८ वैशाख २०८१ शनिबार
राजनीति

भारतले दम्भ देखायो : ओली

नारायणगढ- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  भारतले आफू बलियो छु भन्दैमा अर्काको देशभित्र पसेर मान्छे मार्न नपाउने बताएका छन्। एमाले मेची–महाकाली अभियानअन्तर्गत शनिबार नारायणी नदी किनारमा आयोजित सभामा बोल्दै ओलीले कञ्चरनपुरमा नेपाली भूमिमै भारतीय सुरक्षाकर्मी पसेर नेपालीलाई हत्या गरेको घटनामा सरकार कडा रूपमा प्रस्तुत नभएको टिप्पणी गरे।

'जति बलियो भए पनि अर्कोको देशभित्र पसेर मान्छे मार्न पाइँदैन। यो विषयमा सरकारले भारतसँग सीधै केन्द्रीय तहमा वार्ता गर्नुपर्छ। स्थानीय तहमा हैन'

'भारतले म बलियो छु भन्ने दम्भ देखाएको हो। जति बलियो भए पनि अर्कोको देशभित्र पसेर मान्छे मार्न पाइँदैन। यो विषयमा सरकारले भारतसँग सीधै केन्द्रीय तहमा वार्ता गर्नुपर्छ। स्थानीय तहमा हैन', ओलीले भने। वार्ता गरेर क्षतिपूर्ति भराएर भारतलाई माफी पनि मगाउन सरकारले पहल गर्नुपर्ने उनको माग छ।

उनले मधेसी मोर्चाको भूमिकाप्रति आक्रोश व्यक्त गरे। 'कसैले पालेका कसैले चलाएका पार्टी नामका गिरोहहरू एमाले तराई आयो भने मार्दिन्छु भनिराखेका छन्। एमाले मर्न परे मरौंला तर यो देश बनाएरै छाड्छौं भनेर हिँडिराखेको छ', ओलीले भने। उनले एमाले ज्यान जोगाउन खुसुक्क कुना पस्ने पार्टी पनि नभएको बताए।

'एमालेको शरीरमा सालकको खपटा पनि छैन। शरीर छालाकै छ तर हिम्मत फलामको छ। त्यसैले हामी हिम्मतसाथ अगाडि बढ्छौं', ओलीले भने।  एमाले अभियान शान्तिपूर्ण हुने भएकाले सरकार वा अन्य कुनै शक्तिले त्यसलाई रोक्न नसक्ने उनले बताए। कसैले रोक्न र बाधा हाल्न खोज्छ भने त्यसको परिणाम चर्को हुने चेतावनी ओलीले दिए।

फागुन २१ गते झापाबाट सुरु भएको अभियान प्रदेश नम्बर दुईको सप्तरी प्रवेश गरेर आमसभा सम्पन्न गरेलगत्तै एमाले  अभियानको विरोधमा रहेका मधेसी मोर्चा र प्रहरीको झडप भएको थियो।  झडपमा प्रहरीको गोली लागेर तीनजना स्थानीयको ज्यान गएपछि एमालेले अभियान स्थगित गरेको थियो। अभियान शुक्रबार हेटौंडाबाट फेरि सुरु भएको हो। प्रदेश नम्बर दुईका सबै कार्यक्रमहरु स्थगित भएका छन्।

सप्तरी घटना हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई फिर्ता बोलाएर पठाएका प्रशासन र प्रहरी प्रमुखले हिंसालाई नै प्रोत्साहित गर्ने काममा सहयोग गरेको नेता ओलीले आरोप लगाए।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले कसैलाई चुनौती दिन र हठ देखाउन नभएर आफ्ना कुरा जनतासम्म पुर्‍याउन मेची महाकाली अभियान सुरु गरेको बताए। एमालेको अभियान बिथोल्ने कार्य अप्रजातान्त्रिक चरित्र हो भनेर मधेसी मोर्चाका नेताले नभनेका कारण उनीहरू पनि यसमा सामेल भएको पुष्टि भएको नेता नेपालको भनाइ थियो।

'त्यहाँ एमालेको नेतृत्वलाई एक चिहान बनाउनेसम्मको योजना रहेछ। देश टुक्रा पार्नुपर्छ भन्नेहरू पनि यो काममा छन्। सरकारको पक्षधर मानिएको मधेसी मोर्चा पनि हामीमाथिको आक्रमणको विरोधमा बोल्दैन। यस्तो पनि हुन्छ? यो निरंकुश चरित्र हो', नेता नेपालले भने। कञ्चनपुर घटनामा सरकारले कूटनीतिक रूपमा कुरा अगाडि बढाएर भारतलाई माफी माग्न लगाउनुपर्ने उनले माग गरे।

नेता नेपालले सरकारले अगाडि सारेको संविधान संशोधन प्रस्तावले देशवासीको नभएर विदेशीको हित खोज्ने बताए। त्यसैले सो संशोधन पारित हुन नदिने अडानमा एमाले रहेको उनले बताए। 'जोजो संशोधनका पक्षमा छन् उनीहरू देशको भन्दा विदेशीको चिन्ता गर्छन्। विदेशीको स्वार्थ पूरा गर्न लागेकाहरूको विश्लेषण जनताबाट हुन्छ भनेर एमालेको अभियानदेखि डराएका छन्', नेता नेपालले भने।

एमाले उपाध्यक्ष वामदेव गौतमले सप्तरीमा एमाले नेतृत्वको हत्यासम्म गर्ने योजना आएको थाहा पाएपछि सरकार र सुरक्षा निकायको अनुरोधमा अभियानका कार्यक्रम दुई नम्बर प्रदेशमा स्थगित गर्नुपरेको बताए। नेपालको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्ने घोषणा गर्ने एक मात्र पार्टी एमाले भएका कारण त्यसलाई रोक्न खोज्न लाई जनताले साथ नदिने गौतमले दाबी गरे।

केपी ओली नेतृत्वको सरकारले मधेसमा सबैभन्दा धेरै बढी बजेट वितरण गरेर विकास निर्माण अगाडि बढाउन खोज्दा उल्टै एमालेलाई मधेसविरोधी भन्ने आरोप लगाउनु विडम्बना भएको उनले बताए। 'हाम्रा पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेलामा आएको बजेटमा तराई केन्द्रित विकासका लागि तीन खर्ब रुपैयाँ छुट्ट्याइएको छ। तर एमालेलाई तराईविरोधी भनेर हिँड्नेको कमी भएन', नेता गोतमले भने।

कार्यक्रममा पूर्वसभासद् लालमणि चौधरीले एमालेलाई आदिवासी, जनजाति र मधेसीविरोधी देखाउनु गलत भएको बताए। नारायणगढ नारायणी नदी किनारमा सभा हुनुअघि भरतपुर चौबीसकोठी चोकबाट र्‍याली निस्केको थियो। र्‍यालीमा आदिवासी समुदायका व्यक्तिहरु झाँकीसहित सहभागी भएका थिए।

प्रदेश नम्बर एकअन्तर्गतको झापाबाट सुरु भएको एमालेको मधेस केन्द्रित मेची महाकाली राष्ट्रिय अभियान शनिबार प्रदेश नम्बर तीन पार गरेको छ। भरतपुर र नारायणगढमा र्‍याली र सभा सम्पन्न गरेर अभियानले प्रदेश नम्बर चारमा रहेको नवलपरासीको कावासोतीमा पनि कार्यक्रम गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०७३ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App