coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगममा दर्जन पाइलट नियुक्ति अन्तिम चरणमा

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्ना उडान चुस्त–दुरुस्त बनाउन थप एक दर्जन पाइलट भर्ना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। निगमले गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २० जना पाइलट मागेको थियो। जसमा त्यति नै संख्यामा आवेदन परेको थियो। तीमध्ये योग्यता परीक्षणमा ११ जना उत्तीर्ण भएका छन्।

'अहिले उत्तीर्ण ११ जना पाइलटको अब स्वास्थ्य परीक्षण हुने छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, 'स्वास्थ्य परीक्षणका लागि सात दिनको म्याद दिएका छौं।'

निगमले आन्तरिक उडानका लागि सातजना क्याप्टेन र १३ जना वरिष्ठ को–पाइलट मागेको थियो। जसमा क्याप्टेनतर्फ खुलामा चार, महिला एक, आदिवासी/जनजाती एक र मधेशी एक एवं वरिष्ठ को–पाइलटतर्फ खुला सात, महिला दुई, आदिवासी/जनजाती दुई, मधेशी एक र दलित कोटा छुट्ट्याइएको थियो।

तीमध्ये क्याप्टेनतर्फ एकजनामात्र उत्तीर्ण भएका छन् भने वरिष्ठ को–पाइलटतर्फ १० जना सफल भएका छन्। उत्तीर्ण पाइलटलाई क्यानडामा निर्मित १९ सिट क्षमतायुक्त 'डिएसी–६' टि्वनअटर तथा चीनमा निर्मित १७ सिटे 'वाई१२–ई' र ५६ सिटे 'मोडर्न आर्क' (एमए–६०) सिरिजका जहाज उडाउन लगाइने छ।

'नयाँ पाइलट थपिएपछि आन्तरिक उडान थप सहज हुने विश्वास छ,' प्रवक्ता श्रेष्ठले भने, 'त्यसबाहेक निगमको विश्वसनियता बढ्ने छ भने उडान नियमित तालिकाअनुसार सञ्चालन गर्न धेरै नै मद्दत पुग्ने छ।'

निगमसँग हाल दुईथान टि्वनअटर, दुई वाई१२–ई र दुईवटै एमए–६० जहाज छन्। तर, पर्याप्ट पाइलट अभावका कारण ती जहाजलाई अधिकतम उडानमा प्रयोग गर्न सकेको छैन। आन्तरिक उडान गर्ने ती जहाज उडाउन निगमसँग २७ जना पाइलट छन्। एमए–६० उडाउन ६ क्याप्टेन र दुई को–पाइलट, वाई१२–ईका लागि चार क्याप्टेन र ६ को–पाइलट तथा टि्वनअटर उडाउन सात क्याप्टेन र दुई को–पाइलट छन्।

चिनियाँ वाई१२–ई उडाउन चारजना क्याप्टेन भए पनि दुई वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठलाई झन्डै दुई महिनादेखि उडान गर्न नदिई 'ग्राउन्डेड' गरेको छ। अर्का क्याप्टेन अनिशमान शाक्य पनि ४५ दिनदेखि उडानमा संलग्न छैनन्। त्यही भएर अहिले वाई१२–ई उडाउन एकमात्र क्याप्टेन उद्धव घिमिरे छन् भने को–पाइलट प्रचण्ड खड्का र राकेश काफ्लेमात्र उडानमा छन्।

तर, निगमले वाई१२–ई जहाजका लागि चार क्याप्टेन र ६ को–पाइलट रहेको जनाएको छ। तर, दुई क्याप्टेन ग्राउन्डेड र एक उडानमा फर्किएका छैनन् भने बाँकी चार को–पाइलट श्रृजना रावत, लिबर्टी भण्डारी, विजय अवाले र रविन केसीले दुई वर्षदेखि जहाज उडाउन पाएका छैनन्।

निगमसँग वाई१२–ई जहाजको प्रशिक्षक पाइलट (आइपी) नहुँदा ती चार को–पाइलटलाई उडानमा फर्काउन नसकिएको सम्बद्ध अधिकारीले बताए। त्यही भएर उनीहरूलाई मासिक ४५ घन्टा 'ग्यारेन्टी आवर' भत्ता दिएर घरमै थन्क्याइएको उनले जानकारी दिए।

'निजी वायुसेवा कम्पनीका पाइलटले पाउनेभन्दा धेरै कम सेवा–सुविधा रहेका कारण निगममा जहाज उडाउन पाइलट आकर्षित हुनै सक्दैनन्,' निगमका एक वरिष्ठ क्याप्टेनले आफ्ना नाम उल्लेख नगर्ने सर्तमा भने, 'हाम्रा आन्तरिक उडान गर्ने पाइलटले निजी कम्पनीका पाइलटको भन्दा चारदेखि पाँच गुणा कम सेवा–सुविधा पाउँछन्। अन्तर्राष्ट्रियतर्फ त झन् हाम्रो अवस्था नाजुक छ।'

निगमले मागेको सातजना क्याप्टेनका लागि छोटो दुरीका धावनमार्ग भएका विमानस्थल (स्टोल) मा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट 'एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स' (एटिपिएल) प्राप्त गरी कम्तीमा चार वर्ष 'पाइलट इन कमान्ड' (पिआइसी) भई उडान सञ्चालन गरेको, को–पाइलटसँग कुनै पनि 'सिएटिसी' स्टोल विमानस्थलमा उडान गरेको तथा कम्तीमा १ हजार ५ सय घन्टा पिआइसी भई कुनै पनि स्टोल जहाज उडान गरेको जसमा कम्तीमा १ हजार घन्टा पिआइसी भई 'मल्टिइन्जिन स्टोल' जहाज उडान गरेको न्यूनतम योग्यता तोकिएको थियो।

त्यस्तै 'नन्स्टोल' तर्फ क्याप्टेनले एटिपिएल प्राप्त गरी कम्तीमा चार वर्ष पिआइसी भई उडान गरेको र कम्तीमा १ हजार ५ सय घन्टा पिआइसी भई 'मल्टिइन्जिन प्रेसराइज्ड' जहाज उडान गरेको हुनुपर्ने थियो।

त्यसैगरी वरिष्ठ को–पाइलटतर्फ 'कमर्सियल पाइलट लाइसेन्सिङ' प्राप्त गरी कम्तीमा दुई वर्ष र १ हजार घन्टा उडान गरेको एवं उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त संस्थाबाट एटिपिएलको कोर्ष पूरा गरेको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको थियो।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App