१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लामो प्रक्रियाले आवास अनुदान पाउनै सकस

सिन्धुपाल्चोक- भूकम्पको १४ महिनापछि सिन्धुपाल्चोकका पीडितलाई आवास अनुदानको पहिलो किस्ता रकम उपलब्ध गराउन थालिए पनि हात पर्न भने सकेको छैन। अनुदान सम्झौता र रकम निकासमा अपनाइएको झन्झटिलो र लामो प्रक्रियाका कारण पीडितले सहजै लाभ पाउन नसकेका हुन्।

लामो प्रक्रियाकै कारण अनुदान सम्झौताले अपेक्षित गति लिन सकेको छैन। बल्लतल्ल सम्झौता गरे पनि अनुदान किस्ता निकासा अझै लम्बेतान र झन्झटिलो देखिएको छ। लाभग्राहीको 'डमी' बैंक खातामा पहिलो किस्ता रकम दाखिला भइरहे पनि हातमा पर्न अझै समय कुर्नुपर्ने देखिएको छ। 'अनुदान सम्झौता र किस्ता निकासा प्रक्रिया अलि लामै देखियो,' राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालय प्रमुख भुवनेश्वर लामिछानेले भने। पहिलो किस्ता रकम पाउन लाभग्राहीलाई समय लाग्ने उनले बताए। 'दोस्रो किस्तादेखि प्रक्रिया छोटिएर पीडितले सहजै रकम पाउनेछन्,' उनले भने। उनका अनुसार हालसम्म ३७ हजार ८ सय ८८ परिवारसँग अनुदान सम्झौता भएको छ। त्यसमध्ये ११ सय ९५ पीडितको डमी बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको उनले जनाए। प्राधिकरणको सूचीअनुसार जिल्लामा २ लाख रुपैयाँ आवास अनुदान पाउने लाभग्राही संख्या ७८ हजार छ।

जिम्मेवारी पाएका बैंकले सिर्जना गरेको खाता पूर्ण नभएर डमी भएकाले किस्ता रकम निकासा भए पनि पीडितले नसकेका हुन्। किस्ता पाउन खाता खोल्न अपनाउनुपर्ने बैंकिङ प्रक्रिया पीडितले पूरा गर्नुपर्छ। 'अनुदान सम्झौतापत्र, नागरिकता र फोटोसहित डमी खाता रहेको बैंकमा गएर प्रक्रिया पूरा गरेपछि मात्र पीडितले रकम झिक्न पाउँछन्,' चौतारा नगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका लामिछानेले भने।

अनुदान सम्झौता गर्न पीडित परिचयपत्र, नागरिकता, लालपुर्जा, फोटो, सर्वेक्षण निस्सासहित सम्बद्ध गाविस कार्यालय धाउनुपर्छ। अनुदान रकम निकासा र प्राप्ति प्रक्रिया त झन् लामो छ। रकम निकासादेखि किस्ता पाउँदासम्म आठवटा प्रक्रिया अपनाउनुपर्छ। बैंक खाता सक्रिय भइसक्ने हुँदा दोस्रो किस्तादेखि प्रक्रिया केही छोटो हुने देखिन्छ।

अनुदान सम्झौता थालेको दुई महिनापछि पीडितको डमी खातामा पहिलो किस्ता रकम जम्मा हुन थालेको हो। वैशाख १२ देखि यस जिल्लामा पीडितसँग अनुदान सम्झौता थालिएको थियो। प्राधिकरणले अनुदान रकम वितरण जिम्मा गाविस, जिविस, नगरपालिकालाई दिएको छ। गाउँ वा नगरपालिका हुँदै जिविस, कोष तथा लेखा नियन्त्रक कार्यालय, सरकारी स्वामित्वका बैंकमार्फत खाता खोल्न सम्झौता गरेका बैंकसम्म आठ प्रक्रिया पूरा गरेपछि बल्ल पीडितले पहिलो किस्ताको रकम पाउँछन्।

जिल्लामा रहेका सबै बैंकले लाभग्राहीको खाता खोल्ने अनुमति पाएका छन्। विशेष सम्पर्क कार्यालयका अनुसार १६ बैंकका २४ शाखाले पीडितको खाता खोल्न पाउँछन्। त्यस्ता बैंक शाखा चौतारा, जलवीर, बाह्रबिसे, खाडीचौर, मुडे र मेलम्चीमा छन्। गुम्बा र गोल्चेका अधिकांश पीडितलाई बैंक रहेको नजिकको बजार जलवीर आउन दुई दिन र सदरमुकाम पुग्न तीन दिन हिँड्नुपर्छ। किस्ता निकाल्न धाउँदा बाटो खर्चमै ठूलो रकम खर्च हुने देखिन्छ।

प्राधिकरणले पठाएको लाभग्राहीको सूचीअनुसार अधिकांश बैंक शाखाले पीडितका नाममा डमी खाता तयार पारिसकेका छन्। चौतारासहित १७ गाविसमा सम्झौता सकिएको जानकारी लामिछानेले दिए। अनुदानको पहिलो किस्ता रकम भने चौतारा नगरपालिकाका तीनवटा वडाका पीडितको खातामा मात्र गएको छ। मेलम्ची नगरपालिकासहित २४ गाविसमा अनुदान सम्झौता भइरहेको छ। १८ गाविसमा अनुदान सम्झौता सुरु हुन सकेको छैन। विवादका कारण ११ गाविसमा प्रक्रिया स्थगित छ।

 

प्रकाशित: २६ असार २०७३ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App