coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गोली कसले चलायो?

सप्तरीमा अचानक गोली चल्यो। प्रमुख प्रतिपक्षी दल एमालेको सभा चलिरहेको थियो। केही मिनेट घम्साघम्सी चल्यो। त्यसपछि अचानक गोली चल्यो। तर आश्चर्य के भने गोली कहाँबाट कसले चलायो त्यो कसैलाई थाहा छैन। गोली चलाउने अधिकार मूलतः प्रहरीलाई दिइएको हुन्छ। तर अस्ति गोली चलेको देखेर प्रहरी आफँै पनि आश्चर्यचकित छ। गोली चलिसकेपछि प्रहरी आफैँ सोध्दैछ– गोली कसले चलायो? प्रहरीका हाकिम गृहमन्त्री त्यही सोधिरहेका छन् – गोली कसले चलायो? उता गृहमन्त्रीका पनि हाकिम प्रधानमन्त्री पनि त्यही सोधिरहेका छन्– गोली कसले चलायो? जसले जवाफ दिनुपर्ने हो उनीहरू नै सवाल गरिरहेका छन्– गोली कसले चलायो?

वास्तवमा गोलीसँग प्रधानमन्त्रीको अत्यन्त घनिष्ठ सम्बन्ध छ। गोली पड्कारै उहाँ राजनीतिमा आउनुभएको हो। कतै त्यही भएर पो प्रधानमन्त्रीले नचल भने पनि अतिरिक्त क्रियाशीलता देखाउन गोली पटापट चलिरहेको हो कि?    

प्रधानमन्त्रीले त प्रस्टै भन्नुभएको रहेछ, गोली चलाउँदै नचलाऊ। तर उहाँले गोली चलाउँदै नचलाऊ भन्दाभन्दै गोली चलिहाल्यो। त्यसैले पनि उहाँले सोध्नुभएको होला– गोली कसले चलायो? चारैतिर एउटै प्रश्न भएकाले यो गोली काण्ड आफैँमा एउटा रहस्य हुन गएको छ।

अब मलाई शंका लाग्न थालेको छ, कतै यो गोली पनि नारायणहिटीमा भएको दरवार हत्याकाण्डमा जस्तै आफ् से आफ स्वचालित ढंगले नै चलेको त होइन? भटटटटट....!  यसबारे पूर्व सभामुख तारानाथ रानाभाटसँग एकपटक सल्लाह गर्दा कसो होला? यस्तोखाले गोली काण्डबारे उहाँलाई बढी थाहा होला। किनभने दरवार हत्याकाण्डको छानबिन उहाँले नै गर्नुभएको थियो। त्यतिबेला दरवारमा स्वचालित बन्दुक आफ से आफ भटटटटट चलेको गुह्य रहस्य उहाँले नै पत्ता लगाउनुभएको थियो। अब दरवारमा आफ से आफैँ भटटटटट गोली चल्न सक्छ भने सप्तरीमा किन सक्दैन? गृहमन्त्रीज्यूले रानाभाटज्यूसँग सम्पर्क गरेर सोध्नुभयो भने यसको रहस्य थाहा हुन सक्छ।

तथापि यो गोली चल्नुले एउटा खुशीको कुरा पनि आएको छ। त्यसो त गोली चल्नु कदापि खुशीको कुरा होइन। तर जहाँ एउटा सशस्त्र क्रान्तिबाट आएको प्रधानमन्त्रीले शासन गरिरहेको छ त्यहाँ गोली चल्नु पनि खुशीकै कुरा हुन सक्छ। अतः यति बेला पनि एउटा खुशीको कुरा आएको छ। त्यो के भने, यो गोली चल्नुबाट कम से कम एउटा कुराचाहिँ प्रष्ट भयो कि यो देशमा केही कुरा त यस्तो पनि रहेछ जो प्रधानमन्त्रीले चलाउन नखोज्दा नखोज्दै पनि चल्दोरहेछ। गोली प्रधानमन्त्रीले पटक्कै चलाउन चाहनुभएको थिएन, तर चलिदियो। यही खुशीको कुरा हो। प्रधानमन्त्रीले चलाउन नचाहे पनि चल्ने केही कुरा देशमा रहेछ, यो रहनु नै हाम्रा लागि खुशीको कुरा हो। नभए त देशमा धेरै कुरा यस्ता मात्रै छन् जो प्रधानमन्त्रीले जति चलाउन चाहे पनि चलिरहेका छैनन्। प्रधानमन्त्रीले कति चलाउन खोज्छ तर चल्दैन। जति गरे नि चल्दैन। जस्तो उदाहरणको तवरमा लिउँ, नेपालको कर्मचारीतन्त्र। कुम्भकर्ण जस्तो सुतिरहेको यो कर्मचारीतन्त्रलाई चलाउन प्रधानमन्त्रीले कति प्रयास गर्नुभयो तर पटक्कै चलिरहेको छैन। सचिवहरूलाई डाकेर उहाँले धेरै पटक निर्देशन पनि दिइसक्नुभएको छ– प्रशासन चलाउनुपर्‍यो सचिवज्यूहरू ! तर अहँ, पटक्कै चलेको होइन।

अरुको के कुरा, उहाँको आफ्नै सरकार पनि उहाँले भने जसरी चलिरहेको छैन। सरकार चलाउने भरमग्दुर प्रयास त उहाँले गरि नै रहनुभएको छ। तर प्रयास गरे पनि चलि भने रहेको छैन। उहाँले मन्त्रिपरिषद्मा पनि भन्नुहुँदो हो, सरकार राम्ररी चल्नुपर्‍यो मन्त्रीज्यूहरू! तर भनेर के गर्नु, चलिरहेको छैन।

सरकार राम्ररी नचल्नुको कारण के हो भने उहाँका आफ्नै पार्टीका मन्त्रीहरू समेत उहाँले भने जस्तो चलिरहेका छैनन्। सबै मन्त्रीहरूको आआफ्नै ताल छ। प्रधानमन्त्रीले जसरी चल्नु भन्नुभएको हो त्यसरी कोही पनि चलिरहेका छैनन्।

मन्त्रीको के कुरा, बाहिर सुन्न त के पाइन्छ भने घरमा उहाँका आफ्नै परिवार पनि उहाँले भने जस्तो चलिरहेका छैनन् अरे! त्यसो त यो उहाँको पारिवारिक मामिला हो। तैपनि सुन्नमा आएको कुरालाई किन छिपाउनु? उहाँका एकमात्र सुपुत्रकै कुरा गर्नोस्। उनी पनि बाउले भनेअनुसार चलिरहेका छैनन्। प्रधानमन्त्रीलाई यसै कुरामा टेन्सन छ।

अतः समग्रमा के भन्न सकिन्छ भने उहाँले भनेअनुसार पूरा देशै पनि चलिरहेको छैन। (उहाँको घर त उहाँले भनेअनुसार चलिरहेको छैन भने देश के चल्नु?) उहाँले देशमा लोकतन्त्र ल्याउनुभयो तर ल्याएर के गर्नु? त्यो चलिरहेको छैन। गणतन्त्र ल्याउनुभयो, गणतन्त्र पनि चलिरहेको छैन। संविधान ल्याउनुभयो, संविधान पनि चलिरहेको छैन। अस्ति भर्खर उहाँले चुनाव घोषणा गर्नुभयो। त्यही पनि अब चल्ने हो कि होइन ठेगान छैन। स्थिति यस्तो छ।

अब यस्तो अवस्थामा प्रधानमन्त्रीले नभने पनि गोली चल्नु के सानो कुरा हो र? यसबाट एउटा कुरामा राम्रै सन्तोष लिन सकिन्छ कि देशमा एउटा कुरा त यस्तो छ जो प्रधानमन्त्रीले नभने पनि राम्ररी चलिरहेको छ। प्रधानमन्त्रीका लागि यो धेरै गर्वको कुरा हो।

देशमा सरकार, लोकतन्त्र, गणतन्त्र आदि आदिचाहिँ प्रधानमन्त्रीले चलाउ–चलाउ भने पनि नचल्ने। अनि गोलीचाहिँ नचलाऊ भने पनि चल्ने। यो किन भयो होला? यो अर्को अचम्मको विषय छ। वास्तवमा गोलीसँग प्रधानमन्त्रीको अत्यन्त घनिष्ठ सम्बन्ध छ। गोली पड्कारै उहाँ राजनीतिमा आउनुभएको हो। कतै त्यही भएर पो प्रधानमन्त्रीले नचल भने पनि अतिरिक्त क्रियाशीलता देखाउन गोली पटापट चलिरहेको हो कि?    

प्रकाशित: २७ फाल्गुन २०७३ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App