७ वैशाख २०८१ शुक्रबार
खेल

दुवैलाई उत्कृष्ट प्रमाणित गर्ने अवसर

युरोपियन च्याम्पियनसिपको फाइनलमा आइतबार राति आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ। अब यो अन्तिम खेलमा आएर एउटालाई दाबेदार वा अर्कोलाई अन्डर डग भन्नुको अर्थ हुन्न। पछिल्ला ६–६ खेलको आरोह–अवरोह पार गर्दै यी दुई टोलीले आफूलाई उपाधि नजिक पुर्‍याएका थिए। त्यसैले अब दुवै टोली दाबेदार हुन्। उनीहरूले आफूलाई उत्कृष्ट प्रमाणित गरेर नै उपाधिको हकदार बनाउँदै छन्। समूह वा नकआउट चरणको प्रदर्शनले मात्र उनीहरूको क्षमताको अनुमान गर्नु पनि आफैमा कठिन काम हो। खेल सधैँ एकनासे हुँदैन। त्यस्तै नतिजा पनि सधैं अपेक्षा गरिएजस्तो हुँदैन।

समूह चरणमा एकै खेल नजितेको पोर्चुगल फाइनलसम्म पुग्ला र भन्ने जति थिए, जर्मनीसँगको पूरै दबाबमा परेर पनि फ्रान्सले नतिजा निकाल्न सक्दैन भन्ने पनि कमी थिएन। फुटबल त्यस्तो रोमाञ्चक खेल हो, जहाँ दाबेदार मानिएको टोली हार्न सक्छ भने जित्ने आशा नगरिएका टोलीले सफलता प्राप्त गरेको हुन्छ। विश्व फुटबलमा सधँै चर्चामा रहने इङ्ल्यान्डलाई ३ लाख ३० हजार जनसंख्याको भएको देश आइसल्यान्डले हराउला भन्ने कमैले अनुमान गरेका थिए। तर, फुटबललाई ठूलो नाम वा भूगोलले पनि फरक पार्दैन भन्ने यो च्याम्पियनसिपका क्रममा अझै राम्ररी प्रस्ट भएको छ।

पोर्चुगलको समूह चरण जति कठिन रह्यो। फ्रान्सको यात्रा भने निकै सहज थियो। समूह चरणका कुनै खेल जित्न नसके पनि पोर्चुगलले यो च्याम्पियनसिपमा हार बेर्होनुपरेको छैन। कठिनभन्दा कठिन संघर्ष गरेर पनि पोर्चुगलले आफूअनुकूल नतिजा निकालेको छ। पहिलोपटक २४ राष्ट्र सहभागी गराउँदा समूहको तेस्रो भएर पनि नकआउट चरण पुग्ने सम्भावना रह्यो। त्यसको प्रत्यक्ष फाइनल पुगेको टोलीमध्ये पोर्चुगल एउटा हो। नकआउट चरणमा पनि संघर्ष गर्दै अघि बढेको पोर्चुगलले सेमिफाइनलमा मात्र केही आरामदायी नतिजा निकालेको थियो। यता सेमिफाइनल बाहेकका खेलमा फ्रान्सले धेरै ठूलो चुनौतीको सामना गर्नुपरेन। प्रिक्वार्टरमा आयरल्यान्डसँग पछि परेर पनि फ्रान्सले नतिजा उल्टाएको थियो। त्यसबाहेक ठूलो चुनौती भनेको फ्रान्सका लागि जर्मनीकै थियो। सम्भवतः फाइनलमा पोर्चुगलको सामना गर्नु भन्दा पनि जर्मनीसँगको चुनौतीमा सफल हुनुले फ्रान्सलाई भाग्यमानी भन्न सकिन्छ। तर, सधैँ भाग्यले मात्र साथ दिँदैन। भाग्यले विपक्षी टोलीलाई पनि साथ दिन्छ।

इतिहास जति नै बलियो भए पनि खेलका दिन राम्रो खेल्न नसक्दा निराश हुनुपर्दछ। फ्रान्सले घरेलु मैदानमा सन् १९९४ मा भएको युरोपियन च्याम्पियनसिप र १९९८ मा भएको विश्वकप दुवैमा उपाधि जितेको थियो। यसपटक पुनः घरमा युरोपियन च्याम्पियनसिप घरेलु मैदानमा आयोजना हुँदा फ्रान्सले पुनः जित्छ  भन्ने अनुमान गरिएको छ। घरमा आयोजना भएकै कारण मात्र फ्रान्सले जित्ने अनुमानभन्दा पनि टोलीले यो च्याम्पियनसिपमा गरेको प्रदर्शन उपाधि जित्ने एउटा बलियो आधार हो।

प्रतियोगिताअघि फ्रान्सलाई मुख्य दाबेदारमा हेरिएको थिएन। तर, यो प्रतियोगितामा जसरी टोलीले एकपछि अर्को खेलमा सुधार गर्दै लग्यो र जर्मनी जस्तो टोलीसँग दबाबमा रहेर पनि आफूअनुकूल नतिजा निकाल्न सक्यो। त्यसका आधारमा फ्रान्सले फाइनल जित्छ भन्न सकिन्छ। तर, त्यति मात्र होइन टोलीका फरवार्ड र मिडफिल्ड एकदमै प्रभावकारी देखिएका छन्। त्यसमा रक्षापंक्तिका खेलाडी र गोलकिपरको पनि त्यत्तिकै महŒवपूर्ण साथ छ। ओलिभर जिरौड, एन्टोनी ग्रिजम्यान, दिमित्री पायेट, पाउल पोग्बा जस्ता खेलाडी सबै फर्ममा छन्। जारी च्याम्पियनसिपमा धेरै खेलाडीले गोल गर्ने टोलीमा फ्रान्स पर्छ भने सबैभन्दा बढी गोल गर्ने टोली पनि त्यही हो। अहिले युरोपियन च्याम्पियनसिप जित्नु भनेको दुई वर्षपछि रुसमा हुने विश्वकपको दाबेदारमा आफूलाई प्रस्तुत गर्नु पनि हो। २००० मा युरोपियन च्याम्पियसिप जितेयता फ्रान्सले ठूलो प्रतियोगिता जितेको छैन। १६ वर्षको उपाधि खडेरी तोड्ने त्यो पनि घरेलु मैदानमै सायद यो भन्दा अर्को राम्रो मौका फ्रान्सका लागि हुने छैन। टोलीले यो अवसर खेर जान नदिन हरसम्भव प्रयास गर्नेछ।

तर, त्यसका लागि टोलीले क्षमताअनुरुप खेल्नुपर्छ। जर्मनीसँग एट्याक गर्न सकेन। जर्मनीलाई रोकेर उसकै गल्तीको फाइदाले मात्र फ्रान्स विजयी भएको थियो। आफै खेलेर मात्र फ्रान्सले जितेको होइन। जर्मनीसँग जस्तो पोर्चुगलसँग दबेर खेल्न आवश्यक छैन। दबेर खेल्नु भनेको आफैमाथि दबाब बढाउनु हो।

फ्रान्समात्र होइन, हरेक विपक्षीसामु पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा चुनौतीका खेलाडी हुन्। जर्मनीका फरवार्डलाई रोकेका कारण फ्रान्सको मनोबल उच्च हुनसक्छ, तर त्यतिले मात्र रोनाल्डोलाई रोक्न कठिन हुनसक्छ। उनलाई रोक्न थप मिहिनेत गर्नैपर्छ। पोर्चुगल विङ्सबाट बढी खेल्ने र रोनाल्डोलाई बढीभन्दा बढी बल सप्लाई गर्ने टोली हो। रोनाल्डोसम्म बल पुग्नुअघि रोक्न सक्यो भने फ्रान्सलाई त्यसको फाइदा पुग्नेछ। पोर्चुगलको खेल अहिले पनि रोनाल्डोकै वरिपरि घुम्छ, फ्रान्सले त्यसको अध्ययन पक्कै गरेको हुनुपर्छ। रोनाल्डोलाई रोक्ने, काउन्टर एट्याक र विथबलमा निकै राम्रो फ्रान्सले फाइनलमा पनि त्यही प्रदर्शन निरन्तरता पार्ने हो भने उपाधि जित्ने सम्भावना बढी रहन्छ।

रोनाल्डो असाधारण क्षमताका खेलाडी हुन्। तर, त्यो टोलीमा रोनाल्डोमात्र छैनन्। नानी, रेनाटो सान्चेज, जाओ मारियो जस्ता खेलाडी पनि उत्तिकै फर्ममा छन्। उनीहरूलाई रोक्न पनि फ्रान्सलाई सहज हुने छैन।

रक्षापंक्तिका पेपे फाइनलमा फर्किए भने त्यो टोली थप मजबुत हुनेछ। नकआउटमा जस्तै टोलीलाई पनि दबाब हुन्छ। पोर्चुगलले जित्नका लागि आफ्नो स्वाभाविक खेल खेल्नुपर्छ। पोर्चुगल र फ्रान्सको समानता भनेको दुवै एट्याकिङ खेल्ने टोली हुन्। जर्मनीसँग जस्तै फ्रान्सले दबेर खेल्यो भने पोर्चुगलले त्यसको फाइदा पक्का पनि उठाउने छ।

फाइनलमा जसले पहिला गोल गर्छ त्यही टोलीको जित्ने सम्भावना बढी हुन्छ। गोल खाइसकेको टोली स्वाभाभिक दबाबमा आउँछ। सधँै रक्षापंक्ति र गोलकिपरले उच्च प्रदर्शन गर्न सक्छन् भन्ने छैन।

सम्भावना फ्रान्सको बढी छ। पोर्चुगलमा जसरी फाइनल पुगेको छ, त्यसअघि उसको प्रदर्शनमा उतारचढावपूर्ण छ। पोर्चुगल सफल हुनलाई फ्रान्सको आक्रामक लाइन निस्तेज पार्न सक्नुपर्छ। पोर्चुगलले जारी च्याम्पियनसिपमा सबैभन्दा ठूलो चुनौती सम्भवत फ्रान्सबाटै पाउनेछ। फ्रान्सलाई खेल्न टाइम र स्पेस दिएन भने पोर्चुग्लको जित्ने सम्भावना हुन्छ। ठूलो खेलमा कुनै गल्ती क्षम्य हुँदैन।

प्रकाशित: २६ असार २०७३ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App