७ वैशाख २०८१ शुक्रबार
समाज

प्राविधिक र साधारण शिक्षाको समकक्षता

काठमाडौं-  विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ।

मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो ।  मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।

फ्रेमवर्कका संयोजक एवं शिक्षाविद् डा.मनप्रसाद वाग्लेले तह निर्धारण गरी आफूले शिक्षामन्त्रीलाई बुझाइसकेको जानकारी दिए । यस्तो व्यवस्था लागू भएमा प्राविधिक ज्ञान हासिल गरेका विद्यार्थीले पनि साधारण शिक्षासरह योग्यताको प्रमाणपत्र पाउने डा. वाग्लेले बताए।

शिक्षामन्त्रीलाई बुझाएको फ्रेमवर्कमा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई आठ तहमा विभाजन गरिएको छ । सरकारले पहिलोपटक प्राविधिक र  साधारण धारलाई विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म समकक्षता दिन लागेको हो।

फ्रेमवर्कअनुसार कक्षा ३ पढेको विद्यार्थीको तह एक तय गरिनेछ भने कक्षा ५ अध्ययन गरेको विद्यार्थीको तह दुई तय गरिनेछ। यसैगरी तह तीन प्राप्त गरेको विद्यार्थीले कक्षा ८ सरहको समकक्षता पाउनेछन् । चार तह पास गरेकाले कक्षा १० र पाँच तह पास गरेकाले कक्षा १२ पासको मान्यता पाउने फ्रेमवर्क तयार भएको वाग्लेले जानकारी दिए।

‘योग्यता परीक्षा पास भएपछि तह निर्धारण हुन्छ भने सैद्धान्तिक शिक्षा पास भएपछि शैक्षिक योग्यताको प्रमाणपत्र पाउँछन्’, वाग्लेले भने, ‘अब विद्यार्थीले साधारण र प्राविधिक दुवै धारमा जान सक्नेछन् । विद्यार्थीसँग साधारण शिक्षा र प्राविधिक शिक्षाको समकक्षता भएमा रोजगारीको अवसर पाइन्छ ।’

यसैगरी विश्वविद्यालय शिक्षालाई तीन तहमा बाँडिनेछ । प्राविधिकतर्फ तह ६ पास गरेकाले स्नातक, तह ७ पास गरेकाले स्नातकोत्तर र तह ८ पास गरेकाले विद्यावारिधिको समकक्षता पाउनेछन्।

कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) का महानिर्देशक डा. रामहरि  लामिछानेले नागरिकसँग भने, ‘प्राविधिकतर्फ तह एक पास गरेको छ भने स्कुलमा भर्ना हुँदा कक्षा ४ मा एकैपटक भर्ना हुन्छ । तर माथिल्लो तहमा भने एक धारबाट अर्कोमा जान बृजकोर्स गर्नुपर्नेछ ।’

अस्ट्रेलिया, मलेसिया, भारत, फिजी, भुटान, पाकिस्तान, बंगलादेश, मलेसिया, मंगोलिया, सिंगापुर, श्रीलंकालगायतका देशमा प्राविधिक र साधारण धारको समकक्षता कायम भएकाले विद्यार्थीले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र बजारमा बिक्ने गरेको सिटिइभिटिका निमित्त सदस्यसचिव रमेशकुमार बखतीले बताए ।  

‘हाम्रोमा सीप र योग्यताको तालमेल छैन । त्यही भएर प्राविधिक योग्यता हासिल गरेका जनशक्तिलाई रोजगारीमा प्रवेश गर्न कठिन छ’, बखतीले भने, ‘हाल सिटिइभिटीले दुई सय ८५ सीपको परीक्षण गरी योग्यताको प्रमाणपत्र दिँदै आएको छ ।’ उनले सीप र योग्यता दुवै भएमा जनशक्ति बजारमा छिट्टै बिक्ने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मन्त्रालयले तहगत  प्रारूप तयारीका लागि गृहकार्य सुरु गरेको बताए । उनले साधारण र प्राविधिक दुवै धार एकअर्काका पूरक भएकाले कार्यान्वयन छिट्टै गरिने दाबी गरे।

यसैबीच राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्रणालीबारे अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र सिकाइसम्बन्धी गोष्ठी सोमबारदेखि धुलिखेलमा सुरु भएको थियो  । कोलम्बो प्लास स्टाफ   कलेज (सिपिएससी), नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (एनभिक्युएस) परियोजना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले संयुक्त रूपमा आयोजना गरेको गोष्ठी पाँच दिनसम्म चल्नेछ ।

गोष्ठीमा टिभिइटीको क्षेत्रमा कार्यरत विभिन्न  देशका नीति निर्माता र उच्च अधिकारी सहभागि हुने छन्। नेपाल,अफगानिसतान,बंगलादेश,भुटान,फिजी,भारत,मलेसिया,माल्दिभ्स,मांगोलिया,म्यानमार,पाकिस्तान,पपुआ न्युगिनी,फिलिपिन्स,श्रीलंका,थाइल्यान्ड र दक्षिण कोरियालगाएत २० देशका सहभागिता रहने नेपाल,ब्यवसायिक योग्यता निर्धारण प्रणाली परियोजना,सिटिईभिटि ,भक्तपुरका टिम लिडर देबी प्रसाद दहालले जनाए ।

राष्ट्रिय ,क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा योग्यता निर्धारण संरचना विकास क्रममा आएका विषय र चुनौति पहिल्याउने उदेश्यले आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठीमा परियोजना लागु भएका देशहरुका प्रतिनिधिहरुले आआफनो अनुभव बाडेका छन्।

 

प्रकाशित: २७ फाल्गुन २०७३ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App