coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बसेकै सिट जलाइयो

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते लावालस्करसहित साझा यातायातको पुल्चोकस्थित कार्यालय पुगे। उनले त्यहाँ साझाले ल्याएका ३० नयाँ आधुनिक बस अवलोकन र उद्घाटन गरे। त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे।

तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री दाहाललाई  बा.४ ख ५६४८ नम्बरको बसमा चढाए। उक्त सिट विशेष सुविधायुक्त थियो। दीक्षितको मनसाय साझाले सर्वसाधारणले दिन चाहेको सेवासुविधाका विषयमा सरकारलाई अवगत गराउनु थियो। प्रधानमन्त्री दाहाल चढेको उक्त बसको सो सिट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शनिबार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उद्घाटन क्रममा चढेका थिए। प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ।

साझा यातायातका अध्यक्ष दीक्षितले शनिबार जलाइएको बस थपिएका ३० नयाँमध्ये विशेष भएको बताए। उनले प्रधानमन्त्री दाहाल चढेको र विशेष सुविधायुक्त सिट रहेको बसमै आगजनी हुनु संयोग वा घटना नभई सार्वजनिक सम्पत्तिउपर नियोजित आक्रमण भएको बताए। उनले भने, 'बन्दकर्ताले सार्वजनिक सम्पत्तिमाथि आगजनी गरी सर्वसाधारणको सह्य क्षमता र आत्मसम्मानलाई हियाएका हुन्, यस्तो अराजक गतिविधिको साझा घोर निन्दा गर्छ।' उक्त पार्टीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीले नेपाली युवाको हत्याको विरोधमा बन्द आयोजना गरेको थियो।

काठमाडौं प्रहरीका अनुसार बालाजु बाइपासमा बा.४ ख ५६४८ नम्बरको साझा बसमा केही अपरिचत युवकले आगो लगाएका हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीका अनुसार साझा बसको यात्रु बनेर बस चढेका चारजनाले बालाजुमा बस रोकिनासाथ अचानक पेट्रोल छर्केर आगो लगाएका थिए। उनले प्रहरीले आगो निभाउन प्राथमिकता दिँदा उनीहरू भाग्न सफल भए। बसको भित्री भागमा मात्र क्षति भएको छ।

साझा यातायातका सुपरभाइजर हरेराम मिश्रले विमानस्थल यात्रुलाई लक्षित गरी सञ्चालन गरिएको रुटमा चल्ने बसमा आगजनी भएको बताए। उनका अनुसार बालाजु बाइपासमा यात्रु झारेेर केही समय रोकिएको बसमा मास्क लगाएका युवाले पेट्रोल छर्केर आगो लगाएका थिए।

सो पार्टीका प्रवक्ता खड्ग विश्वकर्माले घटनामा त्रुटि भएको हुन सक्ने बताए। उनले भारतीय पक्षको विरोधमा बन्द आह्वान गरिएकाले नेपाली सम्पत्तिमाथि तोडफोडको नीति नरहेको दाबी गरे। उनले भने, 'सार्वजनिक सम्पत्ति तोडफोड नीति होइन, सायद साझाले बन्द अवज्ञा गरेको हुनुपर्छ। हामी काठमाडौं बाहिर छौं, विस्तृत विवरण आएपछि थप कुरा गरांैला', विश्वकर्माले भने।

सरकारीभन्दा सामुदायिक प्रयासमा सञ्चालित साझा यातायातले मंसिर १२ पछि ३० नयाँसहित काठमाडौं उपत्यका र बाहिर गरी ४६ बसमार्फत सेवा दिँदै आएको छ। बन्दहडताल र आपत्कालीन अवस्थामा समेत सर्वसाधारणलाई निरन्तर सेवा दिँदै आएको साझा यातायातमा शनिबार भएको आगजनीको नागरिक समाज र सामाजिक सञ्जालमा व्यापक विरोध व्यक्त गरिएको छ।

यसैबीच काठमाडौं कलंकीचोकमा युपी ६५ एएम ०६५७ भारतीय नम्बरको गाडीमा बन्दकर्ताले शनिबार ढुंगा प्रहार गर्दा सिसा फुटेको छ। ढुंगा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७३ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App