबीकै आर्थिक सहयोगमा बन्दैछन् । यी संरचना बनाउने जिम्मा पाएका निर्माण व्यवसायीसँग सम्झौता तयारी भइरहेको छ ।

मालपोत कार्यालयको क्वाटरको डिजाइन बनिसकेको छ । युरोपियन युनियनले डिजाइनमा सहयोग गरेको मालपोतको क्वाटर निर्माणका लागि बोलपत्र आह्वान निकाल्ने तयारी भइरहेको छ । युनियनकै अग्रसरतामा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको भवन डिजाइनको काम भइरहेको डिभिजन प्रमुख डा. पौडेलले जानकारी दिए ।

उनका अनुसार भवन डिभिजन, सिञ्चाइ र घरेलु, निर्वाचन र राष्ट्रिय अनुसन्धान कार्यालयसमेत बनाउने तयारी छ । यी संरचनाको डिजाइन केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गरिरहेको छ । एडिबीकै आर्थिक सहयोगमा यी संरचना बन्न लागेका हुन् । भवन र सिँचाइ भूकम्पपछि जिल्लामा आएका कार्यालय हुन् भने घरेलु र निर्वाचन कार्यालय भूकम्पअघि र अहिले पनि भाडाको घरमा सञ्चालित छन्।

युरोपियन युनियनकै प्राविधिक टोली क्षतिग्रस्त जिल्ला हुलाक कार्यालय मर्मत गरी सञ्चालनमा ल्याउन अध्ययनमा जुटेको छ । रेट्रोफिटिङ गरी हुलाक सञ्चालनमा ल्याइने डा. पौडेलले बताए। कारागार कार्यालय बनाउन जग्गाको खोजी भइरहेको छ। निर्माण सकेको दुई वर्ष नबित्दै भूकम्पले कारागार ढाल्दा त्यहाँबाट दुई सय १६ कैदीबन्दी भागेका थिए।

भूकम्पले क्षतिग्रस्त जिल्ला प्रशासन, शिक्षा, सरकारी वकिल कार्यालयको पुरानो भवन, महिला विकास कार्यालय र कोलेनिकाको बचेका संरचना मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । एडिबीकै सहयोग रहने यी संरचना मर्मत गर्न बोलपत्र आह्वान गर्न लागिएको भवन डिभिजनले जानकारी दिएको छ। जिल्ला प्रशासन अहिले पनि क्षतिग्रस्त भवनबाटै सञ्चालित छ।

सम्बद्ध मन्त्रालयको बजेटमार्फत जिल्ला सरकारी वकिल, स्वास्थ्य कार्यालय र जिविस भवन निर्माण भइरहेका छन् । सरकारी वकिल कार्यालय पुनर्निर्माण सम्पन्न भई तत्कालै सञ्चालनमा आउने अवस्थामा पुगेको छ भने स्वास्थ्य कार्यालय भवनको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । यी दुवै कार्यालय भूकम्पपछि पुनर्निर्माण थालिएको हो । क्रमागत योजनाअन्तर्गत जिविस भवन भूकम्पअघिदेखि पुनर्निर्माण भइरहेको छ । भूकम्पपछि यो भवन निर्माणले गति लिइरहेको छ ।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा व्यक्तिगत घर मात्र होइन अधिकांश सरकारी संरचनासमेत ध्वस्त भएका थिए । जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांकअनुसार भूकम्पले मुख्य १५ सरकारी कार्यालयका ४२ वटा भवन क्षतिग्रस्त बनाएको थियो । नेपाल प्रहरीका २८ युनिट, ६१ स्वास्थ्य चौकी, ७९ गाविस कार्यालय र पाँच सय ४७ सामुदायिक विद्यालय ध्वस्त भएको थियो।

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App