काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनका विषयहरु नागरिकता, भाषा राष्ट्रियसभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाइ बहुमतले पारित गर्ने सहमतिका साथ आफूहरु सरकारमा गएको खुलासा गरेका छन्।
‘अहिले तीन वटा विषयमा मात्रै हाम्रो सहमति छ,’ रिपोर्टर्स क्लबमा शुक्रबार उनले भने, ‘यी तीन वटा विषयहरुलाई दुई तिहाइले पारित गर्ने तर प्रदेशको सीमांकनको विषय भने स्थानीय तहको निर्वाचनपछि मात्रै टुङ्गो लगाउने सहमति भएको छ, यही सहमति अनुसार हामी सरकारमा गएका हौं।’
मन्त्री गिरीले संविधान कार्यान्वयनमा विभिन्न जटिलता रहेको बताउँदै उक्त जटिलताहरु पार गर्दै अघि बढ्न वर्तमान सरकार सक्षम रहेको दाबी गरे।
उनले आफूहरु मुलुकमा हिन्दूराष्ट्र पूर्नस्थापना गराउने अभियानमा लागेको बताए। ‘९४ प्रतिशत हिन्दू रहेको देशमा हामी जसरी पनि हिन्दूराष्ट्र बनाएरै छाड्छौं,’ उनले भने।
उनले पर्यटन मन्त्रालयमा धेरै चुनौतीहरु रहेको स्वीकार गर्दै आगामी दिनमा सबै खाले चुनौतीहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको दाबी गरे।
‘हिजो आरएले युरोपसम्मको उडान भर्दथ्यो, तर हामी आज हेरौं हाम्रो अवस्था, त्यसैले मेरो प्रतिबद्धता द्ध, म मेरै कार्यकालमा युरोप र अमेरिकासम्म आर.एको सेवा सुचारु गर्छु, यसमा मलाई सबैको साथ र सहयोग चाहिन्छ, सपना नदेखी केही पनि गर्न सकिँदैन,’ उनले भने।
प्रकाशित: २७ फाल्गुन २०७३ ०९:१० शुक्रबार