६ वैशाख २०८१ बिहीबार
अन्य

सार्क साहित्यमा नेपाली अनुहार

हरि अधिकारी

नयाँ दिल्लीको उच्च सामाजिक वृत्तकी प्रभावशाली सदस्य एवं हिन्दीकी वरिष्ठ सर्जक श्रीमती अजीत कौर महोदयाको व्यक्तिगत प्रयासमा स्थापित र सञ्चालित दक्षिण एसियाली साहित्यकार– लेखकहरूको साझा प्रतिष्ठान(फोस्वाल) ले एकाध वर्ष बिराएर कुनै एक सदस्य राष्ट्रको कुनै एक सहरमा सार्क स्तरीय साहित्यिक उत्सवको आयोजना गर्दै आएको छ । सन् २००० देखि हुँदै आएको सो साहित्योत्सवको, यस वर्ष नयाँ दिल्ली, भारतमा आयोजित १३औँ संस्करणमा नेपाली कविका रूपमा मेरो पनि सहभागिता रह्यो ।

अभिको विद्वत्ता, सिर्जनशीलता, प्रतिष्ठा र वयका हिसाबले अजीतबाट भएको त्यो चयन गज्जबको थियो भन्न कजुस्याइँ गर्नुपर्दैन । अब श्रीमती अजीतले विश्वासका साथ दिएको जिम्मेवारी सुवेदीले कति निष्पक्षता र इमानदारीका साथ पूरा गर्दै आउनुभयो त्यो भने कि त अजीतले कि भने उहाँ स्वयंले मूल्यांकन गर्ने विषय हो ।

यसअघि भएका एक दर्जनजति फोस्वाल साहित्यिक भेलामा अछुत ठानिएको मेरो यस पटकको सहभागिता भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायको सदाशयका कारण सम्भव भएको थियो । फोस्वालका हरेक कार्यक्रमलाई सघाइरहेको बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहअध्यक्षका हैसियतले राजदूत उपाध्याय नेपाली सहभागीहरूको सूचीमा केही नाम थप्न सक्ने अवस्थामा हुनु हुन्थ्यो सायद । केही हदसम्म मलाई योग्य ठानेर अनि अलिकति मित्रलाभ गर्ने हेतुले हुनुपर्छ, उहाँले नेपाली प्रतिनिधि कविहरूको सूचीमा चढाउन मेरो नाम त महोत्सवको सचिवालयमा पठाउनु भएछ नै, साथै महोत्सवका लागि थप एकजना राम्रो कविको नाम सुझाउन पनि मसँग आग्रह गर्नुभयो । मलाई भरोसा गरेर उहाँले गर्नुभएको सो आग्रहको सम्मान हुने गरी  मैले पनि आजको नेपाली कविताका एक प्रभावशाली हस्ताक्षर कवि रमेश क्षितिजको नाम सिफारिस गरेँ, जुन आयोजक संस्थाको सचिवालयबाट सजिलै स्वीकृत भएको जनाउ आयो ।

फोस्वालको आयोजनामा प्रत्येक वर्ष नेपालबाहिर हुने क्षेत्रीय साहित्यिक जमघटमा नेपाली सहभागीहरूको छनोट श्रीमती अजीत कौरका विश्वासी, अंग्रेजीका विद्वान्, कवि, नाटककार एवं गद्यलेखक प्राध्यापक–डाक्टर अभि सुवेदीले एकल निर्णयबाट गर्दै आउनु भएको रहेछ सुरुदेखि नै । फोस्वाल नै पनि श्रीमती अजीतको निजी संस्था जस्तै रहेको र त्यसका हरेक निर्णय उहाँबाट स्वविवेकका आधारमा हुँदै आएको सन्दर्भमा उहाँले सहभागी छनोटको जिम्मेवारी दिएका हाम्रा प्रा. सुवेदीले पनि आफूले पाएको जिम्मेवारीको निर्वाह पूर्णतः मनोमानी ढंगले गर्नुलाई अस्वाभाविक भन्न मिल्दैन । सत्ताले मानिसलाई ढीट बनाउँछ र निरंकुश सत्ताले अति ढीट बनाउँछ भन्ने महान् अंग्रेजी लेखक जर्ज अर्वेलको निष्कर्ष यस प्रसंगमा पच्चीसै आना सत्य साबित भएको देखिन्छ ।

स्रोत र साधनको सीमितताका कारण अजीत महोदयाले सार्क साहित्य भेलाका सन्दर्भमा नेपालका मामिलामा निर्णय गर्न कसै न कसैलाई पूर्णाधिकार दिनु नै थियो, आफूले चिनेजानेको व्यक्ति प्रा. सुवेदीलाई दिनुभयो । अभिको विद्वत्ता, सिर्जनशीलता, प्रतिष्ठा र वयका हिसाबले अजीतबाट भएको त्यो चयन गज्जबको थियो भन्न कजुस्याइँ गर्नुपर्दैन । अब श्रीमती अजीतले विश्वासका साथ दिएको जिम्मेवारी सुवेदीले कति निष्पक्षता र इमानदारीका साथ पूरा गर्दै आउनुभयो त्यो भने कि त अजीतले कि भने उहाँ स्वयंले मूल्यांकन गर्ने विषय हो ।

सार्क साहित्य सम्मेलनको लामो इतिहासले भन्छ, वास्तवमा प्रा. सुवेदी आफ्नो अहम् जिम्मेवारी पूरा गर्न खासै सफल भएको देखिनु हुन्न । फोस्वालको मन्चमार्फत् नेपाली साहित्यका उत्कृष्ट कवि, कविता र समग्रमा नेपाली साहित्यलाई दक्षिण एसियाली पाठक समुदायसम्म पु¥याउने जुन राम्रो अवसर धेरै पहिलेदेखि उहाँले प्राप्त गर्दै आउनुभएको थियो त्यसको दुरूपयोग नै हुँदै आएको छ भन्ने निचोड कसैले निकाल्यो भने त्यसको विश्वासलाग्दो खण्डन हुन कठिन हुन सक्छ । उहाँले सार्क क्षेत्रको व्यापक साहित्यिक मन्चलाई आफ्ना अध्यापनकालीन छात्रमण्डली र अनुयायीहरूको छवि निर्माण हेतु बढीभन्दा बढी उपयोग गर्दै आउनुभएको छ । उहाँ अंग्रेजीको प्राध्यापक भएकोले उहाँका छात्रहरू अंग्रेजीकै विद्यार्थी हुने नै भए । उनीहरू प्रियपात्र भएकाले उहाँका हातमा आएको कुनै पनि प्रकारको अवसरको वितरण पनि उनीहरूकै बीच बढी हुने पनि भयो । अंग्रेजीमा डिग्री लिँदैमा अथवा सुवेदीजीको आशीर्वाद प्राप्त हुँदैमा राम्रो कवि भइहाल्ने नहुनाले चाहिँ समस्या पैदा भएको हुनुपर्छ । किनभने, क्षेत्रीय मन्चमा तिनले प्रस्तुत गर्ने नेपाली कविताको स्तर निम्छरो रहने सम्भावना बलियो हुने भयो । यथार्थमा पनि भएको त्यही छ ।

सार्क साहित्यिक सम्मेलनका अधिकांश संस्करणहरूमा मूलधारका स्थापित कविहरूको ठाउँमा अंग्रेजी भाषा र साहित्यका विद्यार्थीको उपस्थिति बाक्लो रहँदै आएको छ । यस पटक दिल्लीमा सुवेदीजीको सिफारिसमा पुगेका कविहरूको संख्यात्मक अनुपातमा अंग्रेजीका विद्यार्थी अलि कम देखिए पनि उपस्थित अधिकांश कवि–साहित्यकारहरू आफ्ना सिर्जनाको संख्यात्मक र गुणात्मक सामथ्र्यका दृष्टिले अनुल्लेख्य नै थिए । अधिकांश सहभागीले पूर्वान्चलको प्रतिनिधित्व गर्थे । कुरैकुरामा थाहा भयो यस पटक कविको छनोट गर्ने जिम्मा सुवेदीजीले विराटनगरका आफ्ना विश्वासिला चेला सुमन पोखरेललाई दिनुभएको थियो जसको भरपूर उपयोग गर्दै पोखरेलले लगभग सबै सहभागी पूर्वान्चलबाटै लिनुभयो ।

१३औँ सार्क साहित्य उत्सव नयाँ दिल्ली, फागुन १२–१४, २०७३ मा नेपाली साहित्यको प्रतिनिधित्व गर्ने लेखक कविहरू थिए– अभि सुवेदी, एलबी क्षेत्री, केशव सिग्देल, सुमन पोखरेल, विराट अनुपम, सविता गौतम दाहाल, अर्जुन ढुंगाना, शुभलक्ष्मी लम्साल, एकप्रसाद दुवाडी, मुकुन्द प्रयास, केजी सुब्बा, धीरज राई, अनुपम रोशी, दीपक साम्चु, श्रीधर गौतम, सुरज सुवेदी, भरतराज पीडित, राजेन्द्र पराजुली, रमेश क्षितिज र हरि अधिकारी । यीमध्ये राजेन्द्र पराजुलीको मनोनयन काठमाडौँस्थित भारतीय दूतावासको सांस्कृतिक सहचारीबाट भएको थियो भने पीडित, क्षितिज र अधिकारीलाई राजदूत उपाध्यायले निम्ता दिन लगाउनुभएको थियो । एक–दुईलाई छोडेर बाँकी सबैको चयन अभि सुवेदी वा उहाँका लागि काम गर्ने सुमन पोखरेलबाट भएको हुनुपर्छ ।

सार्क साहित्य उत्सवलाई भव्य बनाउन अजीत र उहाँका सहयोगीहरूले धेरै कडा मेहनत गरेको भए तापनि समग्रमा त्यो लघुकुम्भ थकाउने खालको तर न्यून उपलब्धिमूलक रह्यो भन्दा अन्यथा हुँदैन । उत्सवको व्यवस्थापनमा चुस्ती त थिएन नै, अजीतजीको कमजोर शारीरिक अवस्थाको प्रत्यक्ष प्रभाव जताततै परेको देखिन्थ्यो । उद्घाटन समारोहमा मुख्य वक्ता तोकिएकी डा. कपिला वात्सायन र तारा गान्धी भट्टाचार्य पनि निक्कै वृद्धा र कमजोर भएकाले प्रवचन राम्रोसँग हुन सकेन । हो, अर्का वक्ताद्वय राजमोहन गान्धी र आशीष नन्दीले आजको मानवसमाजका केही ज्वलन्त समस्यामाथि विचारोत्तेजक डिस्कोर्स प्रस्तुत गरेर उपस्थित स्रोतालाई मुग्ध पारिदिएका थिए ।

तीन दिन बिहानदेखि बेलुकीसम्म लगातार चल्ने गरी बनाइएको सम्मेलनको कार्यक्रम अल्छीलाग्दो त थियो नै प्रश्नोत्तर र सामूहिक छलफलको सत्र नराखिएकोले अधुरो लाग्ने खालको समेत बनेको थियो । बियोन्ड दि बोर्डर्स् मूल थिम भएको सम्मेलनमा दुई दर्जनभन्दा बढी कार्यपत्र पढिए पनि ती धेरैजसो खराब अंग्रेजीमा कनिकुथी तयार गरिएका हुनाले तिनले खासै प्रभाव छोड्न सकेनन्  । कार्यपत्रहरूको स्तर र तिनको सम्भावित उपादेयताको आलोकमा हेर्दा आगामी दिनमा कार्यक्रम बनाउँदा फोस्वालले कार्यपत्रहरूको संख्या कम गर्ने र तिनलाई अन्तक्र्रियात्मक बनाउने प्रयत्न गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

सम्मेलनभरि नै त्यस भेलामा पाकिस्तान अनुपस्थित रहेको विषय सहभागीहरूका बीच औपचारिक–अनौपचारिक छलफलको एजेन्डा बनिरह्यो । पाकिस्तानी प्रमण्डल आउने पक्कापक्की भइसकेर पनि भारतको प्रवेशाज्ञा नपाएको कारण उनीहरू आउन नसकेको थाहा भएपछि सम्मेलनका अधिकांश सहभागी खिन्न भएका थिए । राजनीतिले साहित्यिक गतिविधिलाई कुण्ठित बनाएको त्यो घटनाको कडा शब्दमा विरोध गर्नेहरूमा भारतीय लेखक–कविहरू नै बढी थिए । सादिया देहल्वी, तरन्नुम रियाज, सुरजीत पातर आदिले पाकिस्तानी प्रमण्डललाई प्रवेशाज्ञा नदिएर भारतले कला–साहित्यका माध्यमबाट दुई देशका बीच सौहाद्र्रता बढाउन सकिने राम्रो अवसर गुमाएको दाबी गरे । सार्ककै अर्को सदस्य राष्ट्र माल्दिभ्सको पनि उपस्थिति त थिएन तर त्यसका बारेमा कसैले पनि चर्चा गरेको सुनिएन ।

तीन दिने साहित्यिक जमघटमा पाठ गरिएका अधिकांश कविताहरू औसत र औसतभन्दा तल्लो स्तरका लाग्थे । धेरैजसो कविता खराब अंग्रेजीमा भाषान्तर गरिएकाले पनि त्यस्तो लागेको हुन सक्छ । केही भारतीय कविको प्रस्तुति भने उत्कृष्ट थियो । मिथिलेश श्रीवास्तव, गगनदीप शर्मा, तुलिका चेटिया इएन, श्रुति दास आदिले बेजोड कविता वाचन गरेर मन प्रसन्न पारिदिएका थिए । सीताकान्त महापात्र, सुरजीत पातर, लीलाधर मन्डोलोइजस्ता प्रसिद्ध कविहरू त थिए नै । सुरजीत पातरको पन्जाबी गजल गायन आल्हादकारी थियो ।

यस वर्षको सार्क साहित्य मेलाको खास विशेषता रह्यो अफगानिस्तानको प्रभावशाली प्रतिनिधित्व । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अस्तव्यस्त मुलुकबाट आएका स्रष्टाहरूको गम्भीर भावभंगिमा र शक्तिशाली सिर्जनाले सबैलाई अभिभूत बनाएको देखिन्थ्यो । अंग्रेजी भाषामाथि अफगानीहरूको कमान्ड पनि आकर्षणको विषय रह्यो । अर्कोतिर, बांग्लादेशबाट भने भेलामा २६ जनाको सबैभन्दा ठूलो प्रमण्डल आएको थियो तापनि उनीहरूले पाठ गरेका कविताले खासै प्रभाव पैदा गर्न सकेको जस्तो लागेन । त्यहाँको राष्ट्रिय जीवनमा गीत–संगीतको जुन गहिरो प्रभाव छ त्यसको छनक भने बंगाली सहभागीहरूले राम्रैसँग दिएका थिए । श्रीलंकाबाट तुलनात्मक रूपमा सानो टोलीले सहभागिता जनाएको थियो, जसले खासै गहन प्रभाव छोड्न सकेन ।

अन्त्यमा,

सार्क साहित्य मेलामा भाग लिन नयाँ दिल्ली पुगेका नेपाली स्रष्टाहरूको सम्मानमा राजदूत उपाध्यायले १४ गते साँझ दूतावासमा आयोजन गर्नुभएको रात्रिभोजमा प्रा. अभि सुवेदीसहित ६–७ जना साथीहरू अनुपस्थित रहनुभयो । कारण थाहा हुन सकेन । हामी उपस्थित हुनेहरूलाई नरमाइलो लाग्नुबाहेक गर्न पो के नै सकिन्थ्यो र !

प्रकाशित: २८ फाल्गुन २०७३ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App