coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इँटा र रडको मूल्य घट्यो, सिमेन्टको स्थिर

काठमाडौं- पूर्वाधार निर्माणले गति नलिँदा मुख्य निर्माण सामग्रीको मूल्य घटेको छ। बजारमा माग कम भएकाले इँटा, रडको मूल्य घटेको छ भने सिमेन्टको मूल्य स्थिर रहेको छ। पोहोर सालको मूल्यको तुलनामा यसपालि खुद्रा मूल्य कम भएको खुद्रा व्यवसायीको भनाइ छ। 'मुख्य निर्माण सामग्रीको मूल्य पोहोर सालको यसै सिजनमा भन्दा यसपालि कम भएको छ,' काठमाडौं, कलंकीमा निर्माण सामग्रीको व्यवसाय गर्दै आएका टंकेश्वरी ट्रेडका सञ्चालक दीपक पाण्डेले भने, 'माग कम हुँदा मूल्यमा पनि कमी आएको हो।'

निर्माण सामग्रीमा सबैभन्दा धेरै प्रयोग हुने इँटाको मूल्य पोहोर यसै सिजनमा भन्दा यसपालि झन्डै १५ प्रतिशतले घटेको इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए। 'पोहोर सालको भन्दा यसपालि मूल्य घटेको छ,' चित्रकारले भने, 'बजारको माग कम भएकाले मूल्य घटेको हो।'

चित्रकारका अनुसार इँटाको गुणस्तर र आकारमा भर पर्ने भए पनि सामान्यतया एक नम्बरको इँटा प्रतिहजारको १५ हजार रुपैयाँँभन्दा कममा झरिसकेको छ। गत वर्षको यसै सिजनमा भने १७ हजार रुपैयाँँ पुगिसकेको थियो।

तर, खुद्र व्यवसायीले भने एक नम्बर इँटाको मूल्य प्रतिहजार १३ हजार रुपैयाँँमा झरिसकेको बताउँछन्। 'पोहोर साल यसै सिजनमा एक नम्बरको इँटा प्रतिगोटा १७ रुपैयाँ थियो,' पाण्डेले भने, 'यसपालि १३ रुपैयाँँमा बिक्री भइरहेको छ।'

त्यसैगरी दोस्रो नम्बरको इँटा दुई रुपैयाँँ घटेको छ। उनका अनुसार यो इँटा प्रतिगोटा ११ रुपैयाँँमा कारोबार भइरहेको छ। इँटा बनाउन यसपालिको सिजनमा धेरै पानी नपरेकाले इँटा उत्पादन पनि धेरै भएको थियो।

चित्रकारका अनुसार यसपालि झन्डै ५० प्रतिशत इँटा स्टक रहेका छन्। 'हामीसँग प्रायः १५ देखि २० प्रतिशत इटा स्टकमा राख्ने गर्छौं,' चित्रकारले भने, 'यसपालि बिक्री नभएर ५० प्रतिशत स्टकमा रहेका छन्।'

अहिले देशभरमा जम्मा आठ सयको हाराहारीमा इँटा भट्टा रहेका छन्। उपत्यकामा मात्र एक सय १२ वटा दर्ता भएका छन्। देशभर रहेका यी कारखानाले एक सिजनमा प्रत्येकले १० लाख देखि ८० लाखसम्म इँटा उत्पादन गर्छन्।

त्यसैगरी रडको मूल्यमा पनि कमी आएको छ। गत वर्षको यसै सिजनको तुलनामा केही मूल्य घटेको हो। पाण्डेका अनुसार गत वर्ष यसै सिजनमा रडको मूल्य प्रतिकिलो ८४ रुपैयाँँ थियो। यस सिजनमा भने प्रतिकिलो ७६ रुपैयाँमा झरेको छ।

केही महिनाअघि रडको मूल्यमा अझ धेरै गिरावट आएको व्यवसायी बताउँछन्। पाण्डेका अनुसार तीन–चार महिनाअघि प्रतिकिलो ६८ रुपैयाँँमा झरेको रड अहिले ७६ रुपैयाँ पुगेको छ।

रडको मूल्य खासगरी अन्तर्राष्ट्रिय बजारमा पनि निर्धारण हुन्छ। यसको कच्चा पदार्थ विदेशबाट ल्याउने गरिएको छ। त्यसैले भारत या चीनमा रड र यसको कच्चा पर्दाथमा हुने घटबडले नेपालको रडको मूल्यमा पनि असर गर्ने गरेको छ।

यो बेला सिमेन्टको माग उच्च हुने र मूल्य पनि वृद्धि हुने समय हो तर यसपालि भने पोहोर साल जस्तो सिमेन्टको मूल्यमा वृद्धि भएको छैन। 'यो सिजनमा सिमेन्टको उच्च माग हुने बेला हो,' नेपाल सिमेन्ट व्यवसायी संघका अध्यक्ष ध्रुव थापाले भने, 'मूल्य स्थिर अवस्थामा रहेको छ।'

सिमेन्ट व्यवसायीले माग बढ्न नसकेको बताउँछन्। पूर्वाधार निर्माण नहुने, सरकारले विकास बजेट उच्च रुपमा खर्च गर्न नसक्दा निर्माण सामग्री नै बिक्री नभएको व्यवसायीको भनाइ छ।

त्यसैगरी, बैंकिङ तरलता अभावले गर्दा उपभोक्ताले लगानी गर्न सकेका छैनन्। पछिल्लो दुई महिनामा बैंकहरू निर्माणका लागि ऋण दिन छाडेपछि यसको असर निर्माण सामग्रीमा पनि परेको हो।

निर्माण सामग्रीको मूल्य खासगरी बजारको मागमा भर पर्ने खुद्रा व्यवसायी बताउँछन्। बजार माग उच्च हुँदा जुनै पनि निर्माण सामग्रीको मूल्य बढ्छ भने माग कम हुँदा कम हुन्छ। माग बढ्न थाल्यो भने कम्पनीले आफै मूल्यमा वृद्धि गर्ने खुद्रा व्यवसायी बताउँछन्।

प्रकाशित: २६ फाल्गुन २०७३ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App