दिनेश अधिकारी
घरभित्रः घरबाहिर
छुट्टाछुट्टै स्वभाव
र, बेग्लाबेग्लै चरित्रका
इँटा
ढुंगा
सिमेन्ट
फलाम
र, बालुवालाई
पानीले बाँध्ने संरचनाको नाम हो– घर
सबैको परिचय अब घरमा रूपान्तरण भएको छ !
भुइँ, भित्ता र छानोसहित
घरमा–
कोठा छ
मटान छ
भ¥याङ छ
झ्याल छ
ढोका छ
सबैको आआफ्नै अस्तित्व छ
र, परस्परको हातेमालोमा
घरले आफूलाई मजबुत बनाएको छ !
भुइँ त भुइँ नै भैहाल्यो
म थिचिएँ भन्नुको साटो
घरलाई उचाइ दिन सकेकोमा
ऊ आफैसँग आल्हादित छ
भित्ताले बोकेको छ– छानो
र, आफूले आकाश ओढेर छानोले
घाम–पानीबाट कोठाहरूलाई जोगाएको छ
नदीमा भए पुल भन्न मिल्थ्यो
घरभित्र मटानले
सबैतिर पुलकै काम गरेको छ
भिन्नाभिन्नै प्रयोजनका लागि
अलगअलग कोठाहरू बनेका छन्
बाबु–आमाको कोठा
छोरा–बुहारीको कोठा
छोरी–ज्वाइँको कोठा
केटाकेटीको कोठा
बैठक कोठा
पूजा कोठा
भान्सा कोठा
भँडार कोठा
फेरि पनि एकापसमा
बाबु–आमा र छोराछोरीकै जस्तो
आत्मीयता छ यिनीहरूका बीचमा
भ¥याङले–
कहिले काँध थाप्छ
र, तलबाट माथि उकाल्छ
कहिले हात थाप्छ
र, माथिबाट तल ओराल्छ
जहाँबाट भ¥याङ
उक्लन वा ओर्लन सक्तैन
आफे ढाडको अडेसा दिन्छ
भ¥याङलाई मटानले
र, अगाडि लिएर जान्छ
प्रत्येकसँग
प्रत्येक कोठाको सम्बन्ध बिस्तारमा यसरी सघाउ पु¥याउँछ
ढोका भएन र चुकुल लगाउन पाएन भने
निर्वश्त्र बाथरुममा नुहाउन सक्तैन कोही पनि
निर्विघ्न कोठामा निदाउन सक्तैन कोही पनि
निस्फिक्री रतिक्रियामा रमाउन सक्तैन कोही पनि
हरेक पल्ट सुरक्षित हुन
कोठालाई ढोकाले सघाउने गर्छ
मान्छेलाई अक्सर अँध्यारो मन पर्देन
र, झ्याल–
बाहिर डुल्दै गरेका
घामका किरण दुहेर
कोठाभरि
उज्यालोको बिस्कुन लगाइदिन्छ
मात्र चाहनुपर्छ
ऊ, ताजा हावाको बाहक भइदिन तयार छ
चुरोटको धुवाँ वा गन्ध
छिनको छिनमै सोहोरेर बाहिर हुत्याइदिन्छ
र, स्वच्छता कायम राख्छ
सधैँसधैँ कोठालाई मद्दत गर्छ
घरले
यसरी एउटा जीवन प्राप्त गर्छ
ए, मान्छे !
घरबाहिर पनि
घरजस्तै मिलेर बस्न
भन ! तिमीलाई कसले रोकेको छ ?
भन ! तिमीलाई कसले छेकेको छ ?
समयसँग
पलेँटी कसेर
यसरी तास फिट्दै नबस् समय !
तँ हिँडिनस् अहिल्यै भने
एक दिन
तँलाई तेरै छायाँले बाटो छेक्छ
अझै यसरी नै बसिरहिस् भने समय !
निश्चित छ– एक दिन
तेरो आँखामा ऐँजेरुको पर्खाल लाग्छ
जत्ति फिटे पनि यो तासको गड्डी
राजा र रानीभन्दा बाहिर जान सक्तैन
कतिञ्जेल खेलिरहन्छस् यी जोकरसँग ?
तास फिटेकै भरमा
गुलामले मुक्तिको अनुभव गर्ने दिन आउँदैन
छोड् ! अब यी तास फिट्न छोड !
छोड् ! अब बादशाहको मुस्कानमा बिक्न छोड !
छोड् ! अब यी जोकरसँग रमाउन छोड !
आँधीलाई अर्जाप्नु हो तेरो परिचय
चट्याङलाई अँठ्याउनु हो तेरो परिचय
पानीलाई पड्काउनु हो तेरो परिचय
तँलाई थाहा छ
मान्छे हुनुको कारण
म कुहिएको बतासमा सास फेर्न चाहन्न
म आफ्नो नाम सालिकमा लेख्न रूचाउन्न
म सूर्यलाई अँध्यारो अनुहारमा देख्न मन पराउन्न
तँ बसेको धेरै भयो
उठ् !
अब झड्कार आफ्ना खुट्टाहरू
र, फटाफट नाघ्न थाल
–यी मोहिनी– दुर्गहरू
–यी सकुनी– सुरुङहरू
होइन र अझै पनि
तास फिटेरै बस्छस् भने समय !
म तेरो अनुहारमा कालो मोसो दल्छु
अब तँलाई पर्खेर बस्न सक्तिन म
तँ जाँडकै कीरा बन् !
तँलाई यहीँ छोडेर
म एक्लै अगाडि बढ्छु !
अब म एक्लै अगाडि बढ्छु ! !
बा अर्थात् बा
बाले उहिल्यै बनाएको हो यो घर
उनले छोडेको दुई दशकपछि
अहिले पनि
म यही घरको छानो ओढेर
निस्फिक्री निदाइरहेकै छु
चाडबाड आउँदा
माकुराको जालो र धुलो झार्नुबाहेक
केही गर्न सकेको छैन मैले
रङ खुइलिएको छ घरको
फेरि पनि यही घरको झ्याल–ढोकाबाट
अहिले पनि मैले
बाँकी संसार नियालिरहेकै छु
अचेल
आश्रयका लागि
जब फर्कंदै हुन्छु साँझमा घरतिर
आँखा अगाडि
विश्वासका साथ ठिंग उभिएको
बालाई पो देख्न थालेको छु घरको आवरणमा
हेर्दै जाँदा
पिलर देख्तिनँ
त्यहाँ बाका खुट्टा देख्छु
बिम देख्तिनँ
त्यहाँ बाका हात देख्छु
सिलिङभरि डन्डी भाँतीमा
बाका करङहरू बिछिएको देख्छु
निधारमा पसिना उमारेर
त्यही पसिनाले भित्तो भिजाउँदै
आफ्नै छाला काडेर
त्यसलाई सम्याउँदै गरेको बालाई देख्छु
आँगनमा आँगन देख्तिनँ
बाको सपाट निधार देख्छु
बा !
मलाई माफ गर्नुस्
अब तपाईंको नाममा
कहिल्यै पनि पिन्ड–पानी चढाउँदिनँ म
अब तपाईंको नाममा
कहिल्यै पनि सतबिज छर्न धाउँदिनँ म
तपाई ज्युँदै हुनुको प्रमाण हो यो घर र मेरो जिन्दगी
बल्ल त तपाईंलाई
मैले आफूमा अनुभव गर्न थालेको छु
फेरि कसरी तपाईंको मरण स्वीकार्न सक्छु ?
हो, बरु तपाईंजस्तो हुन
सक्छु, सक्तिन— यकिन छैन
र पनि भन्छु—
बा !
आज उप्रान्त म पनि
तपाईंकै सन्तान हुने कोसिस गर्छु !
बा !
आज उप्रान्त म पनि
तपाईंकै सन्तान हुने कोसिस गर्छु !!
प्रकाशित: २८ फाल्गुन २०७३ ०५:३१ शनिबार