६ वैशाख २०८१ बिहीबार
खेल

ब्याटिङ नचल्दा नेपाल पराजित

काठमाडौं- पटकपटक वर्षाले प्रभावित आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले पराजित भएको छ। यससँगै दीपेन्द्रसिंह ऐरी र सुनील धमलाको डेब्यु सुखद हुन सकेन।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण ढिलो सुरु भएकाले खेल ३८ ओभरमा छोट्याइएको थियो। टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३६ ओभरमा ९ विकेट गुमाई १ सय १२ रन बनाएर खेलिरहँदा पुनः पानी परेपछि खेल केहीबेर रोकिएको थियो। त्यसपछि ‘डक वर्थ लुइस’ का आधरमा केन्याले २९ ओभरमा १ सय ४ रनको लक्ष्य पायो। केन्याले २१.२ ओभरमा ५ विकेट गुमाएर ८० रन बनाउँदा पुनः वर्षाले खेल अवरोध भएपछि भ्रमणकारी टोलीले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य केन्याले ११ बलअघि पूरा गर्‍यो।

घरेलु मैदानमा भोगेको पराजयपछि शीर्ष चारमा रहेर विश्वकप छनोट प्रतियेगिता खेल्ने नेपालको सम्भावना भाग्यको भरोसामा पुगेको छ। शीर्ष चारमा पर्न नेपालले बाँकी सबै खेल जिते पनि अन्य टोलीको नतिजामा निर्भर हुनुपर्नेछ।

‘हाम्रो सम्भावना सकिइसक्यो भन्न मिल्दैन,’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘तर, विश्वकपको सपना देख्ने हो भने सबै खेलाडीले आफूलाई प्रमाणित गर्न सक्नुपर्छ। आशा गरौं आगामी दिनमा राम्रो हुनेछ।’

ओपनिङमा सुनीललाई डेब्यु गराएको नेपालले मध्यम सुरुआत गरेको थियो। तर पाँचौं ओभर बलिङ गरेका एलिजा ओटिएनोको तेस्रो बलमा सुनीलले राकेप पटेललाई क्याच थमाए। त्यसपछि नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो साझेदारी गर्न सकेनन्। सुनीलले ज्ञानेन्द्रसँग पहिलो विकेटका लागि २१ रनको साझेदारी गरे।

सागर पुनसँग दोस्रो विकेटका १६ रनको साझेदारी गरेको अवस्थामा ज्ञानेन्द्र २७ रनको स्थितिमा बोल्ड भए। नेहमिआ ओधियाम्बोको बलमा आउट हुनुअघि ज्ञानेन्द्रले लगातार २ चौका प्रहार गर्दा 'नेपाल... नेपाल...' ले गुञ्जायमान बनेको मैदान उनी बोल्ड भएपछि शान्त बनेको थियो।

त्यसपछि दीपेन्द्रसिंह ऐरीले डेब्यु जनाए। लगत्तै सागर पनि ओधियाम्बोको बलमा कोलिन्स ओबुयाबाट क्याच भए। त्यसपछि दीपेन्द्रले नेपालको इनिङ सम्हाल्ने प्रयास गरे। शरद भेषावकर(३)सँग चौथो विकेटका लािग १० रनको साझेदारी गरेका दीपेन्द्रले विनोद भण्डारी (४) सँग पाँचौं विकेटका लागि ११ रनको साझेदारी गरे। दुई वर्षपछि राष्ट्रिय टोलीमा आएका मेहबुबले पुनरागमनलाई यादगार बनाउन सकेनन्। मेहबुब ७ बलमा २ रन जोड्दा पटेलको बलमा विकेटकिपर इरफान करिमबाट क्याच भए।

अग्रपंक्ति र मध्यक्रमका ब्याट्सम्यानले लामो इनिङ खेल्न नसेकेको अवस्थामा शक्ति गौचन र सोमपाल कामीले नेपालको इनिङ उकास्ने प्रयत्न गरे। तर यी दुईको साझेदारीलाई वर्षाले बिथोल्यो। शक्ति र सोमपालले नवौं विकेटका लागि ३० रनको साझेदारी गरे। शक्ति १८ र सोमपाल १५ बलमा अविजित रहँदा पानी परेपछि दुई ओभरअघि नै नेपालको इनिङ सकिएको थियो।

कप्तान ज्ञानेन्द्रले वर्षाले प्रभावित भएर ओभर छोट्याइएको खेलमा ठूलो साझेदारी बन्न नसक्नु कमजोरी भएको बताए।

‘पूरै ५० ओभर खेल्न पाएको भए सम्भावना हुन्थ्यो। त्यसमा पनि मध्यक्रममा ब्याटिङ राम्रो हुन सकेन। कुनै पनि बेला ठूलो साझेदारी गर्न नसक्नु आजको कमजोरी रह्यो,’ कप्तान ज्ञानेन्द्रले भने, ‘ओभर छोट्याइएकाले आज टस महŒवपूर्ण थियो। हामीले टस पनि हार्‍यौं। तथापि आजको खेलबाट हामीले धेरै सिकेका छौं। यसले आगामी दिनमा राम्रो गर्न सहयोग गर्छ।’

केन्याका शेम एनगोचेले ३ र नेल्सन ओधियाम्बोले २ विकेट लिए।

दोस्रो ओभर लिएर आएका वसन्त रेग्मीले दोस्रो बलमा ओपनर एलेक्स ओबान्डालाई सागरमार्फत क्याच लिए। त्यसपछि सातौं ओभरमा सागरले लगातार दुई विकेट लिएपछि नेपालले लक्ष्य जोगाउने संकेत गरेको थियो। ६.३ ओभरमा केन्या २१–३ को अवस्थामा थियो। तर कप्तान पटेल (अविजित ३४) र कोलिन्स ओबुया (२४) ले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेपछि नेपाल दबाबमा पर्‍यो।

दुईको साझेदारीलाई सन्दीप लामिछानेले तोडे। लगत्तै अर्को स्पेलमा सन्दीपले करण कौललाई पवेलियनको बाटो देखाउँदै नेपाललाई आशा जगाए। तर, गुरदीप सिंह र पटेलले छैटौं विकेटका लागि २७ रनको अविजित साझेदारी गरेपछि घरेलु दर्शक निराश बने।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले ४०, ५० रन कम बन्दा हार्नुपरेको बताए। उनले थपे, ‘हाम्रो योजनाअनुसार हुन सकेन। १ सय ६० रन जति बनेको भए हामी जित्न सक्थ्यौं।’

ब्याटिङमा राम्रो गरेका सोमपाल बलिङमा भने फ्लप रहे। ४.१ ओभर बलिङ गरेका सोमपालले ३ नोबल र २ वाइडसहित २८ रन दिए। सागर र सन्दीपले समान २ विकेट लिए भने वसन्तको नाममा १ विकेट रह्यो।

केन्याका प्रशिक्षक स्टिभ टिकोलोले योजना सफल हुँदा जित्न सफल भएको बताए। ‘बिहान पिचमा ड्यु थियो। त्यस्तो अवस्थामा टस जित्यौं। दिउँसो विकेट सहज हुदै गयो। सबै योजनाअनुरूप नै हुँदा हामी नतिजा निकाल्न सफल भयौं।’

नेपालले केन्याविरुद्ध सोमबार दोस्रो खेल खेल्नेछ। त्यसबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।

नियमित कप्तान पारस खड्का नखेल्दा टिम संयोजनमा असर परेको हो भन्ने प्र्रश्नमा कप्तान ज्ञानेन्द्रले भने, 'पारस राम्रा खेलाडी हुन्। कप्तान टिममा नहुँदा अभाव त खड्किहाल्छ, तर उनी सधैं टिममा हुँदैनन्, अन्य खेलाडीले पनि आफूलाई प्रमाणित गर्नुपर्छ।'

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App