७ वैशाख २०८१ शुक्रबार
समाज

शोकले मधेसको होली फिक्का

प्रहरीको गोली लागेर मृत्यु भएका पाँच जनाको शिनबार राजविराजमा निकालिएको शवयात्रा। तस्बिर : रासस

रौतहट- सप्तरी घटनाले यसपटकको मधेसको होली खल्लो हुने भएको छ। सप्तरीमा नेकपा एकालेको सभा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्न खोज्दा प्रहरीसँग भएको झडपमा मोर्चातर्फका पाँचजनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। त्यसपछि मधेसका विभिन्न जिल्लामा निरन्तर बन्दहडताल छ।

रौतहटको गरुडास्थित उच्च माध्यमिक विद्यालयका शिक्षक प्रकाशचन्द्र झा यस वर्षको होलीमा अबिर नलगाउने र रङ पनि खेल्न नसक्ने बताउँछन्। एकसाथ धेरै निर्दोषको घरमा होलीको मुखमा शोक परेकाले होली नमनाउने निष्कर्षमा उनी पुगेका छन्। 'कतै शोक र कतै होलीको आनन्द हुनै सक्दैन', झाले भने।

पर्व आउनु दुई दिनअघि देखि नै मधेसका सबै चोक र बजार होलीका गीतले गुन्जायमान हुन्थे तर यसपालि होलीको रौनक खासै देखिएको छैन। बजार बन्द छ, विद्यालय तथा सरकारी कार्यालय पनि बन्द छन्। शोक र आक्रोशको वातावरणमा होली खेल्न नसकिने उच्च मावि औरैयाका शिक्षक सञ्जयकुमार साह बताउँछन्।

बन्द र सप्तरी घटनाले खल्लो बनाएकाले यसपालिको होली मधेसी समुदायका लागि फिक्का हुने ज्येष्ठ नागरिक संघ रौतहटका अध्यक्ष विजयकिशोर झा बताउँछन्।

निरन्तर बन्दले व्यापार पनि प्रभावित भएको छ। नेपालतिरको व्यापार बन्दले गर्दा निकै प्रभावित भएको छ तर, भारतीय सिमानामा भने होलीको बजार फस्टाएको छ। ठूला पार्टीको निकम्मापनले नेपालको बजार सुकेको र भारतीय बजारमा भर पर्नुपर्ने अवस्था भएको रौतहट उद्योग वाणिज्य संघका सदस्य दीपेन्द्र झाले बताए।

सप्तरी घटनाका दोषीलाई कारबाही, मृतकलाई क्षतिपूर्ति, घाइतेको उपचार र संविधान संशोधन हुनुपर्ने माग गर्दै मोर्चाले मंगलबारदेखि जारी राखेको आन्दोलनका कारण यहाँका शैक्षिक संघसंस्था, यातायात, उद्योग कलकारखाना, बजार व्यवसाय चौपट भएको कारण सर्वसाधारणलाई होली पर्व र दैनिक जीवनयापनका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार चहार्नुपरेको गौर नगरपालिका ८ का वीरेन्द्र कुशवाहाले बताए। 'सरकारलगायतका ठूला दलको लापरबाही र मोर्चाले पर्वको पूर्वसन्ध्यामा जारी गरेको आन्दोलनका कारण यसपटक होली खल्लो हुने भयो', उनले भने।

बन्दका कारण सडक सवारीसाधन चल्न नसकेपछि होली मनाउन आवतजावत गर्ने सर्वसाधारणले पैदल यात्रा गर्नुपरेकाले सास्ती भएको छ।

होली पर्वको एक साता अगाबै गाउँका युवाले रातको समयमा होलिया गीत गाउने चलनले पनि यसपटक निरन्तरता पाएन। मधेसका सहरमा हिजोआज आन्दोलनसँग सम्बन्धित भोजपुरी गीतमात्रै बजेको सुन्न पाइन्छ।

यसैबीच सप्तरी घटनामा मारिएका पाँचजनाको शनिबार राजविराजमा शवयात्रा गरिएको छ। प्रहरीको गोली लागेर घटनाकै दिन तीनजना र त्यसपछि थप दुईजनाको मृत्यु भएको थियो।

प्रकाशित: २९ फाल्गुन २०७३ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App