८ वैशाख २०८१ शनिबार
राजनीति

नेतृत्वमा पुग्ने आकांक्षीको लर्को

दोलखा-स्थानीय निर्वाचन नजिकिँदै आउँदा परिणाम आफ्नो पक्षमा पार्न जिल्लामा राजनीतिक दलका नेताले गाउँबस्ती अभियानलाई तीव्रता दिएका छन् । चुनाव जित्ने रणनीतिका साथ गाउँबस्तीमा सभा, सम्मेलन, भेटघाट र कार्यकर्ता परिचालनमा जुटिरहेका दलहरूभित्र स्थानीय नेतृत्वका लागि उम्मेदवार बन्ने आकांक्षी पनि धेरै छन् ।

करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको नेतृत्वका लागि एउटै दलभित्र आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न सकस हुने बहस पनि चल्न थालेको छ । एमाले र कांग्रेसमा प्रत्येक गाउँ र नगरपालिकामा प्रमुखदेखि वडा सदस्यसम्मका लागि दर्जनांै आकांक्षी छन् ।

‘लोकतन्त्रको आधारस्तम्भ स्थानीय सरकारको चुनाव दुई दशकपछि हुन लागेका कारण नेतृत्व लिन आकांक्षीको लर्को देखिनु स्वाभाविकै हो’, एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भने, ‘हाम्रो पार्टीमा हरेक गाउँ÷नगरदेखि वडास्तरसम्म चुनाव लड्ने आकांक्षा राख्ने साथी थुप्रै हुनुहुन्छ ।’ 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रस्तावित गाउँ र नगरपालिकाका आधारमा आगामी निर्वाचनबाट दोलखामा १८ जना प्रमुख र १८ जना उपप्रमुख, ७४ जना वडाध्यक्ष र २ सय ९६ जना वडा सदस्य गरेर ३ सय  ८८ जनप्रतिनिधि चुनिनेछन् ।

नेताहरूका अनुसार प्रमुख तीन दलमा चुनाव लड्ने आकांक्षीको संख्या धेरै भएकाले व्यवस्थापन गर्न बढी नै कसरत गर्नुपर्ने देखिन्छ । झन्डै २० वर्षपछि हुन लागेको निर्वाचनमा उम्मेदवार बन्न बुढापाकादेखी युवा पुस्तासम्म आकांक्षी छन् ।

जिल्लाको सबैभन्दा बढी मतदाता भएको भीमेश्वर नगरपालिका प्रमुखमा कांग्रेसभित्र ईश्वर मानन्धर, बाबुकाजी बस्नेतलगायत आकांक्षीको नाम चर्चामा छ ।  एमालेमा भरत केसी, राजेन्द्र मानन्धर,  हरिवंश चौलागाईं, चिरञ्जीवी मास्के, भुवन केसी र माओवादी केन्द्रमा मोहन थापालगायतको नाम चर्चामा आएको छ।

त्यस्तै जिरी नगरपालिकाको प्रमुखमा कांग्रेसबाट टंक जिरेल, प्रकाशमानसिहं पाख्रिन, पासाङ शेर्पा, केन्द्रबहादुर सुनुवार, अमृत जिरेल, भोलाराम चापागार्इंलगायतको नाम चर्चामा छ । एमालेमा मित्र जिरेल, लिलाराम खड्का, तेजबहादुर खड्का, टपेन्द्र खड्का, गोपाल जिरेल, मरिचबहादुर खड्का लगायतको चर्चा छ । माओवादी केन्द्रबाट नवीन जिरेल, तेजबहादुर गोले, ग्याल्बु शेर्पा, शम्भु दाहाललगायतले आकांक्षा देखाएका छन् ।

वैत्येश्वर गाउँपालिका प्रमुखका लागि कांग्रेसका छवी लामा, श्याम उप्रेती, राजु उप्रेती, कृष्ण दाहाल, एमालेका भीम दाहाल, माधव घिमिरे, ऋषिकेश उप्रेती, धर्मेन्द्र मोक्तान, हर्कमान पाख्रिन, रोचकुमारी चौलागाईलगायत आकांक्षी देखिएका छन् । माओवादी केन्द्रमा रविचन्द्र आचार्य, पर्शुराम रिमाल, लक्ष्मण खड्का लगायतको नाम चर्चामा छ ।

तामाकोशी गाउँपालिका प्रमुख पदका लागि कांग्रेसका भवेन्द्र कार्की, कुन्दनराज काफ्ले, विनिता अधिकारी, रामप्रसाद काफ्ले, नरहरि सुवेदी, सिर्जना सुवेदीलगायतले चुनाव लड्ने बताइरहेका छन् । सोही पदका लागि एमालेका प्रोणप्रताप केसी, नारायणध्वज खड्का, बाबुकाजी कार्की, जिवसराज खड्का, सिर्जना कार्की र माओवादी केन्द्रमा शम्भु फुयाँल, सन्तोष फुयाँल, वासु पोखरेल लगायत आकांक्षी छन् । बिगु गाउँपालिका प्रमुखमा कांग्रेसका श्यामराजा खड्का, आङनिमा शेर्पा, हरिबहादुर श्रेष्ठ, हस्त थामी, तीर्थ खड्का र एमालेका  सुन्दर विश्वकर्मा, कुमार खड्का, ठूला थामीलगायतले चुनाव लड्ने सोच बनाएका छन् । गौरीशंकर गाउँपालिका प्रमुख पदका लागि कांग्रेसका कमलविक्रम कार्की, श्यामसुन्दर तमाङ, गौतम श्रेष्ठ, एमालेका स्वयंबहादुर खड्का, सरस्वती बस्नेत, शुभ शेर्पा, प्रेम खड्का, जंग गुरुङ, महाराज गुरुङ र माओवादी केन्द्रमा छिरिङ शेर्पा, निमा तमाङ लगायत आकांक्षी देखिएका छन् ।

कालिञ्चोक गाउँपालिका प्रमुख पदमा कांग्रेसका राम मैनाली, सीताराम शाही, जगतमणि शिवाकोटी, सन्तोष पाठक, रतिराम शिवाकोटी, सन्तोष पाण्डmे एमालेका होम पाठक, डबल पाण्डे, कालिका पाठक, विमकुमार थामी  र माओवादी केन्द्रबाट नरबहादुर पाख्रिन, गोपाल पाण्डे, कुलबहादुर बुढाथोकी लगायतको नाम चर्चामा छ।

त्यसैगरी मेलुङ गाउँपालिका प्रमुख पदका लागि  कांग्रेस वृतमा बर्मा लामाको नाम बढी चर्चामा छ । सोही पदका लागि एमालेका हिरा थोकर, नरबहादुर श्रेष्ठ, गोपाल न्यौपाने र माओवादी केन्द्रका कृष्ण कार्कीलगायत आकांक्षी देखिएका छन् । शैलुङ गाउँपालिका प्रमुख पदमा कांग्रेसका दावादोर्जे लामा, सिंहबहादुर तमाङ, रामेश्वर उप्रेती, कृष्णध्वज योञ्जन, एमालेका गुणबहादुर बुढाथोकी, भुवनसिंह थापा, भरत दुलाल, धनबहादुर तमाङ र माओवादी केन्द्रका कमल श्रेष्ठ, रिमालबाबु श्रेष्ठ लगायतको नामा चर्चामा आएको छ।

कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्काका अनुसार दुई दशकपछि हुन लागेको चुनावमा उम्मेदवारका आकांक्षी धेरै भएकाले  पार्टीले स्थानीय तहमै सहमति जुटाएर उम्मेदवार बनाउने अधिकार दिने तयारी गरेको छ । ‘हामीले उम्मेदवारबारे अध्ययन गर्न र पार्टी नेतृत्वलाई सुझाउन सबै गाउँ÷नागरपालिकामा टोली खटाइसकेका छौं’, उनले भने, ‘ती टोलीको सुझाव र पार्टीका तल्लो समितिमार्फत आएको सुझावका आधारमा उम्मेदवारी टुंग्याउनेछौं । कांग्रेस जिल्लासचिव सन्तोष रिमालका अनुसार उम्मेदवारीबारे सकभर गाउँस्तरबाट टुंग्याउन सबै समितिलाई लिखित पत्राचार गर्ने तयारी छ ।

एमालेभित्र पनि उम्मेदवार बन्न तँछाड–मँछाड छ । ‘हो हाम्रो पार्टीमा आकांक्षी धेरै हुनुहुन्छ’, जिल्ला अध्यक्ष पोखरेलले भने, ‘त्यसैले मापदण्ड बनाएर सबैलाई चित्त बुझ्नेगरी उम्मेदवारबारे निर्णय गरिनेछ ।’ एमाले जिल्ला कार्यालय निकटहरूका अनुसार प्रत्येक गाउँ÷नागरपालिकामा पार्टीबाट प्रमुख र उपप्रमुख बन्न  दर्जनजति आकांक्षी छन् ।

माओवादी केन्द्रमा पनि उम्मेदवार बन्न चाहनेको लर्को ठूलै छ । कार्यकर्ताले शान्ति प्रक्रियापछि पार्टीमा आएका र पुराना कार्यकर्ता सबैलाई मिलाएर उम्मेदवार तय गर्न नेतृत्वलाई दबाब दिएका छन्। 

कांग्रेसले घोषणा गर्‍यो पहिलो उम्मेदवार

कांग्रेसले नयाँ संरचना अनुसार भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा भक्तसिंह थामीलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ।

वडा नं १ को अध्यक्ष पदमा थामीलाई उठाउने स्थानीय पार्टी समितिको सहमति भएपछि जिल्ला सभापति रुद्रबहादुर खड्काले गत साता गाउँमै आयोजित सभामा उनलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन्। उनले थामीको नाम जिल्ला कार्य समिति बैठकले  अनुमोदन गर्नेसमेत बताए।

प्रकाशित: ३० फाल्गुन २०७३ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App