४ वैशाख २०८१ मंगलबार
राजनीति

मोर्चालाई फकाउन कांग्रेस पहल

काठमाडौं- नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मधेसी मोर्चासँग पहल गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार पदाधिकारी, पूर्वपदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूबीच भएको छलफलले संविधान संशोधन प्रस्ताव छिटो अघि बढाउन मोर्चासँग पहल गर्ने निष्कर्ष निकालेको हो।

सप्तरी घटनापछि पाँचबुँदे माग राख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको अल्टिमेटम सकिन लाग्दा कांग्रेसले अहिलेको समीकरण कायम राख्न वार्ता अघि बढाउने भएको छ।

'मधेसी मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिर जाने कुरा गरिरहेको छ। मोर्चालाई बाहिर जान नदिन पार्टीले पहल गर्नेछ', नेता रामचन्द्र पौडेलले नागरिकसँग भने, 'संशोधन अघि बढाउन पनि पहल गर्नेछ।'

मधेसी मोर्चाका नेतासँग सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले कुरा गर्ने भएका छन्। दुवै नेताले आइतबार दिउँसो तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्न लागेको कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए।

'मोर्चालेलाई समर्थन फिर्ता लिएर बाहिर जान नदिन शीर्ष तहबाट पहल हुनेछ', यादवले भने, 'अहिलेको समीकरण कायम राख्दै संविधान संशोधनसहित निर्वाचन सम्पन्न गर्न पार्टीले दृढताका साथ पहल गर्नेछ।'

मोर्चाका माग सम्बोधन गर्न र संसद्मा विचाराधीन संश्ाोधन प्रस्ताव अघि बढाउन पनि पहल गर्नेछ। 'कांग्रेसले सरकारमा मधेसी मोर्चाको सहभागिता सुनिश्चित गर्न संशोधन प्रस्ताव अघि बढाउन पहल गर्नेछ', केन्द्रीय सदस्य एवं प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने, 'संशोधनमाथि संशोधन पनि परेका छन्। त्यसमा पनि छलफल गरेर अघि बढ्नुपर्छ।'

छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरूले संशोधनबिना तराईमधेसमा चुनाव सम्भव नरहेको धारणा राख्दै प्रस्ताव अघि बढाउन पहल लिन नेतृत्वलाई सुझाएका छन्। मधेसी मोर्चाको सहभागिताबिनाको निर्वाचन सम्भव नभएको जिकिर गर्दै नेताहरूले सहज र सबैको सहभागितामा निर्वाचनका लागि संशोधन आवश्यक रहेको तर्क गरेका छन्।

'संशोधनबिना चुनाव सम्भव छैन,' केन्द्रीय सदस्य यादवले भने, 'चुनावको सुनिश्चितता र तराईमधेसका जनताको भावना सम्बोधन गर्न संशोधन अघि बढाउनुपर्छ।'

बैठकले तोकिएकै मितिमा स्थानीय तह निर्वाचनको वातावरण बनाउन पनि पहल गर्ने निष्कर्ष निकालेको छ। नेताहरूले संविधान संशोधन र निर्वाचन अघि बढाउनुपर्ने भन्दै चुनावका लागि पार्टी आन्तरिक संगठन चुस्त बनाउन नेतृत्वसँग माग गरेका छन्।

मुलुकको राजनीतिक घटनाक्रम तीव्रगतिले विकास हुँदासमेत केन्द्रीय समिति बैठक नराखेकोे भन्दै उनीहरूले सभापतिको ध्यानाकर्षण गराएका थिए।

जबाफमा सभापति देउवाले केन्द्रीय समितिको बैठक छिट्टै राख्ने आश्वासन दिएका छन्। तर महामन्त्री शशांक कोइराला चैत ३ गते स्वदेश फर्केपछि मात्र केन्द्रीय समिति बैठक राख्ने तयारीमा रहेका देउवाले चैत १ गते पुनः पदाधिकारी, पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

त्यसबीचमा कांग्रेस नेताहरूले मोर्चाका नेताहरूसँग एक्लाएक्लै र सामूहिक रूपमा संविधान संश्ाोधन, स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्नेछन्।

कांग्रेस बैठकमा सप्तरी र कञ्चनपुर घटनाका विषयमा पार्टी नेतासमेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी गराएका थिए।

बैठकमा नेताहरूले मोर्चाको विरोध हुँदाहुँदै संसद्को दोस्रो ठूलो दल एमाले तराईमधेसमा भिड्न गएको आरोप लगाएका थिए। वार्ता र संवादमार्फत सम्भावित झडप रोक्न सरकारी पहल कम भएको जनाउँदै स्थानीय प्रशासनले पनि अनावश्यक बल प्रयोग गरेको सदस्यहरूको तर्क थियो।

कञ्चनपुर घटना डरलाग्दो र अन्यायपूर्ण भएको भन्दै सदस्यहरूले घटनापछि सरकारी पहल सकारात्मक रहेको बताएका छन्।

प्रकाशित: २९ फाल्गुन २०७३ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App