६ वैशाख २०८१ बिहीबार
राजनीति

समर्थन फिर्ता नगर्न मोर्चासँग आग्रह

काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मधेसी मोचासँग आग्रह गरेका छन्। देउवाले आफ्नै निवास बूढानीलकण्ठमामा आइतवार तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरी संविधान संशोधन पारित गर्न सरकारले पहल गरिरहेको भन्दै यस्तो बेलामा समर्थन फिर्ता नलिन आग्रह गरेका हुन्।

देउवाले मधेसमा स्थानीय तहको संख्यामा थप गर्ने आश्वासन  पनि दिएका थिए । ‘संविधान संशोधनका लागि सरकारले प्रयास गरिरहेको छ । दुई तिहाइ पु¥याउन पहल भइरहको छ’, ठाकुरसँग देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो बेलामा तपाईंहरूले सरकारलाई दिएको समर्थन फिर्ता नलिनुहोस् ।’

ठाकुरले भने संविधान संशोधन भएमात्र मोर्चा चुनावमा जाने बताएका थिए । भेटपछि ठाकुरले नागरिकसँग भने, ‘उहाँ (देउवा) ले समर्थन फिर्ता नलिन आग्रह गर्नुभयो । मैले उहाँलाई  संविधान संशोधन गरेर देखाउनुहोस् भनें । हामीले खोजेको पनि संशोधन हो ।’

देउवासँगको भेटमा ठाकुरले संविधान संशोधन नभई चुनाव हुन नसक्दै भन्दै सरकारले जबरजस्ती चुनाव गर्न खोजेमा स्थिति अहिलेको भन्दा पनि खराब हुने बताएका थिए । स्रोतका अनुसार उनले संविधान संशोधन नभई सरकारले चुनाव गर्न खोजेमा मधेसमा स्थिति काबुभित्र पनि नरहने बताएका थिए । ‘संशोधन नगरीकन चुनाव गर्न खोजेमा स्थिति यस्तो हुनेछ, त्यसपछि हामीले चाहेर पनि नियन्त्रण गर्न सक्दैनांै’, उनले भनेका थिए ।

ठाकुरले सरकारले घोषणा गरेको वैशाख ३१ गतेको मिति फिर्ता लिन पनि आग्रह गरेका थिए । ‘वैशाख ३१ गतेको मिति फिर्ता लिनुहोस् भनेर मैले भनें । उहाँले संशोधन गर्छौं भन्नुभएको छ’, ठाकुरले भने ।

संविधान संशोधन हुने सुनिश्चित भएमा मोर्चा सरकारसँग केही लचिलो हुने संकेत पनि ठाकुरले गरे । ‘संशोधन निश्चित भयो भने हामी पनि विचार गर्छौं’, उनले भने । मोर्चाले सरकारलाई दिएको सातदिने अल्टिमेटम आगामी चैत २गते सकिनेछ । मोर्चाले यही फागुन २३ गते सरकारसँग सात दिनभित्र परिमार्जनसहित संशोधन गर्न, वैशाख ३१ क लागि तोकिएको स्थानीय तह चुनावको मिति फिर्ता लिन माग राख्दै माग पूरा नभएमा सात दिनपछि सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने बताएको थियोे ।

कांग्रेस पदाधिकारीको शनिबार बसेको बैठकले मधेसी मोर्चाको समर्थन फिर्ता लिने निर्णय फिर्ता गर्नका लागि पहल गर्ने निर्णय गरेको थियो  । सो निर्णयअनुसार आइतबार देउवाले ठाकुरसँग कुराकानी गरेका थिए । आइतबार मोर्चाका प्रायः सबै शीर्ष नेता सप्तरीमा छन् । तमलोपा अध्यक्ष ठाकुर, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव भने स्वावस्थ्यको अवस्थाको कारण काठमाडांैमा बसेका थिए। काठमाडांैमा भएका बेला ठाकुरले देउवासँग भेट गरेका थिए ।

स्रोतका अनुसार चैत २ गतेपछि कस्ता कार्यक्रम गर्ने भन्नेमा मोर्चाका नेताहरूले आन्तरिक छलफल सुरु गरेका छन्।

प्रकाशित: ३० फाल्गुन २०७३ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App