७ वैशाख २०८१ शुक्रबार
खेल

दुई राष्ट्रबीचको पाँच महत्वपूर्ण खेल

पेरिस- आइतबार युरो २०१६ को फाइनलमा आयोजक फ्रान्स र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलबीच फाइनल हुँदैछ। दुई राष्ट्रबीच यसअघिका पाँच महत्वपूर्ण खेल :

फ्रान्स ५–३ पोर्चुगल, १९५९ नोभेम्बर (मैत्रीपूर्ण)

दुई देशबीच यो सबैभन्दा धेरै गोल भएको खेल हो। यसमा फ्रान्सका जस्ट फोन्टेनले ह्याटि्रक गरेका थिए। उनी स्विडेनमा भएको विश्वकपमा पनि सबैभन्दा धेरै (१३) गोल गर्ने खेलाडी थिए।

४८ हजार १ सय ११ समर्थक उपस्थित पेरिसको स्टेड डे कोलम्बसमा फ्रान्सले २२ मिनेटभित्रै ३–० को अग्रता लिएको थियो।

फ्रान्स ०–२ पोर्चुगल, १९७५ अप्रिल (मैत्रीपूर्ण)

स्टेड डे कोलम्बस १९७२ मा पार्क डेस प्रिन्समा परिणत भएको ३ वर्षपछि फ्रान्सले पुनः पोर्चुगलसँग मैत्री खेल खेल्यो। १९६६ विश्वकपपछि फ्रान्स र पोर्चुगल ठूलो प्रतियोगतामा आमनेसामने भएका थिएनन्। उक्त खेलमा फ्रान्स २–० ले पराजित भयो।

बेन्पि्ककाका नेनेले २१ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाए। फ्रान्सका गोलकिपर रेने कारियरको कमजोर प्रदर्शनमा ६४ औं मिनेटमा मारियो माटेउस ‘मारिन्हो’ ले अर्को गोल थपेपछि फ्रान्सको हार निश्चित भयो।

फ्रान्स ३–२ पोर्चुगल (थप समय) (युरोपियन च्याम्पियनसिप १९८४, सेमिफाइनल)

दुई टोलीले पहिलोपल्ट प्रतिस्पर्धात्मक खेल खेलेका थिए। तर मार्सेस्थित स्टेड डे भेलोड्रोम रंगशालामा घरेलु टोलीले नाटकीय जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो। जेन फ्रान्कोइस डोमेरगुईले २४ औं मिनेटमा फ्रान्सलाई अग्रता दिए। तर, खेल सकिन १६ मिनेट बाँकी रहँदा पोर्चुगलका रुइ जोर्डोले बराबरी गोल फर्काएका थिए।

निर्धारित समय १–१ मा सकिएपछि थप समयको आठौं मिनेटमा जोर्डोको गोलमा पोर्चुगलले अग्रता लियो। तर २४ औं मिनेटमा डोमेरगुईले बराबरी गरे भने अन्तिम १ मिनेटमा मिचेल प्लाटिनीले अर्को गोल थपेपछि फ्रान्सले फाइनल पक्का गर्‍यो। फाइनलमा फ्रान्सले स्पेनलाई २–० ले पराजित गर्दै उपाधी उचालेको थियो।

फ्रान्स २–१ पोर्चुगल (थप समय) (युरो २०००, सेमिफाइनल)

पुनः अर्को युरोपियन च्याम्पियनसिपको अन्तिम ४ को प्रतिस्पर्धामा फ्रान्स २–१ ले विजयी भयो। यो खेलमा पनि फ्रान्सलाई जित पाउन थप समयसम्म कुर्नुपर्‍यो।

नुनो गोमेजको गोलमा पोर्चुगलले १९ औं मिनेटमा अग्रता लियो। तर थिएरी हेनरीले ५१ औं मिनेटमा बराबरी गोल फर्काए। निर्धारित ९० मिनेट १–१ मा टुंगिएपछि खेल थप समयमा लम्बिएको थियो। १ सय १७ औं मिनेटमा जिनेदिन जिदानको गोलपछि फ्रान्सले फाइनल तय गरेको थियो।

फ्रान्स १–० पोर्चुगल (विश्वकप २००६ सेमिफाइनल)

युरो २००० सेमिफाइनलमा निर्णायक गोल गरेका जिदान ६ वर्षपछि फेरि निर्णायक बने। यो खेललाई दुई रियाल मड्रिडका स्टार जिदान र लुइस फिगोबीचको खेलका रूपमा पनि लिइएको थियो।

३३ औं मिनेटमा रिकार्डो कार्भाल्होले हेनरीलाई फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। त्यसलाई जिदानले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए। फाइनलमा फ्रान्स इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

प्रकाशित: २६ असार २०७३ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App