coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालसामु चुनौतीका पहाड

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअर्न्तगत नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध खेल्दैछ। प्रतियोगिताको शीर्ष चारमा रहेर एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने ढोका उघार्न नेपालले चुनौतीका पहाड चढ्नु पर्नेछ।

अन्य टोलीको नतिजा नकुरी अंक तालिकाको शीर्ष चारमा रहन नेपाललाई अबको सबै खेल जित्नै पर्ने अवस्था छ। तर, शुक्रबार केन्याविरुद्ध खेल्दा नेपाललाई मौसम टट्कारो चुनौती बनेको छ। उपत्यकामा शुक्रबारबाट शुरु भएको वर्षाले शनिबार पनि निरन्तरता पाउने मैसम पुर्वानुमान महाशाखाले जनाएको छ। मैसमको चुनौतीलाई भाग्यले पन्छाए पनि नेपालले त्यसपछि अब खेल्ने केन्यालगायत हङकङ र यूएईमाथि विजय हासिल गर्नु पर्नेछ।

एक दिवसीयमा केन्याविरुद्ध नेपालको नतिजा राम्रो छैन। डिभिजन २ अन्तर्गत केन्याविरुद्ध खेलेका दुवै खेलमा नेपाल पराजित भएको छ। यद्धपी नेपाललाई घरेलु मैदान र दर्शकको साथ रहने छ। शनिबार नेपालले ५ पटक एकदिवसीय विश्वकप खेलिसकेको केन्याविरुद्ध खेल्दा नेपालले कप्तानको साथ पाउने सम्भावना न्युन छ। खेलको एक दिन अघिसम्म पारस खड्का पूर्ण रुपमा फिट छैनन्। खेलिहाले पनि उनले बलिङ गर्ने छैनन् र उनीबाट पूर्ण रुपमा फिट हुँदाजस्तो प्रदर्शन अपेक्षा गर्न सकिन्न। जसले टोलीको संरचना बदलिन सक्छ।

शुक्रबार पत्रकारसँग कुराकानीमा पारस तथा प्रशिक्षकले ढुक्कसँग 'खेल्न सक्ने'मा आस्वस्त पार्न सकेका छैनन्। नेपालको जितमा पारसको इनिङले महŒवपूर्ण भुमिका रहदै आएको छ। कप्तान नहुदाँ टिममा पर्न सक्ने मनोवैज्ञानिक प्रभाव चिुर्न नेपालका लािग अर्को चुनौती हो।

यसका बावजुद नेपालले राम्रो नतिजा निकाल्ने विश्वसमा छन्, कप्तान पारस। ‘कुनै खेलमा मैले राम्रो गरे होला, कुनै खेलमा अन्य खेलाडीले राम्रो गरेका छन्। म खेल्छु कि खेल्दिन भोली मात्र भन्न सकिन्छ,’ कप्तान पारसले भने, ‘तर यो टिम गेम हो। म खेल्नु र नखेल्नुले धेरै फरक पर्दैन। अहिलेको टोली राम्रो छ। व्यक्तिमा सिमित हुनुभन्दा टिमले राम्रो गर्नुपर्छ भन्ने हो। कप्तान भएकाले जिम्मेवरी त हुन्छ। तर, म नखेल्दा पनि हाम्रो टिम तयार छ।’

केन्याविरुद्धको टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन छ। यस्तोमा ओपनिङ जोडीका रुपमा ज्ञानेन्द्र मल्ललाई साथ दिने सुनील धमला पहिलो पल्ट नेपाली जर्सी लगाएर क्रिजमा हुनेछन्। यसअघि नेदरल्यान्ड्सविरुद्ध पन्ध्रौं खेलाडीका रुपमा रहे पनि उनले मैदान उत्रिने मौका पाएका थिएनन्। त्यस्तै भेट्रान खेलाडी मेहबुब आलाम र आरिफ शेखले टोलीमा पुनरामगन गरेका छन्। दीपेन्द्रसिंह ऐरी नेपाली टोलीका नयाँ अनुहार हुन्।

मुख्य प्रशिक्षक जगत टमाटाले पनि पारस खेल्ने सम्भावना रहेको र उनी खेल्न नसके पनि अन्य खेलाडी तयार रहेको बताए।

‘समग्रमा हाम्रो तयारी राम्रो छ। ओपनिङ, मध्यक्रम र तलैसम्म हामीले धेरै सुधार गरेका छौं,’ मुख्य प्रशिक्षक टमाटाले भने, ‘ओपनिङमा नयाँ अनुहार सुनील धमला छन्। बीचमा पारस छन्। मेहबुब र विनोद भन्डारी जस्ता खेलाडी पनि छन्। सबैलाई आ–आफ्नो भुमिका थाहा छ। पारस नखेले पनि विकल्पमा हामीसँग योजना छ।’

नेपालको मजबुत पक्ष बलिङ हो, त्यसमा पनि स्पिन। केन्यालाई पनि बलिङमा राम्रो मानिन्छ। त्यसैले शनिबार बलिङमा राम्रा दुई देशबीचको भिडन्त रोचक हुने पक्का छ।

‘केन्याको बलिङ राम्रो छ। तिब्र गतिका बलर राम्रा छन्। स्पिनर पनि राम्रा छन्,’ मुख्य प्रशिक्षक टमाटाले भने, ‘डिभिजन २ मा हामी पराजित भयौं। तर त्यो प्रतिस्पर्धात्मक हार थियो। अहिले हामी घरेलु मैदानमा खेल्दैछौं। त्यसको फाइदा हुन्छ। आशा गरौं राम्रो भन्दा राम्रो क्रिकेट खेलेर हामी जित्नेछौं।’

प्रशिक्षक टमाटाको भनाइमा सहमति जनाउँदै कप्तान पारसले थपे, ‘केन्या राम्रो टिम हो, त्यसलाई नकार्न सकिदैन। उनीहरुको इतिहास पनि राम्रो भएको सबैलाई थाहा छ। तर, त्यो भन्दा शनिबार जुन टोलीले दबाब चिर्न सक्छ त्यसैले जित्ने हो। हामीलाई घरेलु मैदानको साथ छ। आशा गरौं हामी राम्रो नतिजा निकाल्न सक्छौं।’

केन्यका कप्तान राकेप पटेलले तयारी राम्रो रहे पनि नेपालको कन्डिसन महŒवपूर्ण हुने बताए। ‘यहाँ आउनुअघि हामीले बर्मुडाविरुद्ध खेलेका थियौं। चारमध्ये ३ खेल हामीले जित्यौं। त्यसैले हामी उच्च मनोबलका साथ आएका छौं। तर, यहाँको कन्डिसन चुनौतीपूर्ण छ। आशा गरौं राम्रो गर्नेछौं,’ कप्तान राकेपले भने, ‘हाम्रो बलियो पक्ष बलिङ हो। ब्याटिङमा पनि राम्रो गरिरहेका छौं। २५०–६० सम्मको स्कोर हामी पूरा गर्न सक्छौं।’

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App