पेरिस- क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग आइतबार स्टेड डे फ्रान्स रंगशालामा खेल्दा आयोजकले एउटा भावनात्मक जितको अपेक्षा गर्नेछ।
नोभेम्बरमा यही रंगशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण खेल भइरहँदा आत्मघाती बम हमलाका कारण १ सय ३० जनाको ज्यान गएको थियो। उक्त घटनाले युरोपियन च्याम्पियनसिप नै हुने नहुनेमा शंका उत्पन्न भएको थियो। तर, फ्रान्सले बिहीबार सेमिफाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। अब आयोजक फ्रान्स तेस्रोपटक घरेलु मैदानमा ठूलो प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छ। यसअघि फ्रान्सले घरेलु मैदानमा १९८४ को युरोपियन च्याम्पियनसिप र १९९८ को विश्वकप उपाधि जितेको थियो।
‘अहिले धेरै उत्साह बढ्नुका साथै फ्रान्समा धेरै खुसी छाएको छ,’ जर्मनीलाई पराजित गरेपछि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले भनेका थिए, ‘हामी दाबा गर्दैनौं कि फ्रान्सेली जनताको समस्या समाधान गर्न सक्छौं। तर हामीसँग उनीहरूको चिन्ता बिर्साउने र खुसी बनाउन सक्ने क्षमता छ।’
नोभेम्बरमा भएको आतंककारी हमलाले विशेष गरी फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानलाई प्रभाव पारेको छ। स्टेड डे फ्रान्स रंगशालाको मैदानमा उनी खेलिरहेका थिए भने उनकी दिदी बाटक्लेन कन्सर्ट हलमा थिइन्।
युरोपियन च्याम्पियनसिपका लागि फ्रान्स आउनु अघि उनी एट्लेटिको मड्रिडबाट च्याम्पियन्स लिग फाइनलमा पेनाल्टीबाट गोल गर्न चुकेका थिए। मिलानमा भएको उक्त खेल रियाल मड्रिडले जितेको थियो।
त्यस्तै उनले युरोपियन च्याम्पियनसिपमा राम्रो सुरुआत गर्न सकेनन्। फ्रान्सले रोमानियालाई हराउँदा उनले कमजोर प्रदर्शन गरे तर अल्बानियाविरुद्ध ९० औं मिनेटमा गोल गरेपछि ग्रिजम्यानले आफ्नो लय समाउन थाले। त्यसपछि उनले नकआउट चरणका तीनै (आयरल्यान्ड, आइसल्यान्ड र जर्मनी) खेलमा गोल गरेका छन्।
प्रतियोगितमा ६ गोल (अन्य खेलाडी भन्दा ३ गोल धेरै) गरिसकेका उनी गोल्डेन बुट र युइएफए प्लेयर अफ टुर्नामेन्टका बलियो दाबेदार पनि हुन्।
यता रोनाल्डोले पनि ठिक समयमा लय भेट्टाएका छन्। उनको सशक्त हेड गोल मद्दतमा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २–० ले पराजित गरेको थियो। वेल्सविरुद्ध दोस्रो खेलमा पनि रोनाल्डोले गोलको अवसर सिर्जना गरिदिएका थिए।
फ्रेबुअरीबाट ३१ वर्ष लागेका रियाल मड्रिडका स्टार रोनाल्डोलाई राम्रो थाहा छ कि पोर्चुगलबाट मुख्य अन्तर्राष्ट्रिय उपाधि जित्ने यो भन्दा राम्रो मौका अरु हुनेछैन भनेर।
भाग्यमानी डेसच्याम्पस
रोनाल्डोले अहिलेसम्म फ्रान्सविरुद्ध जितको खुसी मनाउन पाएका छैनन्। तर १९७५ यताका पछिल्लो १० खेलमा हार बेहोर्दा उनी एक्लैले हारेका भने होइनन्।
यसबीचमा फ्रान्सले दुईपटक युरोपियन च्याम्पियनसिपमा पोर्चुगललाई पराजित गरेको छ। मिचेल प्लाटिनीको नेतृत्वमा युरो १९८४ र जिनेदिन जिदानको नेतृत्वमा युरो २००० को सेमिफाइनलमा फ्रान्सले पोर्चुगललाई पराजित गरेको थियो। त्यस्तै २००६ विश्वकपको सेमिफाइनलमा पनि फ्रान्सले पोर्चुगललाई हराउँदै फाइनल यात्रा तय गरेको हो।
युरो २००४ मा ग्रिससँग १–० ले पराजित हुनु नै पोर्चुगलको पछिल्लोपटक ठूलो प्रतियोगिताको फाइनल हो।
फ्रान्सले १९९८ विश्वकप र २००० युरो जित्दा ४७ वर्षे डेसच्याम्पस कप्तानी भूमिका थिए। घरेलु मैदानमा तेस्रो ठूलो उपाधि नजिक हुँदा डेसच्याम्पस प्रशिक्षकको भूमिकामा छन्।
बिहीबार जर्मनीविरुद्ध पूरै समय दबाबमा खेलेर पनि जित निकाल्न सफल भएपछि पूर्व युभेन्ट्स मिडफिल्डर डेसच्याम्पसलाई फ्रान्समा भाग्यमानीको रूपमा हेर्न थालिएको छ।
उनै डेसच्याम्पसको टोलीलाई फाइनलमा बलियो मानिएको छ तर वेल्सविरुद्ध दमदार जित निकालेपछि पोर्चुगलले पनि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ। त्यसअघि पोर्चुगलले कुनै पनि खेल निर्धारित ९० मिनेटभित्रमा जित्न सकेको थिएन।
‘हामी हाम्रो क्षमतामा विश्वास गर्छौं,’ पोर्चुगलका मिडफिल्डर जोओ मारियोले भने, ‘प्रशिक्षकले हामीमा यो आत्मविश्वास जगाएका छन् र यो गति प्रदान गरेका छन्। सधैं हाम्रो आलोचना भयो। यहाँमात्र होइन पोर्चुगलमा पनि। तर हामीलाई विश्वास छ। फाइनलमा त्यो प्रमाणित गर्ने प्रयास गर्नेछौं।’
पोर्चुगलका प्रशिक्षक सान्तोस सेन्टरब्याक पेपेको चोटमा चिन्तित छन्। चोटकै कारण पेपेले बुधबार वेल्सविरुद्धको खेल गुमाएका थिए। ब्रुनो अल्भेस उनको विकल्पमा खडा छन् भने डिफेन्सिभ मिडफिल्डर विलियम कार्भाल्हो पनि करिब ३० करोड जनाले टेलिभिजनमा हेर्ने अनुमान गरिएको खेलका लागि निलम्बनबाट फर्किएका छन्।
फ्रान्सेली डेसच्याम्पस भने ४–३–२–१ को रणनीतिमा खेल्ने वा मिडफिल्डर एन‘गोले कान्टेलाई अगाडि राखेर ४–३–३ को रणनीतिमा उत्रने भन्नेमा दोधार छन्।
प्रकाशित: २६ असार २०७३ ०४:०८ आइतबार