६ वैशाख २०८१ बिहीबार
समाज

तीन महिला, तीन चुचुरो

काठमाडौं– साहसिक खेल हो– हिमाल आरोहण । जसमा ठूलै आँट चाहिन्छ, एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ ।

सन् २००७ मा उनीहरूले सर्वोच्च शिखर सगरमाथा चढे । ‘हिमालहरूको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’ जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु (८६१२ मिटर) पनि चढे । विश्वकै दोस्रो अग्लो मात्र होइन, प्राविधिक रूपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा सन् २०१४ मा चुमे, केटु पुग्ने पहिलो महिला टिम भनेर नाम लेखाए ।

सर्वोच्च शिखर सगरमाथा र माउन्ट किलरको उपमा पाएको पाकिस्तानको माउन्ट केटु चढिसकेका ओखलढुंगाकी माया, सोलुखुम्बुकी पासाङल्हामु र दोलखाकी दावा याङजुम कञ्चनजंघा चढ्ने तयारीमा छन् 

अब उनीहरू विश्वको तेस्रो अग्लो हिमशिखर (८,५८६ मिटर) कञ्चनजंघा चढ्ने तयारीमा छन् । उनीहरू अर्थात् ‘थ्री वुमेन, थ्री टप’ अभियानका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुम शेर्पा । 

जलवायु परिवर्तन न्यूनीकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँड्ने तयारीमा छन् उनीहरू । अहिले यही अभियानका लागि खर्च जुटाउने कसरतमा छन् । महिला सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्नु र जलवायु परिवर्तनले पारेको प्रभावरबारे जनस्तरमा जानकारी गराउनु आफूहरुको उद्देश्य रहेको माया बताउँछिन् । 

नेपालमा हिमाल आरोहणमा महिला सहभागिता अझै पनि औंलामा गन्न सकिन्छ । जोखिमपूर्ण काम हो, हिमाल आरोहण । २३ वर्षअघि पासाङ ल्हामु शेर्पाको सगरमाथा आरोहणबाट फर्किंदा मृत्यु भएको थियो, त्यसपछि केही समय आरोहणमा महिलाको सहभागिता शून्यजस्तै भयो । पछिल्लो समय भने महिला सहभागिता बढ्दै गएको मायाले बताइन् । ‘हालसम्म २१ नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका छन्,’ उनले भनिन्, ‘यद्यपि हिमाल चढाउने कामलाई पेसा बनाउने भने धेरै कम छन् ।’

पूर्णकालीन रुपमा हिमाल चढाउने पेसामा भने उनै माया, पासाङ र दावा नै हुन् । उनीहरू ८–१० वर्षदेखि यस पेसामा निरन्तर छन् । यद्यपि माउन्ट केटु र कञ्चनजंघा हिमालमा उनीहरू केही सन्देश दिन चढेका थिए,  न कि कसैलाई चढाउन साथी भएर । हिमाल चढ्नु अहिले उनीहरूको लक्ष्य पूरा मात्र नभएर साहसिक काम गर्ने नशाजस्तै भएको छ । 

उनीहरूलाई लाग्दैन कि महिला–पुरुष भन्दा कम छन् । चुचुरोमा चढेपछि कहिले झर्ने भन्ने लागिरहन्छ रे आरोहीलाई । किनभने हिमाल चढ्न जति गाह्रो छ, ओर्लन त्योभन्दा कठिन । हिमाल चढ्दा बाटोमा शव पनि उत्तिकै भेटिन्छन् । सबैभन्दा दुःख आफ्नै आरोहण दलको सदस्यले ज्यान गुमायो भने हुन्छ । 
‘उनीहरूसँग कुरा गरेको, बसेको सम्झनाले सताउँछ । बाटोमा मरेका मानिस धेरै भेटिन्छन् । कोही डोरीमा झुन्डिरहेको त कोही थाकेर बसेकाजस्ता देखिन्छन्,’ पासाङ भन्छिन्, ‘यो दृश्यले पनि भने चसक्क हुन्छ ।’

पासाङ विश्वप्रसिद्ध म्यागजिन ‘नेसनल जियोग्राफिक’ को ‘एड्भेन्चर्स अफ दी इयर २०१६’ विजेता हुन् ।
अहिले उनीहरु हिमालबिनाको जीवन कल्पना गर्न सक्दैन् । 

कञ्चनजंघा आरोहणपछि यही पेसामा निरन्तर रहने दावा बताउँछिन् । ‘त्यसपछि हामी तिनैजनाको अरु कुनै योजना छैन,’ दावा भन्छिन् । 

महिला सशक्तीकरणको आवाज उठिरहेका बेला नेपालको पर्यटन क्षेत्रमा महŒवपूर्ण हिस्सा ओगटेको हिमाल आरोहणमा महिलाको भूमिका बढाउन सबै पक्षको सहयोग रहेको दावा बताउँछिन् ।

‘सम्भावना, चुनौती र जोखिमको क्षेत्र हो यो,’ सगरमाथा आरोही संघ अध्यक्ष समेत रहेकी माया भन्छिन्, ‘तर यसमा नाम र दाम पनि छ । आँट गरेर यो क्षेत्रमा लाग्नेले पछुताउनुपर्दैन ।’

प्रकाशित: २८ फाल्गुन २०७३ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App