इटहरी- श्याम सुङको दुई गोलको मद्दतमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर डिभाइन ब्वाइज युनियन क्लब काठमाडौंलाई हराउँदै इटहरीमा जारी ११ औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
दुई विदेशी खेलाडी सहभागी गराएर मैदानमा उत्रिएको काकडभिट्टा फुटबल क्लबका तर्फबाट साम सुङले खेलको ६० र ७३औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच पनि श्याम सुङ नै भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए। डिभाइन युनाइटेड क्लबले ६ जना विदेशी खेलाडी मैदानमा उतारे पनि आपसी तालमेल नमिल्दा हार बेर्होनुपर्यो।
खेलको पहिलो हाफ अपेक्षा गरेअनुसार नभए पनि दोस्रो हाफ राम्रो खेल खेलेकैले जित सुनिश्चित भएको काकडभिट्टा फुटबल क्लबका प्रशिक्षक मीनबहादुर बस्नेतले बताए।
डिभाइन यूनाइटेड क्लबका प्रशिक्षक सुगम तन्दुकारले भने तालमेल नमिलेकै कारण हार बेर्होनुपरेको बताए। 'विपक्षी टिमको सेट मिलेको थियो। खेल पनि राम्रै खेल्यो,' उनले भने, 'हाम्रो टिमका तर्फबाट पाएको अवसरलाई पनि सही सदुपयोग गर्न सकिएन।' उपाधिका लागि काकडभिट्टा फुटबल क्लबले शनिबार एपिएफ झापासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २७ फाल्गुन २०७३ ०४:०५ शुक्रबार