७ वैशाख २०८१ शुक्रबार
राजनीति

थापा गए गच्छदार किन गएनन् ?

काठमाडौं- सरकारमा आउन प्रधानमन्त्री पुष्ककमल दाहालको अनुरोधलाई अन्तिम समयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले गच्छदारलाई बिहीबारै राप्रपा नेपालका अध्यक्ष कमल थापासँगसँगै उपप्रधानमन्त्रीको शपथ खुवाउन चाहेका थिए। प्रधानमन्त्रीले बुधबार दिउँसो गच्छदारलाई प्रधानमन्त्री निवास, बालुवाटार बोलाएर छलफल पनि गरेका थिए।

फोरम लोकतान्त्रिकको पार्टी कार्यालय, तीनकुनेमा बुधबार दिउँसो पार्टी पदाधिकारी बैठक चलिरहेका बेला गच्छदार अकस्मात प्रधानमन्त्रीसँग कुरा गर्न बैठकस्थलबाट बाहिरिएका थिए। प्रधानमन्त्रीले बिहीबार पनि गच्छदारसँग टेलिफोनमा कुरा गरेका थिए।

स्रोतका अनुसार मन्त्रालय र मर्यादाक्रमको कुरा नमिलेरै उनले बिहीबार उपप्रधानमन्त्रीको शपथ लिएनन्। प्रधानमन्त्रीपछि पहिलो उपप्रधानमन्त्रीको वरीयताक्रममा आफू हुनुपर्ने अडान उनले राखेको स्रोत बताउँछ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिभन्दा आफू सिनियर भएकाले उपप्रधानमन्त्रीको पहिलो स्थानमा आफू हुनुपर्ने गच्छदारको अडान छ। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गच्छदारले राखेको सर्त मान्न तयार नभएको लोकतान्त्रिक फोरम स्रोतको भनाइ छ।

गच्छदारले सञ्चार या अरु कुनै महŒवपूर्ण मन्त्रालय मागेका थिए। सञ्चार दिन प्रधानमन्त्री सकारात्मक रहे पनि देउवा कांग्रेसको भागमा परेको मन्त्रालय दिन तयार छैनन्। फोरम लोकतान्त्रिकले एक उपप्रधानमन्त्री सहित कम्तीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले प्रधानमन्त्रीले फोरम नेपाललाई सरकारमा आउन प्रस्ताव राखेको स्वीकार गर्दै यसबारे पार्टीभित्र आन्तरिक छलफल नभएको बताए। 'पार्टीभित्रै छलफल भएको छैन। कसरी सरकारमा जाने?', उनले भने।

चौधरीले वर्तमान सरकारमा अब आफ्नो पार्टी नजाने पनि बताए। 'अब हामी यो सरकारमा जान्नौँ ', उनले थपे। वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले पनि वर्तमान सरकारमा पार्टी सहभागी नहुने बताए। 'हामी यो सरकारमै जान्नौँ। कसरी मयार्दाक्रमको कुरा आयो र?', उनले भने।

 

प्रकाशित: २७ फाल्गुन २०७३ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App